विशेष टोलीमार्फत कोरोनाकालमा धोबीखोला गुठीमा लान भूमिका खेल्ने ढकालमाथि अख्तियारको छानबिन


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष टोली गठन गरेर कोरोनाकालमा धोबीखोलाको सरकारी जग्गा गुठीमा लान भूमिका खेल्ने वडाध्यक्ष कुश ढकालमाथि छानबिन सुरु गरेको छ ।
स्वास्थ्य लाइभले धोबीखोला ‘मास्ने-बेच्ने’ कार्यमा वडाध्यक्ष ढकाल संलग्न भएको खुलासा गरेपछि अख्तियार तातेको हो । अख्तियारले ढकाललाई धोबीखोलाको जग्गामा नक्कली गुठीयार र मोही खडा गर्न सिफारिस दिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी थालेको छ । सरकारी जग्गा संरक्षण गर्नुपर्ने दायित्व बोकेका उनलाई अख्तियारको दुरूपयोग गरी सरकारी जग्गा गुठीमा लगि हिनामिना गरेको अभियोगमा भ्रष्टाचार मुद्दा लगाउने तयारी गरेकोअख्तियार स्रोतले जनाएको छ ।
वडाध्यक्ष ढकालले झन्डै दुई अर्ब पर्ने धोबीखोलाको १२ रोपनी सरकारी जग्गा केदारेश्वर महादेव गुठी चौतारिया फत्तेजंग पराक्रम शाह मौजा अन्तर्गत लगेर हिनामिना गर्न भूमिका खेलेका छन् ।
वडाध्यक्ष ढकालले दिएको सिफारिसमा उक्त जग्गाको स्रोत नै किर्ते गरेकालाई उनलाई सीआईबी मार्फत सरकारी लिखित किर्तेमा पनि मुद्दा चल्ने देखिन्छ । त्यस्तै जालसाजीलगायतका विषयहरू पनि आकर्षित हुन्छन् ।
अख्तियारको छानबिन समितिले वडाध्यक्ष ढकालसहित मुचुल्का खडा गरी बनाइएका नक्कली मोहीलाई समेत बयानका लागि बोलाउने सम्भावना छ ।
वडाध्यक्ष ढकालमाथि धोबीखोला करिडोर विस्तारको ठेक्कामा घोटाला गरेको र अनामनगरको सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी पुर्‍याएको विषयमा समेत अख्तियारमा उजुरी परेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #कामनपा वडाध्यक्ष कुश ढकाल, #धोबीखोला करिडोर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com