स्वास्थ्यमा एमालेलाई खतरा ! यस्ताे छ फेरबदलकाे तयारी


काठमाडौं । मोहनबहादुर बस्नेतले गत बैशाख २१ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीका रुपमा पदभार ग्रहण गरे । त्यसको भोलिपल्ट कर्मचारीलाई निर्देशन दिने क्रममा आफू अनुकूल केही पत्रकार प्रवेश गराएर कर्मचारीलाई निर्देशन दिए । त्यस क्रममा आफूले मनपरी सरुवा नगर्ने बताए । अझ उनकै शब्दमा भन्नुपर्दा कार्यविधि अनुसार मात्रै सरुवा गर्ने वातावरण मिलाउने बताए । उनले कर्मचारीलाई निर्देशन दिने छलफलमा पत्रकार प्रवेश गराएपछि कर्मचारीको मनोबल केही गिरेको थियो । त्यही दिनदेखि मन्त्रीले स्वास्थ्यमा सुधारभन्दा पनि प्रचार चाहेको अड्कलबाजी हुन थालेको थियो । हुनपनि कर्मचारीले लगाएको अनुमान खेर गएन ।

स्वास्थ्य सुधारका कुनै योजना नबनाई उनी मिडिया अगाडि पछाडि लगाएर मध्य दिउँसोको टन्टलापुर घाममा सरकारी कार्यालय र वीर अस्पतालको अनुगमनमा निस्किए । यस्ता अनुगमनले थप काम हुँदैन भन्नेहरूको बहुमत जुट्दै जान थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेतको बोलीले एक महिना टिक्न नपाउँदै स्वास्थ्य मन्त्रालयमा एमालेलाई खतरा भएको छ । एमालेसँग नजिक भएका कर्मचारीहरू फिल्टर हुन थालेका छन् । तीन महिना अगाडि मात्रै निर्वाचन आयोगबाट सरुवा भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएका उपसचिव कमलप्रसाद भट्टराई पहिलो निसानामा परेका छन् ।

नियम कानुनको कुरा सिकाउने मन्त्री बस्नेतले भट्टराई सरुवा गर्दा नियम कानुन पोलेर खाएछन् । नियम अनुसार सरुवा हुन कम्तिमा पनि दुई वर्ष काम गर्नुपर्छ । बिचरा भट्टराई एमालेसँग आस्था भएकै कारण तीन महिनामै बलिको बोको हुन पुगे । भट्टराई कर्मचारी प्रशासन शाखाका उपसचिव हुन् । त्यस्तै आन्तरिक प्रशासन शाखाका उपसचिव दीपक थापा पनि धरापमा परेका छन् ।

स्वास्थ्यमन्त्रीको सचिवालय स्रोतका अनुसार थापाको पनि सरुवा गर्ने तयारी भएको छ । उनलाई पनि सरुवा गर्न आफूलाई कांग्रेस भन्नेहरू मरिमेटेर लागेका छन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार भट्टराईको सरुवा स्वास्थ्यभन्दा बाहिर भएपनि थापाको अहिलेसम्म टुंगो लागेको छैन् । युवा तन्नेरीहरूबाट भरपुर काम लिनुपर्नेमा मन्त्रीले नियमविपरीत सरुवा गर्न थालेपछि स्वास्थ्यमा फेरी चलखेल बढ्ने मन्त्रालय भित्रका कर्मचारीहरू बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले भने, वर्षौदेखि एकै शाखामा बसेर कतिपय कर्मचारीले “तर” मारिरहेका छन् । तर, हालै जिम्मेवारी पाएकाहरू लखेटिनु आफैमा राम्रो सन्देश हैन । पछिल्लो समयमा सत्ता परिवर्तन हुनासाथ कर्मचारीले आफै छाड्नु पर्ने गलत नजिर बस्न थालेका छ । नेपाली सेनाको एउटा गण सरुवा हुँदा सबै रित्तै बनाएर जाने चलन छ । अहिले राजनीतिले स्वास्थ्य क्षेत्रमा पनि त्यस्तै बनाएको छ ।

स्वास्थ्यमन्त्री फरक पार्टीको आउनासाथ फरक आस्था राख्ने कर्मचारीहरूको बटालियनले बाटो छाड्नु पर्ने देखिएको छ । समाचार पढ्दा काङ्ग्रेसीहरूलाई गाली गर्न मन लाग्न सक्छ । तर, यो गलत नजिर तपाइमा पनि अवश्य लागू हुन्छ । त्यस बेला तपाईंहरू पनि हाम्रो शरणमा आउँनु हुनेछ । अहिले जसरी बस्नेत र उनको सचिवालयबाट एमालेवाला कर्मचारीलाई डाम्ने काम हुँदैछ त्यो भोलि काङ्ग्रेसीहरूमा पनि लागू हुने छ । अहिले जे हुँदैछ यसलाई रोकेर सहकार्यमा काम गर्नु उचित हुने देखिन्छ ।

स्वास्थ्यमा एमालेलाई खतरा हुँदा मन्त्रालय सुधारको खम्बा समेत हल्लिन सक्ने अनुमान कर्मचारीहरूले लगाउँन थालेका छन् । लामो समय रेस नमिलेको स्वास्थ्यमा पछिल्लो केही वर्षदेखि लयमा चलिरहेको छ ।

मुख्यगरी नीति योजना प्रमुख डा. कृष्ण पौडेल, गुणस्तर महाशाखा प्रमुख डा. मदनकुमार उपाध्याय, समन्वय महाशाखा प्रमुख यशोदा अर्याल, सह-प्रवक्ता डा. समिरकुमार अधिकारी, सहसचिव तुलसीनाथ गौतम, रमेशकुमार केसी, उपसचिव कपिल तिमिल्सिना, रोशनीदेवी कार्की स्वास्थ्यलाई सही बाटोमा हिँडाउने खम्बा हुन् । यी कर्मचारीका कारण बिग्रिएको स्वास्थ्य केही लयमा आएको छ ।

यता मन्त्रालयकी प्रमुख विशेषज्ञ डा. संगीता कौशल मिश्र स्वास्थ्य क्षेत्रमा भीष्म पिताका रुपमा उदाएकी छन् । ग्लोवल फन्डको कार्यक्रममा नेपाल सरकार आफै पीआर हुनुपर्छ भनेर लाग्ने डा मिश्र एक्लो बृहस्पति हुन् । विगत तीन महिनादेखि मिश्र गुफाभित्र बसेर निरन्तर सरकार मातहत ल्याउन लागेकी छन् ।

स्वास्थ्यमा उनी एक्लै खम्बा भएर उभिएकी छन् । उनका कारण नेपाल सरकार मार्फत ७ अर्ब बढी रकम भित्रने देखिएको छ । यस्ता कर्मचारीलाई काखा नच्यापी मन्त्री कुनै पनि हालतमा सफल हुन सक्दैनन् ।

यस्तो छ सरुवाको आन्तरिक छलफल

स्वास्थ्य लाइभलाई प्राप्त सूचना अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले गोप्य रुपमा उच्च पदस्थ कर्मचारीहरूको सरुवा सूची बनाइरहेका छन् ।

हुन त सूची बनाउँनु कुनै ठुलो कुरा भएन । सूची बनाउँदैमा ती कर्मचारी सरुवा हुन्छन् भन्ने छैन । सरुवा गरेर पत्र बुझेका कर्मचारी हरेकपटक फिर्ता भएको विषयमा हामीले समाचार लेखेकै छौं । त्यसैले हामी यसलाई ठुलो विषय ठान्दैनौ । तर पनि अनौपचारिक सूचीमा को को परेका छन् भन्ने विषय सबैलाई चासो हुने भएकाले लेखेका हौं ।स्रोतका अनुसार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विकास देवकोटालाई पठाइने तयारी भएको छ ।

औषधि व्यवस्था विभागको महानिर्देशकमा अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई संगठन संरचना मिलाएर पठाउँने कुरा छ । स्रोत भन्छ, ‘यसमा सहमति गरेर मिश्र र देवकोटामा फेरबदल पनि हुन सक्छ ।’,

चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा डा. टंक बाराकोटी, गुणस्तर महाशाखा प्रमुखमा डा. विवेक लाल कर्ण, नीति योजना महाशाखा प्रमुख डा. रुद्र मरासिनी, परिवार कल्याण महाशाखा प्रमुख डा. डम्बर खड्का, व्यवस्थापन महाशाखा अन्तर्गत खरिद शाखा प्रमुख उपेन्द्र ढुंगाना, कर्मचारी प्रशासन शाखा सह सचिवमा कुमार दाहाल राख्नेगरी कागजमा खेस्रा गर्ने काम भएको छ । तर, यी सबै कर्मचारीको सरुवा हुन्छ भन्नेमा हामी पनि ढुक्क छैनौ । चर्चामा आएका कर्मचारीको सरुवा हुँदा मन्त्रालयको खम्बा नै ढल्ने निश्चित छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ