निःशुल्क उपचारका लागि आफू लक्षित वर्गमा पर्ने प्रमाण देखाए पुग्छ, भनसुन गर्नु पर्दैन: बालेन शाह


काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले लक्षित वर्गको पहिचान हुने कागज भए निःशुल्क स्वास्थ्योपचार सेवा लिन भनसुन गर्नु नपर्ने प्रणाली विकास गरिएको बताएका छन् । बालेनले स्वास्थ्य सेवा प्राप्त गर्ने हक उपयोग गर्न लक्षित वर्गलाई आग्रह गरेका हुन् ।

भिडियो सन्देशमार्फत बालेनले  भनेका छन्, ‘विगतमा कार्यान्वयनमा नआएको व्यवस्था कार्यान्वयन गर्न महानगरपालिकाले विकास गरेको प्रणालीमा ५२ वटा अस्पताल आवद्ध भएका छन् । यसमा ७४४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् ।’

‘राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले नागरिकलाई दिएको स्वास्थ्य सम्बन्धी हक हुन् । पारदर्शी प्रणालीबाट हामी यसको कार्यान्वयनमा छौँ ।’ बालेनले यसको गलत प्रयोग हुने अवस्थाप्रति संकेत गर्दै भने, ‘यदि कसैले झुटो विवरण पेश गरेर उपचार गरेको पाइए, उपचार गराउने (विरामी) र उपचार गरिदिने (अस्पताल) दुवैलाई कारवाही हुनेछ ।’

लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) को निःशुल्क उपचारका लागि ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । यसको कार्यान्वयनका लागि कार्यविधिले तोकेबमोजिम फागुन १ गतेदेखि सेवा उपलब्ध गराउन स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्र भएका सबै अस्पतालहरुलाई पत्राचार गरिसकेको छ ।

लक्षित वर्गको निःशुल्क उपचार सम्बन्धी थप जानकारी लिनका लागि तलको लिङ्क क्लिक गर्नुहोस् ।

http://freehealth.kathmandu.gov.np

 

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #निःशुल्क उपचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com