दुई पूर्वस्वास्थ्य सचिव घर जाँदै, डा. अर्याल बने मुख्यसचिव


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको बैठकले डा. बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

सरकारले ३ दिनपछि सचिवको ५ वर्षे सेवा अवधिका कारण घर जान लागेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव डा. अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ । मुख्यसचिव शंकरदास बैरागी खनाललाई राजीनामा दिन लगाएर उनलाई मुख्यसचिव बनाइएको हो ।

असोज १५ गते ३ वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका अर्याल अवकाशको ३ दिन अगाडि मुख्यसचिवमा बढुवा हुन सफल भएका छन् । कर्मचारीको उमेर हद ५८ वर्ष कायम रहे उनी झन्डै  साढे २ वर्ष मुख्यसचिव हुने छन् । नागरिकता अनुसार अर्याल २०२४ मंसिर ६ गते जन्मिएका हुन् ।

मुख्यसचिव बनेका डा. अर्याल २०७५ असार ३ गते नेपाल सरकारको सचिवमा बढुवा भएका हुन् । उनी राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका काम गरिसकेका छन् ।

मुख्यसचिव शंकरदास बैरागीलाई मन्त्रीसरहको राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बनाइएको छ । उनले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार सपथ समेत खाइसकेका छन् ।

यसै आर्थिक वर्षभित्र पूर्वस्वास्थ्य सचिवद्वय यादवप्रसाद कोइराला र रामप्रसाद थपलिया घर जान लागेका छन् । कोइराला ४ दिनपछि असार ४ गते र थपलिया असार २४ गते घर जान लागेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कोइराला २०७५ असार ४ गते सचिवमा बढुवा भएका थिए । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको केन्द्रीय तथ्यांक कार्यालयका सचिव थपलिया २०७५ असार २४ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।

डा. अर्याल मुख्यसचिव बनेपछि कोइराला, थपलिया, सूर्यप्रसाद गौतम, देवकुमारी गुरागाईं, केवलप्रसाद भण्डारी, सुरेश अधिकारीलगायतका सचिवको मुख्यसचिव बन्ने सपना तुहिएको छ ।

बैरागीले पूरा समय मुख्यसचिव खाएको भए गौतम, गुरागाईं, भण्डारी, अधिकारी मुख्यसचिव बन्ने सम्भावना रहन्थ्यो । डा. अर्याल मुख्यसचिव भएसँगै उनीहरुका लागि मुख्यसचिव बन्ने सपना समाप्त भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. बैकुण्ठ अर्याल, #मुख्यसचिव, #मुख्यसचिव शंकरदास बैरागी खनाल, #यादवप्रसाद कोइराला, #रामप्रसाद थपलिया, #सूर्य प्रसाद गौतम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com