पूर्व स्वास्थ्य राज्यमन्त्री पद्माले किन छाडिन् ‘मल्होत्रा’ अपार्टमेन्टको फ्ल्याट नम्बर ९?


काठमाडौं । मन्त्रीबाट हटेलगत्तै पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल कालिकास्थानस्थित व्यापारी दीपक मल्होत्राको स्वामित्वमा रहेको सिल्भर अपार्टमेन्टमा बस्न थालेकी थिइन् । व्यापारी मल्होत्राका एकजना कर्मचारीकाअनुसार उनले पद्मालाई अपार्टमेन्टको सिटू बल्कको ९ नम्बर फ्ल्याट दिएका थिए ।

व्यापारी मल्होत्राले पूर्व भूमि व्यवस्थापनमन्त्रीको हैसियतमा काम गरेबापत पद्मालाई कालिकास्थानस्थित सिल्भर अपार्टमेन्टको फ्ल्याट  उपहार दिएको चर्चा थियो । चर्चाकैबीच स्वास्थ्य लाइभले खोजी गर्दा पद्मा सिल्भर अपार्टमेन्टको सिटू बल्कको ९ नम्बर फ्ल्याट छाडेर हिडेको पाइएको छ ।

पद्मा भूमि व्यवस्थापन मन्त्री हुँदा गिरीबन्धु टि-स्टेटको ३ सय ४४ बिघा जग्गाको हदबन्दी फुकुवा गर्ने प्रक्रिया अघि बढेको थियो ।

तत्कालीन मन्त्री पद्मा अर्याल , सचिव टेकनारायण पाण्डे, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बिचौलियासँग सेटिङ मिलाएर गिरीबन्धु टि-स्टेट हदबन्दी फुकुवा र खरिद बिक्री गर्ने बाटो खुलाउने पक्रिया अगाडि बढाएको आरोप लाग्दै आएको छ । यससम्बन्धी कागजात छानविनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तानेको छ ।

भूमि व्यवस्थापन मन्त्रालय उच्च स्रोतका अनुसार व्यापारी दीपक मल्होत्रा र बिचौलिया तारा सापकोटाले कानून संशोधन गराउनेदेखि बिक्री गराउनेसम्मको सेटिङ मिलाएका थिए । बिचौलिया सापकोटा जग्गाको हदबन्दी फुकुवा गर्ने र टि-स्टेटको जग्गा बिक्रीवितरण गर्न पाउने गरी भूमि ऐन संशोधन गर्दा सरकारका उच्च पदस्थलाई १ अर्ब बुझाएको भन्दै हिड्ने गर्छन् । उक्त  घुस रकम व्यापारी मल्होत्रा र गिरीबन्धु टि-स्टेटका मालिक छत्र गिरीले व्यवस्थापन गरेको बिचौलिया सापकोटाले सुनाउने गरेका छन् ।

तत्कालीन भूमि व्यवस्थापन मन्त्रालयका जग्गा प्रशासन शाखाका उपसचिव काजी बिष्टले हदबन्दी फुकुवाको निर्णयले सबैजना ललिता निवासकाण्डमा जस्तै तानिने भनेर रोक्न खोजेपछि उनको तत्कालै उद्योग मन्त्रालयमा सरूवा गरिएको थियो ।

भूमि सम्बन्धी ऐन नै संशोधन गरेर यति धेरै चलखेल भएको कुरा बाहिर आएको र पूर्व मन्त्री  पद्मा मल्होत्राको अपार्टमेन्टमा गएर बसेपछि व्यापारी मल्होत्राले फ्ल्याट उपहार दिएको शंका सुरू भएको थियो ।

व्यापारी दीपक मल्होत्राले पूर्वमन्त्री पद्मा अर्याललाई फ्ल्याट उपहार दिएको चर्चा व्यापक हुन थालेपछि पद्माले सिल्भर अपार्टमेन्टको सिटू बल्कको ९ नम्बर फ्ल्याट छाडेर हिडेकी छिन् । अपार्टमेन्ट व्यवस्थापन स्रोतका अनुसार अर्यालले एक हप्ता अगाडि उक्त फ्ल्याट छाडेर हिडेकी हुन् ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजातअनुसार उक्त फ्ल्याट मीनाकुमार अग्रवालको नाममा रहेको छ । पूर्व मन्त्री पद्मालाई उपहार स्वरूप बस्ने दिइएको भनिएको त्यो फ्ल्याट अर्कै व्यापारीको नाममा राखेर उनलाई दिइएको अपार्टमेन्ट स्रोतको भनाइ छ । तर, पद्मा उपहार स्वरूप दिइएको भनिएको कालिकास्थानस्थित सिल्भर अपार्टमेन्टको सिटू बल्कको ९ नम्बर फ्ल्याट रहस्यमय ढंगले छाडेर हिडेकी छिन् ।

यता पूर्वमन्त्री अर्याल भने उक्त अपार्टमेन्टमा आफन्त रहेकाले गएर बसेको दाबी गर्छिन् । अहिले आफू हरि पौडेलको घरमा भाडामा बसेको बताउँदै उनले आफन्त रहेको अपार्टमेन्टको फ्ल्याटमा गएर केही दिन बसेको कुरालाई इस्यु नबनाउन आग्रह गरिन । ‘अपार्टमेन्टमा भाइ पर्ने बस्ने गरेकाले केही दिन गएर बसेको हो त्यहिँ आधारमा पछि लाग्नु राम्रो होइन’, स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिसकेकी अर्यालले भनिन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #कालिकास्थान फल्याट, #पद्या अर्याल, #व्यापारी दिपक मल्होत्रा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com