स्वास्थ्यमा राजीनामाको लर्को


काठमाडौं । स्वास्थ्य क्षेत्रमा एकपछि अर्को राजीनामाको लर्को चल्न थालेको छ । स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले राजीनामा दिएको २४ घण्टा नबित्दै अर्को राजीनामाको घटना बाहिरिएको हो ।

स्वास्थ्य बीमा बोर्डका पाँच जना सदस्यको राजीनामाको घटना सेलाउन नपाउँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ जना पदाधिकारीले राजीनामा दिएको घटना सार्वजनिक भएको हो ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको डिजाइनमा  स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्वन गरेपछि राजनीतिक हस्तक्षेप भएको भन्दै बीमा बोर्डका सदस्यहरुले सामूहिक राजीनामा दिएका हुन् । त्यसरी राजीनामा दिनेमा राजीनामा दिनेमा इन्द्रकला राई, चन्द्र थापा, टिका चापागाईं, सुरेश तिवारी र तारा शाह रहेका छन् । स्वास्थ्य मन्त्रालयले बसौलाको ठाउँमा कामकाजका लागि मदन उपाध्ययलाई खटाएपछि उनीहरू राजीनामा दिएर टाप कसेका हुन् ।

स्वास्थ्य बीमा बोर्डको राजीनामाको घटना सेलाउन नपाउँदै अर्को राजीनामा सतहमा आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा र उपरजिष्ट्रार झंकार लामिछानेले राजीनामा दिएर टाप कसेका छन् । बीमा बोर्डको राजीनामाभन्दा राप्ती प्रतिष्ठानको राजीनामाको घटना अगाडि भएपनि अहिलेसम्म गुपचुप राखिएको थियो ।

बीमा बोर्डमा राजनीतिक हस्तक्षेपको कारण देखाउँदै राजीनामा आएको छ भने राप्ती प्रतिष्ठानमा कारबाहीबाट जोगिन यस्तो बाटो अपनाइएको दाबी गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले राप्ती प्रतिष्ठानका ती पदाधिकारीको नियुक्ति प्रक्रिया र योग्यतामाथि प्रश्न उठाएको थियो । उक्त प्रतिवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएपछि अचानक राप्ती प्रतिष्ठानका ३ पदाधिकारीले राजीनामा दिएको देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ