टेरामक्स घोटालामा स्वास्थ्यमन्त्री बस्नेतसहित यी भीआईपीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अन्तिम तयारी


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार क्षेत्रको बहुचर्चित टेरामक्स प्रविधि घोटालामा भ्रष्टाचार मुद्दा लाने अन्तिम तयारी थालेको छ । सूचना प्रविधिका घोटालामा कठोर रूपमा प्रस्तुत भइरहेको अख्तियारले बोलीचालीको भाषामा ठूला माछा जोडिएको टेरामक्स घोटालामा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो ।

अख्तियारले आईटी माफिया विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अहिलेसम्म कै ठूलो बिगो हुने देखिएको दूरसञ्चार क्षेत्रको टेरामक्स प्रविधि घोटालामा उनीहरूलाई संरक्षण गर्नेहरूमाथि भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो । ३ अर्बको टेरामक्स प्रविधि घोटालामा अख्तियारले निकै मिहिन र गहन ढंगले अनुसन्धान गरेको स्रोतको दाबी छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित झन्डै १ दर्जन भीआईपी जोडिएको टेरामक्स प्रविधि घोटालामा अख्तियारले अनुसन्धानलाई अन्तिम चरणमा पुऱ्याएको छ । अख्तियार स्रोतका अनुसार टेरामक्समा बहालवाला स्वास्थ्यमन्त्री बस्नेतसहित पूर्वसञ्चारमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की र गोकुल बाँस्कोटा पनि जोडिएका छन् । कार्की र बाँस्कोटा दुबैजना अहिले प्रतिनिधिसभा सदस्य रहेका छन् ।

टेरामक्स प्रविधि घोटालामा तत्कालीन सञ्चार सचिवहरु डा. बैकुण्ठप्रसाद अर्याल (हाल मुख्यसचिव) र महेन्द्रमान गुरुङ (हाल प्रमुख सूचना आयुक्त)सँग पनि अख्तियारले बयान लिइसकेको छ । त्यस्तै सञ्चार मन्त्रालयका तत्कालीन सहसचिव विनोद प्रकाश सिंह (हाल सामान्य प्रशासन सचिव) र तत्कालीन दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य धनराज ज्ञवाली (कानुन सचिवबाट अवकाश)लाई पनि टेरामक्स प्रविधि घोटालामा अख्तियारले बयान लिइसकेको हो ।

अख्तियारले टेरामक्स प्रविधि घोटालामा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम खनालसँग समेत बयान लिएको छ । यसरी हेर्दा टेरामक्स घोटलामा सञ्चार मन्त्रालयका ३ पूर्वमन्त्री, २ पूर्वसचिव, कानुन मन्त्रालयका १ पूर्वसचिव, सञ्चार मन्त्रालयका तत्कालीन १ सहसचिव, नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वयको प्रत्यक्ष संलग्नता देखिन्छ । यी सूचना प्रविधि क्षेत्रको घोटालामा जोडिएका ठूला माछा हुन् । ठूला माछा समात्न अख्तियारले गर्ने हिम्मतलाई धेरैतिरबाट प्रशंसा हुँदै आएको छ ।

हालका स्वास्थ्यमन्त्री बस्नेत सांसदद्वय कार्की र बाँस्कोटा, मुख्यसचिव डा. अर्याल, प्रमुख सूचना आयुक्त गुरुङ, सामान्य प्रशासन सचिव सिंह, पूर्वकानुन सचिव ज्ञवाली, प्राधिकरणका पूर्वअध्यक्षद्वय झा र खनाल अख्तियार पुगेर टेरामक्स प्रविधि घोटालामा बयान दिइसकेको अख्तियार स्रोतले पुष्टि गरेको छ ।सञ्चार मन्त्रालयका तत्कालीन उपसचिव मुकुन्द शर्मा, शाखा अधिकृत दुर्गा लम्सालसहित झन्डै साढे २ दर्जन व्यक्तिले टेरामक्स प्रविधि घोटालामा बयान दिइसकेका छन् ।

टेरामक्स प्रविधि घोटालामा संलग्न प्राधिकरणको विभिन्न तहमा आवद्ध अच्युतानन्द मिश्र, विजय कुमार रोय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, संदिप अधिकारी, सुरेन्द्रलाल हाडा, कैलाश कार्की पनि अख्तियार पुगेर बयान दिइसकेका छन् । त्यस्तै मीन प्रसाद अर्याल, दीपेश आचार्य, अर्जुन घिमिरे, सूर्यप्रसाद लामिछाने, टिकाप्रसाद उप्रेती, राममणि दुवाडी, टेकनाथ आचार्य, चूडामणि चौलागाई र हेमकुमार श्रेष्ठसहितले टेरामक्स घोटालामा बयान दिएका हुन् । उनीहरूविरुद्ध भ्रष्टाचार  मुद्दा दायर गर्ने अन्तिम तयारी अख्तियार रहेको बुझिन्छ ।

सुशासनको नारा दिएर सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टेरामक्स प्रविधि घोटालामा अख्तियारलाई बयान दिएका स्वास्थ्यमन्त्री बस्नेतसँग एउटै क्याबिनेटमा बस्दा सुशासनको खिल्ली उडिरहेको चर्चा छ । त्यसैले उनले स्वास्थ्यमन्त्री बस्नेतलाई जसरी पनि हटाउन खोजेको पाइन्छ । त्यस्तै मुख्यसचिव डा. अर्याललाई पनि सारथि बनाएर हिँड्दा सरकारको सुशासनमाथि धब्बा लागेको देखिन्छ । प्रचण्डमाथि स्वास्थ्यमन्त्री बस्नेत र मुख्यसचिव अर्याललाई हटाएर मात्र मन्त्रिपरिषद्को बैठक राख्न दबाव परिरहेको छ । यता अख्तियारलाई पनि ठूलो माछा समात्न नैतिक दबाब परिरहेको बुझ्न सकिन्छ ।

अख्तियारले टेरामक्स प्रविधि घोटालामा संलग्न जतिसुकै ठूला माछा भएपनि छाड्न हुँदैन । यसले अख्तियारको साख र अस्तित्वमाथि नै प्रश्न उठ्छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अख्तियार प्रमुख प्रेमकुमार राईको एजेण्डा मिलेकाले टेरामक्स प्रविधि घोटालामा चाँडै भ्रष्टाचार मुद्दा दायर हुने विश्वास लिन सकिन्छ ।

टेरामक्स प्रविधिमा भ्रष्टाचार भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले समेत थप अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ । भ्रष्टाचारमा मुद्दा दायर गर्न निर्देशन दिएको समय व्यतित भइसक्दा पनि भ्रष्टाचार मुद्दा दायर नगरेपछि समितिले थप चासो देखाउन थालेको छ । यसले पनि टेरामक्स प्रविधि घोटालामा भ्रष्टाचार मुद्दा दायर गर्न अख्तियारलाई थप दबाब परेको हो ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ## सचिव, #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #गोकुल बाँस्कोटा, #ज्ञानेन्द्रबहादुर कार्की, #टेरामक्स प्रविधि, #दिगम्बर झा, #नेपाल दूरसञ्चार प्राधिकरण, #पुरुषोत्तम खनाल, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #महेन्द्रमान गुरुङ, #विनोदप्रकाश सिंह, #सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com