विवादित दीर्घायु गुरू अस्पतालमा वीरका पूर्वनिर्देशक डा. पण्डितदेखि डा. शर्मासम्म संलग्न


काठमाडौं । चाबहिलस्थित विवादित दीर्घायु गुरू अस्पताल प्रालीमा वीर अस्पतालका पूर्वनिर्देशक डा. स्वयं प्रकाश पण्डितदेखि वरिष्ठ न्यूरो सर्जन डा. गोपाल रमण शर्मासम्म संलग्न रहेको पाइएको छ । स्वास्थ्य लाइभको खोजीमा सरकारी जग्गा हडपेर सञ्चालित उक्त अस्पतालमा नाम चलेका डाक्टर नै संलग्न रहेको पाइएको हो ।

स्वास्थ्य लाइभको खोजीमा काठमाडौं महानगरपालिका वडा नम्बर ७ सिट नम्बर १०६७–१२ को कित्ता नम्बर ३४ मा उल्लेखित एक रोपनी ५ आना ३ पैसा, २ दाम सरकारी जग्गा दीघार्यु गुरु अस्पतालले हडपेको फेला परेको छ । उक्त विवादित अस्पतालको सञ्चालक अध्यक्षमा वीर अस्पताल पूर्वनिर्देशक डा. स्वयं प्रकाश पण्डित रहेको खुलेको छ । दीर्घायु गुरू अस्पतालका सञ्चालक सुरज बलाया श्रेष्ठका अनुसार उक्त अस्पतालका सञ्चालक अध्यक्ष डा. पण्डित हुन् । वीर अस्पतालको रेडियोलोजी विभागमा बसेर काम गरिसकेका डा. पण्डित सरकारी जग्गा हडप्ने विवादित दीर्घायु गुरू अस्पताल प्रालीका अध्यक्ष बनेर काम गरिरहेको भेटिएको छ । त्यस्तै वरिष्ठ न्यूरो सर्जन डाक्टर गोपाल रमण शर्मा पनि उक्त अस्पतालको सेयर सदस्य रहेको डा. श्रेष्ठले बताए । देशका प्रतिष्ठित चिकित्सक नै सरकारी जग्गा हडपेर रजाइँ गरिरहेको दीर्घायु गुरू अस्पतालमा संलग्न हुनु लाजमर्दो कुरा हो ।

 दीर्घायु गुरू अस्पतालका अर्का सञ्चालक सुवर्ण डंगोलका अनुसार डा. पण्डित, डा. शर्मासहित झन्डै १ दर्जन चिकित्सक उक्त अस्पतालका सञ्चालक सदस्य हुन् । ४८ जनाको दीर्घायु गुरू अस्पतालमा सेयर रहेको उनको भनाइ छ । वीपी संग्रहालयका पर्शुराम पोखरेलले ट्रष्ट जग्गामा अस्पताल बनाएर आफूहरूलाई फसाएको सञ्चालक डंगोलको दाबी छ ।

चाबहिलस्थित दीर्घायु गुरू अस्पतालले विगत १० वर्षदेखि सरकारी जग्गा हडपेर रजाइँ गरिरहेको पाइन्छ । उक्त विषयमा स्वास्थ्य लाइभले खुलासा गरेपछि थप रहस्य पत्ता लागेको हो । सुरुमा ट्रष्टमा रहेको जग्गा दीर्घायु गुरू अस्पतालले २० वर्षका लागि लिजमा लिने सम्झौता गरेपछि नेपाल सरकारको नाममा गएको खुलेको छ । दीर्घायु गुरू अस्पताल २०६८ सालमा ट्रष्टको जग्गा लिजमा लिएपछि २०७० जेठ १३ गते नेपाल सरकारको नाममा गएको हो ।

दीर्घायु गुरू अस्पतालका सञ्चालक डा. श्रेष्ठले अख्तियारले पत्र काटेपछि मात्र सरकारी जग्गा रहेको थाहा पाएको जिकिर गरे । अहिले आफूहरू यो जग्गामा फसेकाले सरकारले थप १० वर्षका लागि लिजमा दिनुपर्ने उनको तर्क छ ।

२०७१ सालदेखि नै भाडा नतिरेको स्वीकार गर्दै सञ्चालक श्रेष्ठले कहाँ भाडा तिर्ने हो त्यो ठाउँ देखाइदिन उल्टै आग्रह गरे । उनको भनाइलाई आधार मान्ने हो भने दीर्घायु गुरू अस्पतालले विगत १० वर्षदेखि अहिलेसम्म सरकारी जग्गामा सित्तैमा रजगज चलाइरहेको पुष्टि हुन्छ । मेडिकल माफियाले कुन हदसम्म राज्यको सम्पत्तिको दोहन गर्छन् भन्ने कुरा दीर्घायु गुरू अस्पतालको ‘केस’ले थप स्पष्ट पार्छ । दीर्घायु गुरू अस्पताल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को डोजरको पर्खाइमा रहेको देखिन्छ । यसमा बालेनले कस्तो कदम चाल्छन् हेर्न बाँकी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीर अस्पताल, ## सरकारी जग्गा, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #दीर्घायु गुरु अस्पताल, #प्रबन्ध निर्देशक सुरज बलाया श्रेष्ठ, #प्राडा गोपाल रमण शर्मा, #प्राडा स्वयं प्रकाश पण्डित

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com