आजदेखि लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान , दैनिक आधा दर्जन बालबालिका माथि याैनहिंसा


काठमाडौं । हरेक वर्ष मनाइने गरिएको लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि सुरु भएको छ । देशभरि लैंगिक हिंसाविरुद्ध विविध कार्यक्रम गरी अभियान मनाउन लागिएको छ ।

देशभर दैनिक ६ बालबालिकामाथि यौन हिंसा हुने गरेको छ । प्रहरीको तथ्यांकअनुसार एक वर्षमा भएका तीन हजार ४०३ यौनजन्य हिंसाका पीडितमध्ये ६३.८% अर्थात् दुई हजार १७२ बालिका छन् । ८८.२% पीडक पीडितका नाता–सम्बन्ध र चिनजानका व्यक्ति छन् ।

यौनजन्य हिंसाको नाता–सम्बन्धको आधारमा प्रहरीले गरेको एक वर्षको विश्लेषणले लैंगिक हिंसासम्बन्धी भयानक चित्रण गरेको हो । महिला तथा बालबालिकाको सुरक्षामा आफन्तहरू नै चुनौती बनेकोमा प्रहरी अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।

आर्थिक वर्ष ०७९/८० मा तीन हजार तीन सय ५७ यौनजन्य घटनामा तीन हजार ६ सय ७८ अभियुक्त पक्राउ परेका थिए । जसमा ८८.२ प्रतिशत अर्थात् तीन हजार दुई सय ४३ जना चिनजानका अभियुक्त छन् । जसमा आठ सय १० जना पारिवारिक नाताकै छन् । त्यस्तै, ६२ श्रीमान्, नौ सय ५३ जना छिमेकी, ६७ जना शिक्षकबाट यौनजन्य हिंसा भएको छ । कुल आरोपितमध्ये चार सय ३५ जना मात्र अपरिचित छन् । यौनजन्य हिंसामा जबर्जस्ती करणी, बाल यौन दुव्र्यवहार, अप्राकृतिक मैथुनजस्ता घटना पर्दछन् ।

महिला हिंसाको अर्काे डरलाग्दो तथ्यांक के छ भने यौनजन्य हिंसामा पर्नेमा ६३.८ प्रतिशत बालिका छन् । एक वर्षको अवधिमा १० वर्षभन्दा कम उमेरका तीन सय ७५ बालबालिका यौनजन्य हिंसामा परेका छन् । त्यस्तै, ११ देखि १६ वर्ष उमेरका एक हजार तीन सय ९३ छन् । १६ देखि १८ वर्ष उमेरका चार सय चारजना छन् ।

एक वर्षमा तीन हजार चार सय तीनजना पीडित भएकोमा दुई हजार एक सय ७२ जना १८ वर्षभन्दा कम उमेरका बालबालिका छन् । जसअनुसार दैनिक ६ बालबालिकामाथि यौन हिंसा हुने गरेको छ । थोरै मात्र घटनाको उजुरी पर्ने भएकाले वास्तविक घटना अझै धेरै हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।

त्यस्तै, ३३ जना बालक एक वर्षमा यौन हिंसाको सिकार भएका छन् । पीडकमध्येमा भने १९ देखि २५ वर्ष उमेरका धेरै छन् । तीन हजार ६ सय ७८ पीडकमध्ये एक हजार दुई सय ४८ जना सो उमेर समूहका छन् । त्यसपछि २६ देखि ३५ वर्ष उमेर समूहका नौ सय ४२ जना छन् ।

शैक्षिक योग्यताको आधारमा पीडित तथा पीडक दुवै सामान्य साक्षर छन् । पीडितमध्ये दुई हजार दुई सय ३३ तथा पीडकमध्ये दुई हजार आठ सय ६२ जना छन् ।

पेसाको आधारमा पीडितमध्ये विद्यार्थी र कृषि पेसामा आबद्ध धेरै छन् । एक हजार नौ सय ५४ विद्यार्थी, सात सय ६८ कृषि पेसामा आबद्ध र चार सय ८३ जना गृहिणी छन् । पीडकतर्फ कृषि पेसामा आबद्ध एक हजार सात सय ८७, मजदुरीमा आबद्ध एक हजार एक सय ६ तथा विद्यार्थी तीन सय ९६ जना छन् ।

मधेसमा बढि हिंसा
घरेलु हिंसाका घटना मधेश प्रदेशमा उच्च रहेको प्रहरीले जनाएको छ । एक वर्षमा १६ हजार पाँच सय १९ घटना दर्ता भएकोमा चार हजार नौ सय २३ मधेश प्रदेशमा छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशमा दुई हजार आठ सय ८८, उपत्यकामा दुई हजार आठ सय १६, कोशीमा एक चार सय ७४, उपत्यकाबाहेकका बागमती प्रदेशका जिल्लामा एक हजार तीन सय ४२, सुदूरपश्चिममा एक हजार दुई सय आठ तथा कर्णालीमा आठ सय ५५ घटना रहेका छन् । घरेलु हिंसाका ९९ प्रतिशत घटनामा प्रहरीमै मिलापत्र हुने गरेका छन् ।

पीडित र पीडक कस्ता ?

यौनजन्य हिंसाका पीडकमध्येमा १९ देखि २५ वर्ष उमेरका धेरै छन् । ३६ सय ७८ पीडकमध्ये १६ सय ४१ जना (१२४८ पुरुष र १५ महिला) सो उमेर समूहका छन् ।

त्यसपछि २६ देखि ३५ वर्ष उमेर समूहका ९५५ जना (९४९ पुरुष र ६ महिला) छन् । १० वर्षमुनिका २ बालक, ११–१६ उमेर समूहका २०६ (२०५ बालक, १ बालिका) र १७–१८ वर्ष उमेर समूहका १७५ (१७१ किशोर, ४ किशोरी) छन् ।

त्यस्तै, ३६–४५ उमेर समूहका ५६२ (५५५ पुरुष, ७ महिला) र ४६–५९ उमेर समूहका ३४८ पुरुष अभियुक्त छन् । यौनजन्य हिंसाका १५९ अभियुक्त ६० वर्षभन्दा माथिका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com