अख्तियारले एक्सन लिनु अगाडि नै स्वास्थ्यमन्त्री हटाउने तयारीमा प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । टेरामक्स प्रविधि घोटालामा अख्तियारले एक्सन लिनु अगाडि नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई हटाउने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेको बुझिएको छ । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार एक हप्ताभित्रै स्वास्थ्यमन्त्री बस्नेत बर्खास्तीमा पर्ने सम्भावना बढेको हो ।

स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक रुपमै टेरामक्समा भ्रष्टाचार मुद्दा दायर गर्ने संकेत गरेपछि प्रधानमन्त्री दाहाल स्वास्थ्यमन्त्री बस्नेतलाई कुनै हालतमा हटाउने पक्षमा उभिएका छन् । यसकाे म्यासेज उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत दिइसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा कांग्रेस सभापति देउवाले स्वास्थ्यमन्त्री बस्नेतलाई हटाउन ‘ग्रीन सिग्नल’ दिइसकेको स्रोतको दाबी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो क्याबिनेटमा रहेको मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउँदा राम्रो म्यासेज नजाने भन्दै प्रधानमन्त्री दाहाल स्वास्थ्यमन्त्री बस्नेतलाई जसरी पनि हटाउने पक्षमा छन् । कांग्रेसले नमाने बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेको सुईको पाएपछि देउवाले ‘सहमति’ दिएको बालुवाटार स्रोतको दाबी छ । केही दिनभित्रै स्वास्थ्यमन्त्री बस्नेत पदबाट हट्ने प्रधानमन्त्री प्रचण्ड निकट स्रोतको ठोकुवा छ ।

यता कांग्रेस र माओवादीबीच गृह र अर्थ मन्त्रालय साटेर सबै मन्त्री हेरफेर गर्ने गरी छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड एक्सनमा उत्रिने र काँध फेर्ने मुडमा पुगेपछि देउवाले मन्त्रिमण्डल पुनर्गठनका लागि कांग्रेस बाधक नरहेको सन्देश दिएका छन् । प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्किएलगत्तै स्वास्थ्यमन्त्री बस्नेत पनि हट्ने र अरू मन्त्री पनि साटिने बालुवाटार स्रोतको भनाइ छ । यसले पनि स्वास्थ्यमन्त्री बस्नेतको जागिर धेरै दिन छैन भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #टेरामक्स, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com