गोठाटारबाट २ जना लागुऔषध कारोबारी प्रहरी नियन्त्रणमा


काठमाडौं । प्रहरीले काठमाडौंको गोठाटारबाट दुईजना लागुऔषध कारोबारी नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट विशेष अनुसन्धान टोली मुलपानी बस्ने हर्कबहादुर लिम्बु र मोहम्मद करिमलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट थान पेस्तोल, ३ थान गोली र २ सय ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला कागेश्वरी मनोहरा न.पा.वडा नं.०९ गोठाटारमा लागु औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पछ्याएको थियो ।

लागुऔषध कारोवारीले प्रहरीलाई नै लक्षित गरी पेस्तोल निकाली फायर गर्न लाग्दा प्रहरीको तर्फबाट जवाफी कारवाहीमा भारत वेष्ट बंगाल नक्सलबारी स्थायी वतन भएका वर्ष ४८ को मोहमद करिमको दाहिने गोडामा गोली लागेकोमा निजलाई तत्काल उपचारको लागि मदर ल्याण्ड अस्पताल, पेप्सिकोलामा लगिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका जिल्ला झापा, कचनकवल गा.पा.वडा नं.०७ स्थायी वतन भएका वर्ष ३७ को हर्क बहादुर लिम्बु समेतलाई नियन्त्रणमा लिएको छ । निजहरूको साथबाट १ थान पेस्तोल, ऐ.को गोली राउण्ड थान-३, ब्राउन सुगर जस्तो देखिने पदार्थ अं. २ सय ग्राम, डिजीटल तराजु थान-१ र ५० हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको हो ।

पक्राउ परेका हर्क बहादुर लिम्बु मिति २०७४ चैत २९ गते मानव बेचबिखन मुद्दामा कारवाही भई ५ वर्ष जेल भुक्तान गरी छुटेको प्रहरीको भनाइ छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ