देश कोरोनाको सास्तीमा, वडाध्यक्ष सरकारी जग्गा मास्ने मस्तीमा


काठमाडौं । जुनबेला देश कोभिड-१९ (कोरोना)को महामारीमा थियो । जनताहरु कोरोनाको त्रासले आक्रान्त थिए । त्यहिँ मौका छोपेर सरकारी/सार्वजनिक जग्गा व्यापक हिनामिना भएको पाइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर २९ अनामनगर क्षेत्रमा सबैभन्दा बढी सरकारी जग्गा हिनामिना गर्ने काम भएको छ । मन्त्रालय स्रोतका अनुसार अनामनगर र बानेश्वर क्षेत्रका सरकारी जग्गा केदारेश्वर महादेव गुठीमा लगेर मोही कायम गराउने खेल भएको पाइएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले ७ रोपनी बढी सरकारी जग्गा गुठीमा लगेर मोही कायम गराउन भूमिका खेलेको मन्त्रालय स्रोतको दाबी छ । त्यो पत्र अहिले मालपोतबाटै गायब पारिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनामनगर क्षेत्रको विभिन्न व्यक्तिको नाममा दुषित दर्ता भएको झन्डै साढे ७ रोपनी जग्गा पुनः सरकारकै नाममा ल्याउने कदम चालिरहेको थियो । त्यहिबेला बाँकी रहेको सरकारी जग्गा गुठीमा लगेर मोही कायम गर्ने धन्दामा वडाध्यक्ष ढकाल लागेको रहस्य खुलेको छ ।

साविकको बानेश्वर महादेवस्थान-५ (हाल कामनपा वडा नम्बर १०/३२) को कित्ता नम्बर १४३ को २३ रोपनी धोबीखोला बगेको जग्गाध्ये झन्डै आधा जग्गा व्यक्तिले हडपेका थिए । पुगनपुग ११ रोपनी जग्गा नेपाल सरकारकै नाममा रहेको थियो  । व्यक्तिको नाममा पुगेका जग्गा अख्तियार र मालपोतले फिर्ता ल्याउन खोजिरहेका बेला वडाध्यक्ष ढकाल भने भटाभट गुठीमा लगेर मोही कायम गराउने कार्यमा संलग्न भएको दाबी गरिएको छ ।

सरकारी जग्गा गुठीमा लगि मोही खडा गर्न सिफारिस गर्ने कार्यमा संलग्न वडाध्यक्षसहितका व्यक्तिहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुद्दा दायर गर्नु पर्ने स्थानीयको माग छ । अनामनगरको साविक धोबीखोला बगेको जग्गा वडाध्यक्षले गुठीमा लान सिफारिस गरेको कुरामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्यतथ्य छानबिन गर्नुपर्ने आवाज उठेको हो ।

मन्त्रालय उच्च स्रोतबाट सरकारी जग्गा गुठीमा लगेर मोही कायम गराउने खेलमा वडाध्यक्ष ढकाल संलग्न रहेको कागजात स्वास्थ्य लाइभले प्राप्त गरेको छ । उक्त कागजात स्वास्थ्य लाइभसँग सुरक्षित रहेको छ । अख्तियारले तत्काल मुद्दा नचलाए सरकारी जग्गा हिनामिना हुने निश्चित छ ।  प्राप्त कागजातमा वडाध्यक्षले आफ्नो काम फत्ते गरेको देखिन्छ । यसैका आधारमा भ्रष्टाचार मुद्दा चल्नुपर्छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #कामनपा वडाध्यक्ष कुश ढकाल, #सरकारी जग्गा अनामनगर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com