‘नेपालमा स्ट्रोकको अवस्था र रोकथामका लागि भएका प्रयास’बारे प्यानल डिस्कसन सम्पन्न


काठमाडौं । ‘वल्र्ड स्ट्रोक डे २०२३’ का अवसरमा ‘नेपालमा स्ट्रोकको अवस्था र रोकथामका लागि भएका प्रयास’ विषयमा प्यानल डिस्कसन सम्पन्न भएको छ । नेपाल पक्षघात संघको आयोजनामा आइतबार रत्नपार्कस्थित शान्ति बाटिकामा उक्त छलफल सम्पन्न भएको हो ।

उक्त छलफलमा नेशनल न्यूरो सेन्टरका वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा, नेपाल पक्षघात संघका अध्यक्ष एवम् वरिष्ठ न्यूरोलोजिष्ट डा. राजु पौडेल, वीर अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा. अभिनाश चन्द्र र नेपाल एम्बुलेन्स सेवाका फिल्ड कोअर्डिनेटर ललितसिंह राइखोला रहेका थिए । उक्त प्यानल डिसकसनको मोडरेटरका रुपमा पत्रकार महेश तिमल्सिना रहेका थिए ।

जसमा नेपालमा अहिले स्ट्रोक÷मस्तिष्कघातको अवस्था के छ ? र, रोकथामका लागि कस्ता प्रयास भएका छन् ? भन्नेबारे छलफल गरिएको थियो । छलफलका क्रममा बरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापाले नेपालमा स्ट्रोक रोकथामका लागि सरकारले चासो नदेखाएको बताए । ‘अन्य नसर्ने रोगका लागि सरकारले जति गरेको छ स्ट्रोक रोकथामका लागि त्यति गरेका छैन,’ उनले भने, ‘मुटु, मिर्गौला रोग जस्तै स्ट्रोक पनि एक प्राणघातक रोग हो भन्ने सरकारले बुझ्न जरुरी छ ।’

सरकारले स्ट्रोक रोकथामलाई प्राथमिकतामा नराख्दा यसको उपचार महँगो हुन गएको उनको भनाई छ । ‘सरकारले मुटु रोगका बिरामीलाई १ लाखसम्मको उपचार खर्च दिन्छ,’ उनले भने, ‘तर, त्यो मस्तिष्कघातका बिरामीका लागि छैन यसरी विभेद गरिनुहुँदैन ।’

त्यस्तै, नेपाल पक्षघात संघका अध्यक्ष डा. राजु पौडेलले सरकारसँग नेपालमा स्ट्रोक रोकथामका सरकारलाई घचघच्याइरहेको बताए । ‘नेपाल पक्षघात संघको तर्फबाट स्ट्रोक रोकथाम र उपचारमा सहुलियतका लागि सरकारलाई घचघच्याइरहेका छौँ,’ उनले भने, ‘पक्कै पनि सरकारले यो विषयलाई गम्भीरताका साथ लिनेछ ।’

वीर अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा. अभिनाश चन्द्रले नेपालमा स्ट्रोकबारे सचेतना फैलाउन अझै आवश्यक रहेको बताए । यदि स्ट्रोकका बिरामीलाई समयमै नजिकैको अस्पताल पुर्याउन सकियो भने जोखिम कम गर्न सकिने उनले बताए । ‘नेपालमा अझै पनि स्ट्रोकबारे सचेतनाका खाँचो छ,’ उनले भने, ‘मानिसहरुले हार्टअट्याकलाई जसरी गम्भीर रुपमा लिने गरेका छन् ब्रेन अट्याकलाई त्यति गम्भीर रुपमा लिएको पाइँदैन तर यो झन् खतरा हो ।’

यसका कारण र लक्षणका बारेमा आम जनमानसलाई सुुशुुचित गर्न आवश्यक रहेको उनले बताए ।

त्यस्तै, नेपाल एम्बुलेन्स सेवाका फिल्ड को–अर्डिनेटर ललितसिंह राइखोलाले जस्तोसुकै बिरामीका आफन्तले जुनबेला सम्पर्क गरेपनि आफूहरुले सेवा दिइरहेको बताए । ‘हामीले काठमाडौं भ्यालीभित्र जुनसुकै बेला निशुल्क एम्बुलेन्स सेवा दिइरहेका छौँ,’ उनले भने, ‘बिरामीको तर्फबाट फोन आएको १८ मिनेटभित्र सेवा दिइसक्छौँ ।’

नेपाल एम्बुलेन्स सेवाका एम्बुलेन्सका चालकहरुलाई स्वास्थ्य जोखिम रोकथामबारे प्रशिक्षितसमेत गराइएको उनले बताए ।

‘टुगेदर वी आर ग्रेटरदेन स्ट्रोक’ भन्ने नाराका साथ मनाइएको स्ट्रोक दिवसका अवसरमा संघले शान्तिबाटिकामा निःशुल्क स्वास्थ्य जाँच समेत गराएको थियो । करिव तीन सय सर्वसाधारणले उक्त क्याम्पबाट सेवा लिएको संघले जनाएको छ ।

त्यस्तै, स्ट्रोकबारे सचेतना फैलाउने उद्धेश्यले ‘वाकाथन’ समेत गरिएको थियो । स्ट्रोकबारे सचेतनामूलक जानकारीहरु लेखिएको विभिन्न पर्चा पम्प्लेटसहित टुँडिखेललाई एक फन्को लगाइएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ