ब्राम्हण समूहमा लैंगिक हिंसा बढी


काठमाडौं ।  लैंगिक हिंसा विरुद्ध मनाईले १६ दिने अभियान जारी छ । यस बिचमा थुप्रै कार्यक्रमहरू भएका छन् । तर, राज्यले भने यसको विषयमा जति चासो दिनुपर्ने थियो दिन नसकेको यस क्षेत्रमा आवद्ध व्यक्तिहरूले गुनासो गरेका छन् । 

विगतमा १६ दिने अभियानमा राजधानीमा र्याली निकालेको सरकारले यस वर्ष निकाल्न सकेन । राष्ट्रघातीहरूले चलाएको आन्दोलनलाई विशेष सुरक्षा दिएको सरकारले विश्वभर चासोका रुपमा हेरिएको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानमा निकाल्ने र्यालीलाई सुरक्षा दिन सकेन । 

हरेक वर्ष लैंगिक हिंसाका घटनाहरू बढी रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिर्पोट हेर्दा ०७९ साउन १ देखि हाल सम्म ७ हजार ४ सय ९४ जना हिंसामा परेका छन् । हिंसा पीडित पुरुष भन्दा महिला बढी छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकद्वार संकट व्यवस्थापन केन्द्र ( ओसिएमसी ) सञ्चालित ७२ वटा अस्पतालहरूबाट पीडितलाई सेवा दिदै आएको छ । तर, प्रहरी, महिला आयोगले आवश्यक समन्वय नगर्दा एकद्वार प्राणालीमा काम हुन सकेको छैन । 

एक वर्षका विवरण हेर्दा मानसिक दुर्व्यवहारबाट हिंसामा परेका १३४० जना छन् । त्यस्तै स्रोत साधनबाट बञ्चित ५८९ जना, परम्परागत हिंसा ११७, शारीरिक हिंसा २१८५, बालविवाह १३२, यौन हिंसा १०२३, बलात्कारको घटना १५१२ जना रहेका छन् । 

विशेषगरी हिंसामा पर्नेहरू ब्राम्हण समूहका बढी छन् । ब्राम्हण समूहका १७२६ जना हिंसामा परेको तथ्यांक छ । त्यस्तै जनजाति १७०८, दलित १५६७, मधेसी ९३५ र मुस्लिम २८४ जना हिंसामा परेकाे बरिस्ठ कम्युनिटी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्मचार्यले बताइन् ।

देशभर दैनिक ६ बालबालिकामाथि यौन हिंसा हुने गरेको छ । प्रहरीको तथ्याङ्कअनुसार एक वर्षमा भएका तीन हजार ४०३ यौनजन्य हिंसाका पीडितमध्ये ६३.८% अर्थात दुई हजार १७२ बालिका छन् । ८८.२% पीडक पीडितका नाता – सम्बन्ध र चिनजानका व्यक्ति छन् ।

आर्थिक वर्ष ०७९/८० मा तीन हजार तीन सय ५७ यौनजन्य घटनामा तीन हजार ६ सय ७८ अभियुक्त पक्राउ परेका थिए । जसमा ८८.२ प्रतिशत अर्थात् तीन हजार दुई सय ४३ जना चिनजानका अभियुक्त छन् । जसमा आठ सय १० जना पारिवारिक नाताकै छन् । त्यस्तै, ६२ श्रीमान्, नौ सय ५३ जना छिमेकी, ६७ जना शिक्षकबाट यौनजन्य हिंसा भएको छ । कुल आरोपितमध्ये चार सय ३५ जना मात्र अपरिचित छन् । यौनजन्य हिंसामा जबर्जस्ती करणी, बाल यौन दुर्व्यवहार, अप्राकृतिक मैथुनजस्ता घटना पर्दछन् ।

यौनजन्य हिंसाका पीडक मध्येमा १९ देखि २५ वर्ष उमेरका धेरै छन् । ३६ सय ७८ पीडक मध्ये १६ सय ४१ जना (१२४८ पुरुष र १५ महिला) सो उमेर समूहका छन् ।

त्यसपछि २६ देखि ३५ वर्ष उमेर समूहका ९५५ जना (९४९ पुरुष र ६ महिला) छन् । १० वर्षमुनिका २ बालक, ११–१६ उमेर समूहका २०६ (२०५ बालक, १ बालिका)१७–१८ वर्ष उमेर समूहका १७५ (१७१ किशोर, ४ किशोरी) छन् ।

त्यस्तै, ३६–४५ उमेर समूहका ५६२ (५५५ पुरुष, ७ महिला)४६–५९ उमेर समूहका ३४८ पुरुष अभियुक्त छन् । यौनजन्य हिंसाका १५९ अभियुक्त ६० वर्षभन्दा माथिका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ