दमक भ्यू टावरलाई अस्पतालमा रुपान्तरण गर्ने अवसर


सुनसरी । झापाको दमक-३ ढुकुरपानीस्थित १८ तले भ्यू टावर धमाधम बनिरहेको छ । २०८० असार २७ मै निर्माण सम्पन्न हुनु पर्ने उक्त भ्यू टावर कार्तिकसम्म आइपुग्दा जम्मा ७० प्रतिशत जति मात्र काम सकेको देखिन्छ । वरिपरि पातलो धिमाल बस्ती र प्रशस्त खाली जग्गाबीचमा गगनचुम्बी भ्यू टावरको भवन ठडिरहेको छ । उक्त भ्यू टावरबाट के हेर्ने तभन्दा धिमाल बस्तीको गरिबीको दर्दानाक अवस्था भन्ने पनि टिप्पणी हुँदै आएको छ ।

दमक भ्यू टावर भ्यू टावरमा मात्रै सीमित हुने हो भने त्यो टिप्पणी उपयुक्त नै देखिन्छ । १ अर्ब ५६ करोडमा ठेक्का सम्झौता भएको उक्त भ्यू टावर बहुउद्देश्यीय प्रकृतिको रहेको छ । उक्त ठाउँमा २ सय शय्याको अस्पताल सञ्चालन गर्न सके त्यो संरचनाको उचित सदुपयोग हुने देखिन्छ ।

दमक भ्यू टावर १८ तले आरसीसी भवनमाथि २८ मिटरको स्टिल टावर निर्माण गरिएको छ । उक्त स्टिल टावरलाई भ्यू टावर निर्माण गरेर बाँकी संरचना अस्पतालका लागि प्रयोग गर्न सकिन्छ । स्वास्थ्य लाइभका प्रतिनिधिसँगको कुराकानीमा स्थानीयले दमकमा भ्यू टावरभन्दा पनि स्तरीय अस्पताल आवश्यक रहेको प्रतिक्रिया दिए । सानो रोग लाग्दा पनि विराटनगर, धरान, काठमाडौं जस्ता ठाउँमा जान बाध्य दमकबासी दमकमा भ्यू टावरभन्दा अस्पतालको आवश्यकता औँल्याउँछन् । दमकमा अस्पताल सञ्चालन गर्न सके मोरङको ऊर्लावारी, पथरी शनिश्चरे, झापाको दमक, विर्तामोडलगायतका ठाउँका बिरामीले सहज रुपमा स्वास्थ्य सेवा पाउन सक्ने उनीहरुको ठम्याई छ ।

सरकारी मापदण्ड अनुसार बनेको उक्त भवन स्वास्थ्य संस्था सञ्चालन मापदण्ड अनुसार नै बनेको छ । उक्त भवन वातवरणीय हिसाबले पनि अस्पताल चलाउन मिल्ने नै देखिन्छ । पार्किङ, गार्डेन र स्वास्थ्य संस्थाले छोड्नु पर्ने खाली ठाउँ पनि भ्यू टावरले चर्चेको कम्पाउण्डभित्र देखिन्छ । वरिपरिका जग्गा अधिग्रहण गरेर थप संरचना बनाउने हो भने त मेडिकल कलेज पनि मज्जाले चलाउन सकिन्छ ।

स्वास्थ्य भवन मापदण्ड

दमक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत हो । पूर्वप्रधानमन्त्री कै क्षेत्रमा एउटा गतिलो अस्पताल नहुनु र स्थानीय जनताले स्वास्थ्य सेवा लिन अर्को शहर धाउनु पर्ने अवस्था आफैंमा लाजमर्दो हो ।

दमक भ्यू टावरका नाममा आलोचित बनेका ओलीलाई स्तरीय स्वास्थ्य सेवा दिएर उक्त संरचना सदुपयोग गर्ने अवसर समेत हो । उनले चाहे भने भ्यू टावरका नाममा ठडिएको उक्त टावर स्वास्थ्य टावरमा रुपान्तरण हुने निश्चित छ । यसमा विशेषज्ञ टोलीद्वारा अध्ययन गरेर स्वास्थ्य सेवा सञ्चालन गर्न सके दमकबासीले ओलीलाई स्यावासी नै दिने दिन आउँछ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, #दमक भ्यू टावर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com