महादेव मन्दिरमा ओम अस्पतालका अध्यक्ष आनन्दकी श्रीमती सूर्यकुमारीको रजाइँ

आधा अर्बको सम्पत्ति अनधिकृत रुपमा कब्जा गरेर मासिक १ लाख भाडा असुल्दै


काठमाडौं । राजधानीको मुटु नयाँ बानेश्वरस्थित महादेव मन्दिरको जग्गा हडपेर ओम अस्पतालका अध्यक्ष डा. आनन्द श्रेष्ठकी श्रीमती सूर्यकुमारी श्रेष्ठले रजाइँ गरिरहेको पाइएको छ ।
झन्डै आधा अर्ब पर्ने १ रोपनी जग्गामा भवन बनाएर सूर्यकुमारी अध्यक्ष रहेको महिला आदर्श केन्द्र नामक संस्थाले मासिक १ लाख भाडा असुल्दै आएको भेटिएको हो ।
काठमाडौं महानगरपालिका र जिल्ला अदालतबाट मुद्दा हारेपनि मन्दिरको जग्गा खान सूर्यकुमारी निरन्तर लागेको पाइन्छ । एभरेष्ट होटलकोविपरीत दिशामा माइतिघरबाट नयाँ बानेश्वर मुख्य सडकमा उक्त जग्गा पर्छ । त्यो ठाउँमा अहिले आनाको ३ करोड बढी मूल्यमा जग्गा किनबेच भइरहेको छ । त्यस्तो जग्गामा दुई तले भवन बनाएर सूर्यकुमारी अध्यक्ष रहेको महिला आदर्शले जेनिश पेन्ट्सलगायतसँग मासिक १ लाख भाडा उठाइरहेको पाइन्छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० मा पर्ने महिला आदर्श केन्द्रको अनाधिकृत संरचना भत्काउन काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले २०७५ असोज ७ गते आदेश दिएका थिए । त्यो आदेशविरुद्ध महिला आदर्शका प्रतिनिधिहरू पुनरावेदन गर्न काठमाडौं जिल्ला अदालत पुगेका थिए । तर, जिल्ला अदालतले २०७९ साउन ३१ गते काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले अनधिकृत संरचना भत्काउने गरी गरेको फैसला सदर गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले महिला आदर्शको भवन भत्काउने गरी काठमाडौं महानगरपालिकाबाट भएको फैसला सदर गरेपनि १ वर्षसम्म अनधिकृत संरचना भत्किएको छैन ।

विद्यासुन्दरको आदेश बालेनको पालामासम्म कार्यान्वयन हुन सकेको छैन ।

गंगादेवी चुचोल टोल सुधार समिति बुद्धनगरका अनुसार ओम अस्पतालका सञ्चालक टंक श्रेष्ठलगायतको चलखेलका कारण जिल्ला अदालतको फैसला कार्यान्वयनमा आउन नसकेको हो । यसमा ठूलो चलखेल भएको समितिका पदाधिकारीहरूको बुझाइ छ । समितिका तर्फबाट किशोर थापाले मुद्दा लडेका थिए । उनी पनि लड्दालड्दै थाकिसकेका छन् ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले महिला आदर्शको भवनको विषयमा आफ्नोमा फाइल आइनपुगेको दाबी गरे । फाइल आउन साथ एक्सनमा जाने महानगर प्रहरी प्रमुख पाण्डेको भनाई छ ।

के हो त्यो जग्गा ?
काठमाडौं जिल्ला महादेवस्थान गाउँ पञ्चायत वडा नम्बर ९ (घ) कित्ता नम्बर १२१ मा २ रोपनी सरकारी/सार्वजनिक जग्गा रहेको थियो । फेरि पछि नापी हुँदा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर कित्ता नम्बर ११० क्षेत्रफल १ रोपनी ४ आना २ पैसा कायम भएको । उक्त जग्गा फेरि कित्ताकाट भएर २३८ र २३९ मा विभाजन भयो ।
त्योमध्ये कित्ता नम्बर २३८को क्षेत्रफल ५ आना ३ पैसा ३ दाम जग्गा बाटो विस्तारमा सडकमा गयो । २३९ को १४ आना जग्गा भने महिला आदर्श केन्द्रले खायो । उक्त जग्गा अतिले केदारेश्वर महादेव छुट गुठीमा दर्ता भएको देखिन्छ ।
गंगादेवी चुचोल टोल सुधार समितिले पुनरावेदन तहबाट मुद्दा जितेर आएपछि काठमाडौंं महानगरपालिका टंक श्रेष्ठ र महिला आदर्शका अगाडि गुरुडको छेउमा परेको सर्प जस्तो भएको समितिका पदाधिकारीको आरोप छ । उनीहरू पटकपटक महानगरपालिका धाए पनि पार लाग्न नसकेको गुनासो पोख्छन् । यो विषयमा मेयर बालेन शाहले तत्काल एक्सन लिन जरुरी छ ।
काठमाडौं महानगरपालिकाले उक्त ठाउँमा पार्क बनाउन डीपीआर तयार गरेपनि अहिलेसम्म महिला आदर्शलाई भाडा खान दिइरहनुले मिलेमतोको आशंका गर्ने ठाउँ छ । महानगरका कर्मचारी मेयर बालेनलाई गुमराहमा राखेर महिला आदर्शलाई दुहुनो गाई त बनाइरहेका छैनन् यो गम्भीर प्रश्न हो । यसमा बालेनको कदमले पनि वास्तविकता के हो थप पुष्टि गर्ने छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #ओम अस्पताल, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #महिला आदर्श केन्द्र, #सूर्यकुमारी श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ