ओम्नीका मतियार आईटी माफिया सुनिल: जागिर सरकारी, काम निजी कलेजमा


काठमाडौं । ओम्नीका मतियार सुनिल पौडेल सरकारको अनुमति नै नलिई निजी कलेजमा काम गर्ने तथ्य फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार उनी राष्ट्रिय सूचना प्रविधि केन्द्रमा करारमा काम गर्दा निजी कलेजमा काम गर्ने गरेको खुलेको हो ।

सुनिल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा आएर विकल पौडेलको काम गरिदिने र निजी कलेजमा गएर काम गर्ने गरेको देखिन्छ’ अख्तियार उच्च स्रोतले स्वास्थ्य लाइभसँग भन्यो, विकललाई सघाउने र अन्य बेला निजी कलेजमा काम गर्ने गरेको प्रमाणहरू उपलब्ध भएका छन् ।’, स्रोतबाट स्वास्थ्य लाइभलाई प्राप्त तथ्य र प्रमाण अनुसार साविक खैरेनीटार-४ तनहुँमा जन्मिएका सुनिल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा जागिर खाइरहेकै अवस्थामा विभिन्न निजी कलेजमा काम गर्ने गरेको देखिन्छ ।

भ्रष्टाचार मुद्दा लागेर नेपाल टेलिकमको प्रबन्ध निर्देशकबाट निलम्बित सुनिल धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ्ग कलेज, नयाँ बानेश्वरको हिमालय इन्टिच्युट अफ साईन्स एण्ड टेक्नोलोजी, कालिमाटीको काठमाडौं इन्जिनियरिङ्ग कलेज र सितापाइलाको एक्मी इन्जिनियरिङ्ग कलेजमा काम गरेको स्वास्थ्य लाइभलाई प्राप्त प्रमाणबाट खुल्न आउँछ । उनी सोही अवधिमा हुलाक सेवा विभागमा समेत कार्यरत भएको खुलेको हो ।

करारमा सरकारी सेवामा छिरेपछि सरकारसँग स्विकृति नलिई निजी कलेजमा काम गर्न नपाउनेमा सुनिलले बकाइदा निजी इन्जिनियरिङ्ग कलेजमा काम गरेर लाखौं रुपैयाँ पारिश्रमिक लिएको देखिन्छ । यो विषय समेत अख्तियारमा पुगेको छ । अहिले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगर घर नम्बर १२० मा बस्दै आएका सुनिल विकलको चेला हुन् । विकलको पछाडि लागेर आईटीका ठेक्कामा सेटिङ गर्दा उनी पनि अख्तियारको फेला परेका छन् । विकल र सुनिलमाथि अख्तियारले एउटा-एउटा भ्रष्टाचारको मुद्दा दायर गरिसकेको छ । अकुत सम्पत्ति आर्जनमा अर्को मुद्दा ठेल्ने अख्तियारको तयारी देखिन्छ ।

सूचना प्रविधि केन्द्रमा छिरेका पर्वते विकल पौडेलले सुनिललाई सूचना प्रविधि केन्द्रमा करारमा नियुक्ति दिलाएका थिए । उनी विकलको सहयोगी जस्तो भएर काम गर्दै आएका थिए । सुनिललाई विकल कै डिजाइनमा सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक र नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाइएको हो ।

सुनिल राष्ट्रिय सूचना प्रविधि केन्द्र कार्यकारी निर्देशक बन्दा गोकुल प्रसाद बाँस्कोटा सञ्चारमन्त्री र सचिव महेन्द्रमान गुरुङ रहेका थिए । उनी टेलिकमको प्रबन्ध निर्देशक हुँदा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सचिव डा. बैकुण्ठप्रसाद अर्याल रहेका थिए । सुनिललाई राष्ट्रिय सूचना प्रविधि केन्द्र र नेपाल टेलिकम दुबै निकायको प्रमुख बनाउँदा मापदण्ड फेरेर अनुकूल बनाइएको थियो । उक्त काम विकलको थियो । विकल र सुनिल रातो घरको हिरासतमा पुग्दा उनीहरुलाई बोकेर हिँड्नेहरू भने फुक्काफाल छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #निलम्बित नेपाल टेलिकमका एमडी सुनिल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com