स्वास्थ्यका फायलमा अख्तियारका आँखा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यका फायलमा चासो देखाउन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग उच्च स्रोतका अनुसार उजुरीका आधारमा स्वास्थ्य फायल खोल्न आयोग अग्रसर भएको छ ।
अनियमिततादेखि अकुत सम्पत्ति आर्जनसम्मका फायलमा अख्तियारले आँखा लगाएकाे हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मातहतका निकाय, स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा अख्तियारले निगरानी बढाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि भ्रष्टाचार मुद्दा चलाएको अख्तियारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हात हाल्न खोजेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा राष्ट्रिय सतर्कता केन्द्रले पनि छानबिन गरिरहेको छ । राप्ती प्रतिष्ठानको पदाधिकारीहरूको योग्यताको विषयमा सतर्कता केन्द्रले प्रश्न उठाएको छ । यो विषयलाई अख्तियारले पनि समानान्तर तरिकारले अनुसन्धान गरिरहेको छ ।
राप्ती प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगीत सिंह भण्डारीको पालामा भएको अनियमिततालाई अहिले अख्तियारले केलाइरहेको छ । उनी चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष खाने दौडमा देखिन्छिन् । स्रोतका अनुसार स्वास्थ्य सेवा विभागले गरेको उपकरण खरिदका विषयमा उजुरी चाङ छ । ती उजुरीलाई विस्तृतमा राखेर हेर्ने अख्तियारको तयारी छ ।
ओम्नी घोटालाको उजुरीमा समेत अख्तियारले छानबिन गर्ने तयारी थालेको छ । संसदको लेखा समितिले दिएको प्रतिवेदनलाई आधार मानेर अख्तियार अगाडि बढ्न लागेको हो । अहिले अख्तियारको मुख्य ध्यान स्वास्थ्यका फायल खोल्नमा केन्द्रित देखिन्छ ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com