एकसाथ तीन ठूला अस्पतालको मालिक बन्दै डा. उपेन्द्र महतो


काठमाडौं । नेपाल मेडिसिटी अस्पतालका संस्थापक डा. उपेन्द्र महतो एकसाथ तीन वटा ठूला अस्पतालको मालिक बन्न लागेका छन् । उनले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको अधिकांश सेयर खरिद गरेर एकसाथ तीनवटा अस्पतालको मालिक बन्न लागेका हुन् ।

डा. महतोको स्वामित्वमा मेडिसिटी अस्पतालका अलवा मेडिकेयर अस्पताल समेत रहेको छ । अब धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल खरिद गरेसँगै उनी तीनवटा ठूला अस्पतालको मालिक एकसाथ बन्नेछन् । डा. महतो निकट उच्च स्रोतका अनुसार उनले ग्रान्डीको शतप्रतिशत सेयर खरिदको प्रयास गरिरहेका छन् । एक दुई दिनभित्रै डा. महतोको स्वामित्वमा ग्रान्डी अस्पताल आउने प्रवल सम्भावना रहेको उनी निकट स्रोतको दाबी छ ।

गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष समेत रहेका डा. महतो मधेश प्रदेशमा पनि मेडिसिटी अस्पताल खोल्ने तयारीमा जुटेका छन् । उनको परिवारले जनकपुरमा ४ देखि ५ सय शय्याको अस्पताल खोल्न प्रयाप्त जग्गा खरिद गरिसकेको छ ।

झन्डै १५ अर्ब लगानीमा स्थापना गरिएको ललितपुरको नख्खु भैसेपाटी नेपाल मेडिसिटी अस्पतालले अहिले राम्रै आम्दानी गरिरहेको छ । मेडिसिटी अस्पतालको क्षमता १ हजार ५० शय्या हो । अहिले ७ सय ५० शय्या सञ्चालनमा रहेको छ ।मेडिसिटीको सेवामा पनि पछिल्लो समय उल्लेख्य सुधार आएको छ । त्यसैबाट हौसिएर डा. महतोको परिवारले मधेश प्रदेशको जनकपुरमा अर्को मेडिसिटी अस्पताल खोल्न लागेको छ ।

ग्रान्डी खरिद गरेर जनकपुरमा मेडिसिटी अस्पताल खोलेपछि डा. महतो एकसाथ ४ वटा ठूला अस्पतालको मालिक बन्नेछन् । डा. महतो नेपालमा धेरै अस्पताल सञ्चालन गरेर रेकर्ड राख्ने तयारीमा देखिन्छन् । भैसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पताललाई अझै सुविधासम्पन्न बनाउने तयारीमा पनि डा. महतो जुटेको उनीनिकट स्रोतले स्वास्थ्य लाइभलाई जनायो ।

वीरगञ्जस्थित बयोधा मेडिसिटी र सिराहा कर्जन्हास्थित डेढ सय शय्याको  फुलकुमारी महतो मेमोरियल अस्पताल पनि डा. महतोको स्वामित्वमा रहेको छ ।  यसर हेर्दा अहिले नै ४ वटा अस्पताल उनको स्वामित्वमा देखिन्छ । ग्रान्डी र जनकपुरको मेडिसिटी थपिएपछि डा. महतोको स्वामित्वमा ६ वटा अस्पताल हुन्छ । काठमाडौं र ललितपुरका थप अस्पताल समेत आफ्नो स्वामित्वमा ल्याउने प्रयासमा उनी लागेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## नेपाल मेडिसीटी अस्पताल, #ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, #डा. उपेन्द्र महतो, #मेडिकेयर अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com