स्वास्थ्यमाभन्दा सामान्यमा मन्त्री-सचिवबीच सम्बन्ध खटपट सतहमा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सचिवहरूलाई दपेट्दै आएका छन् । स्वास्थ्यका दुई सचिव देवकुमारी गुरागाईं र डा. रोशन पोखरेलसँग स्वास्थ्यमन्त्री बस्नेतको त्यति राम्रो सम्बन्ध नरहेको चर्चा छ । पछिल्लो समय सरुवा माग्न आउने कर्मचारीलाई ‘डोरी किनेर दिन’ सचिवहरुलाई उक्साएपछि स्वास्थ्यमन्त्री बस्नेत विवादमा आएका छन् । विश्व जनसंख्या दिवस मनाउने विषयमा मन्त्री र सचिवबीच मतभेद भएको थियो । स्वास्थ्यमन्त्री बस्नेतले सचिवले चढ्ने गाडी नै खोस्न लगाए । अहिले स्वास्थ्यलाई माथ खुवाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्री र सचिवबीचको विवाद सतहमा आएको छ ।

सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव डा. कृष्णहरि पुष्कर कर्णबीच दह्रो टकराव सुरु भएको हो । सचिव पुष्कर मन्त्री नै फेर्ने लविइङमा लागेको चर्चा छ । ‘केटाकेटीपन’ स्वभावका भनेर आलोचित हुँदै आएका सचिव पुष्कर अहिले “की मन्त्री हट्छ की आफ्नो सरूवा हुन्छ’ भन्दै हिँड्न थालेको सिंहदरबार वृत्तमा चर्चा छ ।

मन्त्री मोदीले सचिव पुष्करको हाजिरीमा रातो लगाइदिएपछि विवादले अग्र रूप लिएको देखिन्छ । चाकडी र चाप्लुसीमा माहिर सचिव पुष्कर मन्त्रीविरूद्ध जाइलाग्नुले सामान्यमा ठूलै उथलपुथलको संकेत गर्न थालेका छन् ।

सचिव पुष्करले कलम नचोबेपछि कुनै निर्णय हुन सकेको छैन । उनी अब यो मन्त्रीको पालामा कसैको सरूवा हुँदैन भन्दै कड्किन थालेपछि सामान्यका कर्मचारी अप्ठ्यारोमा परेका छन् । मन्त्री र सचिवबीचको विवादले सामान्यको काम अहिले ठप्प जस्तै भएको छ । कर्मचारीको सरुवा रोकिएको छ । यसैबीच सामान्यमा सीता गुरूङ मन्त्री भएर आउने चर्चा व्यापक सुनिन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता हुँदा चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीलाई ‘पागल’ घोषणा गरेका सचिव पुष्कर शक्ति केन्द्र रिजाउन खप्पिस मानिन्छन् । उनले मन्त्री मोदीविरूद्ध बालुवाटारमा नियमित पोल लगाउने गरेको आरोप छ । उक्त कदमले मन्त्री मोदी सचिवसँग चिढिएको चर्चा छ ।

अख्तियारका विवादित तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीका ‘एस म्यान’ रहेका पुष्करको अहिले बालुवाटारसँग राम्रै उठबस रहेको चर्चा छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको इकोनोमिक मिनिस्टर समेत भएर काम गरिसकेका उनी अर्थसचिव पड्काउन सफल भए । त्यहाँ बस्दा पुष्करले गरेको अपारदर्शी खर्चको अहिलेसम्म अडिट हुन सकेको छैन ।

निवर्तमान मुख्यसचिव शंकरदास बैरागी खनाललाई सचिवहरूको पोल लगाउने गरेको भन्दै पुष्करको आलोचना हुने गरेको छ । उनलाई अर्थसचिव बनाउन भारत र बैरागीको पनि भूमिका रहेको चर्चा छ । सचिव पुष्कर अहिले पनि मन्त्रालयमा ‘फलानो सचिव यस्तो तिलानो उस्तो’ भनेर कुरा काट्दै बस्ने गरेको उनलाई भेट्न जाने व्यक्तिहरू सुनाउँछन् ।

शक्तिशाली मन्त्रालय ताकेर बसेका पुष्कर सचिव बढुवा भएपछि प्रदेश झर्नु परेन । मन्त्री नै हुत्याउने खेलमा लागेका सचिव पुष्करलाई ठूलै शक्ति केन्द्रको आडभरोसा रहेको अनुमान लगाउन सकिन्छ । सामान्य प्रशासनमन्त्री मोदी र सचिव पुष्करको टक्करले मन्त्रालय भने अस्तव्यस्त हुन पुगेको छ । यसले कर्मचारी प्रशासनलाई ठूलो घाटा पुगेको छ । सचिव र मन्त्रीमध्ये एकजना नफेरे विवाद निरुपण हुने सम्भावना कम रहेको सामान्यका उच्च अधिकारीहरू बताउँछन् । बालुवाटारले अर्थपूर्ण हस्तक्षेप नगरे सामान्य प्रशासनमन्त्री र सचिवबीचको विवादले झन् उग्र रूप नलिएला भन्न सकिन्न ।

क्याटेगोरी : समाचार
ट्याग : #मन्त्री अमनलाल मोदी, #सचिव डा. कृष्णहरि पुष्कर कर्ण, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com