अख्तियारको सक्रियताले स्वास्थ्यका उच्च अधिकारीहरूको पद धरापमा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियताले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूको पद धरापमा परेको छ । अख्तियारले पछिल्लो १० वर्षमा खरिद गरेका स्वास्थ्यका उपकरण र प्रयोगको अवस्थामाथि अनुसन्धान थालेपछि स्वास्थ्यका उच्च अधिकारीहरुको पद धरापमा पर्ने देखिएको हो ।

अख्तियार उच्च स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले कमिसनको चक्करमा अर्बौ रुपैयाँका उपकरणहरू खरिद गरेको भेटिएको छ । आवश्यकता नै नभएका उपकरण खरिद गरेर थन्काएर राख्नु आफैंमा भ्रष्टाचार भएको अख्तियारको ठम्याई छ ।

अर्बौंको स्वास्थ्य उपकरण खरिद हुनुभन्दा अगाडि आवश्यक र प्राथमिकता, पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापन नगरिएको अख्तियारको दाबी छ । दक्ष जनशक्ति र आवश्यक पूर्वाधार तयार नगरी मेडिकल माफियासँगको सेटिङ र कमिसनको चक्करमा स्वास्थ्य उपकरण खरिद गर्दा राज्यको अर्बौं रुपैयाँ खेर गएको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

भ्रष्टाचार निवारण ऐन २०४९ को दफा ८ (च) मा मनासिब कारणबिना आवश्यक पर्नेभन्दा अस्वाभाविक रूपमा बढी सामान खरिद गर्ने, गराउनेलाई गैरकानुनी लाभ वा हानि पु¥याउने बदनियतले काम गरेको मानिने उल्लेख छ । स्वास्थ्य संस्थाहरूले खरिद गरेर थन्क्याएर राखेका उपकरणमाथि अख्तियारले यदी दफा प्रयोग गरेर भ्रष्टाचार मुद्दा दायर गर्न सम्भावना छ ।

सेक्युरिटी प्रेस, नेसनल पेमेन्ट गेटवे सिस्टम, सफ्टवेयर खरिदमा विषयमा पनि अख्तियारले अनावश्यक उपकरण खरिद गरी प्रयोगमा नल्याएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्वास्थ्य संस्थाले खरिद गरेको उपकरणमा उक्त नजिर आकर्षित हुने देखिन्छ ।

अख्तियार उच्च स्रोतका अनुसार ती उपकरण खरिदमा संलग्न स्वास्थ्यका मन्त्री र सचिवहरू नै भ्रष्टाचार मुद्दामा तानिने देखिन्छ । स्वास्थ्य उपकरण खरिदको विषयमा अख्तियारले चालेको कदमले अहिलेसम्मका स्वास्थ्यमन्त्री, सचिव, महानिर्देशकलगायतको पद धरापमा पर्ने देखिएको छ । कमिसनको खेलमा जथाभावी स्वास्थ्य उपकरण खरिद गर्दा उनीहरूमाथि भ्रष्टाचारमा मुद्दा लाग्ने अवस्था आएको हो ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ##उपकरण थन्किएका छन्, #कमिसन चक्कर, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com