अरूण गाउँपालिकाको बदमासी: ग्रेडवृद्धिलाई उत्कृष्ट विद्यार्थीको रुपमा पुरस्कृत


काठमाडौं । एसईई परीक्षा उत्तीर्ण उत्कृष्ट विद्यार्थीको नाममा भोजपुरको अरुण गाउँपालिकाले मनोमानी र बदमासी गरेको रहस्य खुलेको छ । २०७८ सालको एसईईमा अरुण गाउँपालिकाभित्रका स्कुलबाट उत्कृष्ट अंक ल्याउने छात्र/छात्रा सम्मानका नाममा अरुण गाउँपालिकाले अख्तियारको दुरुपयोग र अनुचित कार्य गरेको पाइएको हो ।

अरुण गाउँपालिकाले दबाव र प्रभावमा परेर ग्रेडवृद्धिलाई उत्कृष्ट विद्यार्थीको रुपमा पुरस्कृत गरेको खुल्न आएको छ । अरुण गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन सिंह साउद र श्री शारदा माध्यमिक विद्यालय, प्याउलीका केही शिक्षकहरुको मिलेमतोमा उक्त अनुचित कार्य भएको आरोप लागेको हो ।

अरुण गाउँपालिकाले नियमित तर्फबाट उत्कृष्ट हुनेलाई भन्दा  ग्रेडवृद्धिलाई उत्कृष्ट विद्यार्थी घोषित गरेपछि विरोध हुँदै आएको छ । गाउँपालिकाले विनिता पुलामी मगरलाई एसईई परीक्षामा गाउँपालिकाभित्रकी उत्कृष्ट छात्राको रुपमा पुरस्कृत गरी सुशासनको धज्जी उडाउने काम गरेको पाइन्छ ।

२०७८ सालको एसईई परीक्षामा श्री महेन्द्रोदय माध्यमिक विद्यालय, जरायोटारकी शान्ति विक र श्री कटका मावि याङपाङकी आकृति कोइरालाले समान ३:१० जिपिए ल्याएको देखिन्छ । उक्त परीक्षामा श्री शारदा माध्यमिक विद्यालय, प्याउलीकी विनिता पुलामी मगरले २.९० जिपिए ल्याएको पाइन्छ । तर, उनले ग्रेड वृद्धिमार्फत ल्याएके ३ः१५ जिपिएलाई आधार मानेर अरुण गाउँपालिकाले उत्कृष्ट छात्राको रुपमा सम्मान गरेको खुलेको छ । अरुण गाउँपालिकाको यो कदम बदमासीको पराकाष्ठा हो ।

 

अरुण गाउँपालिकाका शिक्षा शाखा प्रमुख साउद भने आफूहरुले गरेको निर्णयको बचाउ गर्छन् । एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउनेलाई सम्मान गर्ने उल्लेख भएकाले पुलामीलाई ८ हजार पुरस्कारसहित सम्मान गरिएको उनको तर्क छ ।

प्याउली स्कुलले २०७८ सालको एसईईमा उत्कृष्ट विद्यार्थी भनेर संयोग सापकोटालाई सम्मान गरेको थियो । ३.०५ जिपिए ल्याएका उनी १४ सय रुपैयाँ नगदसहित सम्मानित भएका थिए । तर, पछि प्याउली स्कुलले पुलामीले ग्रेड वृद्धिमार्फत ल्याएको नम्बर पठाएर बदमासी गरेको पाइन्छ ।  यसमा आफूहरुको नभइ प्याउली स्कुलको बदमासी भएको शिक्षा शाखा प्रमुख साउदको आरोप छ ।

अरुणका शिक्षा शाखा प्रमुख साउदका अनुसार गाउँपालिकाभरिका विद्यालयबाट उत्कृष्ट हुने एक जना छात्र र एक जना छात्रा ८/८ हजार नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय भएको थियो । त्यो निर्णय कुनै कानुन र मापदण्डभन्दा पनि टिप्पणी आदेशको आधारमा भएको उनको भनाइ छ । दुुई  हजार कर काटेर ६ हजार रुपैयाँ नगद प्रदान गरिएको साउदले जानकारी दिए ।

गाउँपालिकाको टिप्पणी आदेशले नियमिततर्फबाट उत्कृष्ट अंक ल्याउने छात्राहरुलाई सीधै दुरुत्साहन गरेको देखिन्छ । यो पुरस्कारको असली हकदार विक र कोइराला हुन् । तर, गाउँपालिकाको टिप्पणी आदेशले पुलामीको पोल्टामा पुगेको छ । दलित महिला भएको आधारमा विकलाई दिएपनि पुरस्कार विवादमा आउने थिएन । गाउँपालिकाको मनोमानीका कारण पुरस्कार मात्र होइन गाउँपालिका समेत विवादमा तानिएको हो ।

शिक्षा शाखा प्रमुख साउद भने गाउँपालिकाको निर्णयको आधारमै पुरस्कार दिएको भन्दै पन्छिन खोज्छन् । निर्णय विवादमा परेपछि अब भने नियमित र ग्रेड वृद्धि दुबै तर्फका उत्कृष्टलाई सम्मान गर्ने मापदण्ड बनाउन लागेको उनी सुनाउँछन् । यता प्याउली स्कुलका केही शिक्षकहरु भने आफूहरुले ‘पावर सो’ गरेको भन्दै हिँड्न थालेका छन् । अधिकारको दुरुपयोग गरेर टिप्पणी आदेशका भरमा मनमौजी गर्ने अरुण गाउँपालिकाको निर्णयमाथि तत्काल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरी कारबाहीको दायरामा ल्याउन जरुरी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ