गिरीबन्धु टी-इस्टेट प्रकरणमा अर्याल-ओलीमाथि अनुसन्धान होला ?


समाचार टिप्पणी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी-इस्टेटको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् । मंगलबार सम्पादकहरुसँग छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी-इस्टेट जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका हुन् । प्रधानमन्त्री दाहालको अभिव्यक्तिसँगै यो प्रकरणमा जोडिएका ठूला माछा समातिन्छन् की भूरा माछामै गएर अनुसन्धान टुंगिन्छ भन्ने चासो देखिन थालेको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी-इस्टेट नाममा रहेको ३ सय ४४ विघा जग्गा सट्टा भर्ना गर्न दिने र बिक्री गर्ने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो । उक्त ऐनले गिरीबन्धु टी-इस्टेटको जग्गा सट्टाभर्ना गरेर बिक्री गर्ने बाटो खुला गरेको हो ।

व्यापारी दिपक मल्होत्रासहितका भूमाफियाको स्वार्थमा भूमि ऐन संशोधन गरिएको चर्चा हुँदै आएको छ । कानुननै फेरेर टी-इस्टेटको बहुमुल्य जग्गा बेच्नका लागि बाटो खोल्न व्यापारी मल्होत्रा र भूमाफिया तारा सापकोटा, सानु भण्डारीलगायतको गिरोह सक्रिय भएर लागेको थियो । त्योबेला प्रधानमन्त्री ओली थिए भने भूमि व्यवस्थामन्त्री पद्याकुमारी अर्याल थिइन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भूमि व्यवस्था मन्त्रालयमा पुगेकी पद्माले भूमाफियाको स्वार्थमा भूमि ऐन नै संशोधन गरिन् ।

भूमाफियाको गिरोहले उक्त मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याएको थियो । पाण्डे अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

गिरीबन्धु टी-इस्टेटको जग्गा बेच्न बाटो खोल्ने पद्मा मन्त्रीबाट हटेलगत्तै कालिकास्थानस्थित व्यापारी दीपक मल्होत्राको स्वामित्वमा रहेको सिल्भर अपार्टमेन्टमा बस्न थालेकी थिइन् । स्वास्थ्य लाइभले खोजी गर्दा उनी अपार्टमेन्टको सिटू बल्कको ९ नम्बर फ्ल्याट बसेकी पाइएको थियो। स्वास्थ्य लाइभले निगरानी बढाएपछि पद्मा फ्ल्याट नै छाडेर हिँडिन् । व्यापारी मल्होत्राले भूमि व्यवस्थामन्त्रीको हैसियतमा काम गरेबापत पद्मालाई कालिकास्थानस्थित सिल्भर अपार्टमेन्टको फ्ल्याट उपहार दिएको चर्चा थियो । चर्चाकैबीच स्वास्थ्य लाइभले खोजी गर्दा पद्मा सिल्भर अपार्टमेन्टको सिटू बल्कको ९ नम्बर फ्ल्याट छाडेर हिँडेकी थिइन् ।

पद्मा भूमि व्यवस्थामन्त्री हुँदा गिरीबन्धु टी-इस्टेटको ३ सय ४४ बिघा जग्गाको हदबन्दी फुकुवा गर्ने प्रक्रिया अघि बढेको थियो । तत्कालीन मन्त्री पद्मा , सचिव पाण्डे, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बिचौलियासँग सेटिङ मिलाएर गिरीबन्धु टी-इस्टेटको हदबन्दी फुकुवा र खरिद बिक्री गर्ने बाटो खुलाउने पक्रिया अगाडि बढाएको आरोप लाग्दै आएको छ । त्यसै बापत पद्यालाई मल्होत्रा अपार्टमेन्ट उपहार दिएको चर्चा चलेको हो । स्वास्थ्य लाइभसँगको कुराकानीमा भने पद्याले उक्त अपार्टमेन्टमा आफन्त रहेकाले गएर बसेको दाबी गरेकी थिइन् । ‘अपार्टमेन्टमा भाइ पर्ने बस्ने गरेकाले केही दिन गएर बसेको हो त्यहिँ आधारमा पछि लाग्नु राम्रो होइन’, उनको प्रतिक्रिया थियो ।

गिरीबन्धु टी-इस्टेटको जग्गामा गिरोहको योजना अनुसार काम फत्ते गरेकाले सचिव पाण्डेलाई त्यहिँ गिरोहले गृहसचिव बनाएको सिंहदरबारभित्र चर्चा चल्ने गरेको छ ।

प्रधानमन्त्री दाहाले भनेजस्तै गिरीबन्धु टी-इस्टेटको जग्गा प्रकरणमा अनुसन्धान हुँदा तत्कालीन प्रधानमन्त्री ओली, मन्त्री अर्यालसहितका ठूला माछा तानिनेमा शंकै छ । गिरीबन्धु टी-इस्टेट जग्गा प्रकरणमा उनीहरूलाई नतानि गरिने अनुसन्धान केवल ‘स्टन्ट’ मात्र हुने टिप्पणी हुन थालेको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, #गिरीबन्धु टि-स्टेट विर्तामोड झापा, #पद्या अर्याल, #व्यापारी दिपक मल्होत्रा, #सिल्भर अपार्टमेन्ट कालिकास्थान

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com