विश्व जनसंख्या दिवस 

स्वास्थ्यका सचिवबाटै हेपिएको जनसंख्या दिवसमा मन्त्रीको हस्तक्षेप 


काठमाडौं । विश्व जनसंख्या दिवसमा सधैँ हेपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस वर्ष केही सकृय हुने देखिएको छ । २६ असारमा विश्व जनसंख्या दिवस मनाइदैछ । उक्त दिवस विगतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा खोस्टो पेपरमा मन्त्रीको शुभकामना छापेर सम्पन्न गर्दै आएको थियो । तर, यस वर्ष केही भिन्न हुने देखिएको छ ।

थुन्सेले छोपिएको दिवस वर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले डोकाले छोप्ने बनाएका छन् । आइतबार जनसंख्या दिवस मनाउँने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ठाक्क ठुक्क परेको छ । स्वास्थ्यमा दुई जना सचिव छन् ।

उनीहरूले जनसंख्या दिवस मनाउनु पर्दैन भनेर कर्मचारीलाई निर्देशन दिएका थिए । हुनत जनसंख्याबाट कुनै आर्थिक लाभ लिने ठाउँ नभएकाले स्वास्थ्यका सचिवको कहिल्यै प्राथमिकतामा पर्दैन । थोरै बजेटबाट अथाह काम गर्नुपर्ने जनसङ्ख्यामा अन्तराष्ट्रिय दातृ निकाय समेत सहयोग गर्न तयार हुदैनन् ।

नेपालीमा एउटा उखान छ, “जता मल्कु उतै ढल्कु” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ठ्याक्कै यस्तै छ । स्वास्थ्य क्षेत्रमा मनपरी गर्न पल्किएका स्वास्थ्यका अधिकारी र दातृ निकाय जनसङ्ख्यालाई रत्तिभर मान्दैनन् । मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, स्वास्थ्यका कार्यक्रम पाँच तारे होटलमा हुन्छन् दातृ निकायको सहयोग गर्न तँछाडमछाड हुन्छ तर, जनसङ्ख्याका कार्यक्रम गर्दा चिया खुवाउँने पैसा नभएर मन्त्रालयको हलमै गर्नुपरेको पीडादायी अवस्था छ ।

अधिकारीहरूले बताए अनुसार सचिवहरूको स्वार्थी सोचलाई मन्त्रीले कैँची लगाएका छन् । आइतबार कैँची लगाएकै कारण सचिवहरू दिनभर ठुस्स परेर बसेका थिए । मन्त्रीले विशेष कार्यक्रम गर्नुपर्छ भनेपछि हाइसन्चो मानेर बसेका जनसङ्ख्याका कर्मचारीहरूलाई तयारी गर्न पसिना छुटेको थियो ।

२६ गतेको कार्यक्रमका लागि सबै तयारी गर्न आइतबार अबेर सम्म कर्मचारी काममा व्यस्त थिए । सन् १९८९ बाट हरेक बर्ष विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस मनाइन्छ । हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेसन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।

क्याटेगोरी : समाचार
ट्याग : ##mohp nepal, ##world Populations Day, ##विश्व जनसंख्या दिवस

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com