कोरोनाको मौकामा अर्बौको सरकारी जग्गा हिनामिनामा संलग्न वडाध्यक्ष ढकालमाथि छानबिन गर


काठमाडौं । कोरोनाको मौका छोप्दै अनामनगरको अर्बौको सरकारी जग्गा हिनामिना गर्न काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकाल संलग्न रहेको तथ्य सार्वजनिक भइसकेको छ । सरकारी जग्गा संरक्षण गर्नु पर्ने दायित्व बोकेका वडाध्यक्ष नै सरकारी जग्गा हिनामिनामा संलग्न हुनु गम्भीर विषय हो ।

२०२२ साल र २०४३ सालमा नापी हुँदा धोबीखोला जनिएको सरकारी जग्गा केदारेश्व महादेव गुठी चौतारिया फत्तेजंग पराक्रम शाह मौजा अन्तर्गत पुर्‍याउन वडाध्यक्ष ढकालले विशेष भूमिका खेलेको देखिन्छ । त्यति मात्र होइन उक्त धोबीखोलाको सरकारी जग्गा गुठीमा लगेर नक्कली मोही खडा गर्ने कार्यमा उनको प्रत्यक्ष संलग्नता रहेको पाइन्छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशन र स्थानीय सरकार सञ्चालन ऐनले तोकेको जिम्मेवारीविपरीत वडाध्यक्ष ढकालले सरकारी जग्गा गुठीमा लान सिफारिस दिएका छन् । सरकारी जग्गा खानेविरुद्ध मुद्दा लडेर फिर्ता ल्याउन भूमिका खेल्नु पर्ने वडाध्यक्ष नै सरकारी जग्गा हिनामिनामा संलग्न हुनु भ्रष्टाचारजन्य कसुर हो ।

अनामनगरका स्थानीय प्रमोद बाँस्कोटा ४/५ अर्ब अगाड  नै अनामनगरका ती सरकारी जग्गामध्ये केही व्यक्तिले खाएको विषयमा वडा कार्यालयलाई जानकारी दिएको बताउँछन् । तर, वडाध्यक्ष ढकालले सरकारी जग्गा खाने दस नारायण महर्जनलाई घर बनाउन सिफारिस दिएका थिए । बाँकी रहेका सरकारी जग्गा गुठीमा लान सिफारिस दिएको रहस्य खुलेको हो । उनले यसलाई ‘दुहुनो गाई’ बनाएको पाइन्छ ।

विशेष अदालका पूर्वअध्यक्ष गौरीबहादुर कार्की सरकारी जग्गा गुठीमा लगेर मोही कायम गराउन सिफारिस दिने वडाध्यक्ष ढकालमाथि सीधै भ्रष्टाचार मुद्दा लाग्ने बताउँछन् । उनले यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल कदम चाल्नु पर्ने सुझाव दिएका छन् । वडाध्यक्ष ढकाल २ अर्ब बढीको बिगो रहेको जग्गा गुठीमा लगेर हिनामिना गर्न संलग्न भएको देखिन्छ । सिफारिस दिएर उनले आफ्नो काम सम्पन्न गरिसकेका छन् ।

वडाध्यक्ष ढकालले आफ्नो तर्फबाट सरकारी जग्गा हिनामिना गर्ने मनसाय र कार्य दुबै कुरा गरिसकेकाले उनको हकमा भ्रष्टाचार मुद्दा दायर गर्न अख्तियारले कुनै आइतबार कुर्नु पर्ने देखिँदैन ।

रक्षक नै भक्षक भएकाले उनीमाथि हदैसम्मको कारबाही हुनुपर्छ । काठमाडौं महानगरपालिकाभित्रको जग्गा र वडाध्यक्ष भएकाले अख्तियारले यसलाई नमूना केस मानेर एक्सन लिनुपर्छ । यो अरु जनप्रतिनिधिहरूलाई पनि ठूलो पाठ हुनेछ । अख्तियारले यो विषयमा तुरन्तै छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउनु पर्छ । २९ नम्बरका थप सरकारी जग्गा हिनामिना हुन सक्ने सम्भावना भएकाले वडाध्यक्ष ढकाललाई अख्तियारले फास्ट ट्रयाकमा अनुसन्धान गरेर भ्रष्टाचार मुद्दा दायर गरी तत्काल निलम्बन गर्नुको विकल्प छैन ।

सरकारी जग्गा संरक्षणमा लागिरहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको अभियानलाई समेत धक्का लाग्ने गरी वडाध्यक्ष ढकालको कर्तृत सार्वजनिक भएको छ । यो विषयलाई मेयर बालेन र उनको टिमले पनि गम्भीरतापूर्वक लिनुपर्छ ।

कांग्रेस महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाको निर्वाचन क्षेत्रसँगै जोडिएको वडामा अर्बौको सरकारी जग्गा हिनामिनामा वडाध्यक्ष संलग्न भएका छन् । उनकै पार्टी नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्ष कुश ढकाल यति ठूलो बदमासीमा संलग्न हुँदा पनि उनी मौन छन् । यो विषयमा नेपाली कांग्रेस काठमाडौं र महानगर समिति पनि चुपचाप छ । यो सरकारी जग्गा हिनामिना काण्ड गगनका लागि पनि परीक्षाको विषय हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाइरहेका महामन्त्री थापा ढकालको हकमा के गर्छन् हेर्न बाँकी छ । की गगनका लागि यो विषय ‘बत्ती मुनिको अध्याँरो’ हुने हो त्यो सचेत नागरिकले मूल्याङ्कन गर्नेछन् । किनकि वडाध्यक्ष ढकालले जुन कार्यालय भवनमा बसेर सरकारी जग्गा हिनामिना गर्न सिफारिस दिए त्यो वडा भवन गगनको गृह वडा ३० नम्बरमा पर्छ । यसले पनि यो काण्डमा उनले विशेष चासो दिनैपर्छ । आवश्यक परे कारबाही गर्न निर्देशन दिनुपर्छ ।

सचेत र बौद्धिक मतदान भएको भनिएको काठमाडौं महानगरपालिका वडा नम्बर २९ कै यस्तो हालत छ भने देशका अवस्था के होला ! सचेत जनता र मतदातामाथि पनि अपमान र मानमर्दन हुने गरी वडाध्यक्ष ढकाल उक्त काममा संलग्न भएको पाइन्छ ।

अनामनगरस्थित धोबीखोलाको जग्गा गुठीमा लगेर मोही कायम गराउने कुरा ललिता निवास बालुवाटारको सरकारी जग्गा हिनामिनालाई समेत बिर्साउने केस भएकाले अख्तियारले किन्तु, परन्तु नभनी तत्काल भ्रष्टाचार मुद्दा चलाउनु पर्ने देखिन्छ । यसमा अख्तियारले तीव्र गतिमा कारबाही अगाडि बढाओस् । स्थानीय सचेत जनताले पनि यो विषयलाई बहसमा ल्याउन जरुरी छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #काठमाडौं महानगरपालिका, #कामनपा वडाध्यक्ष कुश ढकाल, #सरकारी जग्गा हिनामिना

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com