स्वास्थ्यका चन्द्र घिमिरेलाई रोकेर मुख्यसचिव बनेका बैरागीले बैकुण्ठलाई बाटो छाड्दा यतिसम्म भयो


समाचार टिप्पणी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा सचिव दिनेशकुमार घिमिरेलाई मुख्यसचिव बनाउने बचन दिइसकेका थिए । २०८० असार १४ गते तत्कालीन मुख्यसचिव शंकरदास बैरागी खनाल ३ वर्षे सेवा अवधिका कारण घर जाने भएपछि घिमिरेको थाप्लोमा मुख्यसचिव आउने पक्कापक्की थियो । स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्रीको कार्यकक्षमै बोलाएर घिमिरेलाई ‘तपाईं जलस्रोत, विद्युत व्यपार हरेक कुरामा विज्ञ र जान्ने हुनुहुँदोरहेछ तपाईंलाई नै मुख्यसचिव बनाउँछु ढुक्क हुनुहोस्’ भनेका थिए ।

मुख्यसचिव खान पाइने भो भनेर घिमिरे ‘मुख मिठ्याउँदै’ विदेशतिर लागे तर स्वदेशमा ‘गेम’ बदलियो । बैरागीभन्दा १४ दिन अगाडि घर जान लागेका सचिव डा. बैकुण्ठप्रसाद अर्याललाई सेटिङ मिलाएर मुख्यसचिव बनाइयो । बैरागीलाई हुँदै नभएको पद सिर्जना गरेर मुलुकलाई अतिरिक्त व्यभार थपिने गरी राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर खल्तीमा राजीनामा बोकेर हिँडेका अर्याललाई मुख्यसचिव बनाइयो ।

बहुचर्चित एमसीसी र सञ्चार मन्त्रालयमा हुँदा आरजु राणा देउवाको योजनामा ज्ञानेन्द्रबहादुर कार्कीलाई विश्वासमा लिएर काम गरेका अर्यालले बैरागीलाई मन्त्री सरहको पदमा ‘सेटल’ गरेर घर जाने अघिल्लो दिन (जेठ ३२)मा मुख्यसचिव पड्काउन सफल भए । प्रधानमन्त्री प्रचण्डले बचन दिएका घिमिरे हेरेको हेरै भए । घिमिरे पूरा अवधि पनि सचिव नखाई राजीनामा दिएर हिँडे । प्रधानमन्त्री प्रचण्ड पनि देशी-विदेशी शक्तिसामु झुक्न बाध्य भए ।

खल्तीमा राजीनामा बोकेर हिँडेका अर्याललाई मुख्यसचिव पद ‘लट्री’ पर्नुको पछाडि एमसीसी र एनसेलको मुख्य भूमिका रहेको चर्चा छ । त्यसमा बुढानिलकण्ठ फ्याक्टर पनि उत्तिकै निर्णायक देखिन्छ । अख्तियारको हिरासतमा रहेका आईटी माफिया पौडेलबन्धुद्वय विकल र सुनिललाई कानुन नै फेरेर महत्त्वपूर्ण पदमा नियुक्ति दिलाउन तत्कालीन सञ्चार सचिव रहेका अर्यालको महत्त्वपूर्ण भूमिका रहेको थियो । विकललाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा पुनः दोहोऱ्याउनका लागि कानुन फेर्ने प्रस्ताव अर्थ मन्त्रालय पठाउँदा तत्कालीन सचिव अर्यालले ‘टोकन मनी’ १५/२० लाख लिएको चर्चा छ । त्यसको केही प्रमाण पछिल्लो समय सञ्चार माध्यममा समेत छताछुल्ल भएको छ । पुनर्नियुक्तिको बेला त ठूलै लाभ लिएको चर्चा अझै सञ्चार मन्त्रालयतिर सेलाएको छैन । सुनिललाई नेपाल टेलिकमको एमडी बनाउँदा त्योभन्दा ठूलो खेल भएको सुनिन्छ ।

अझ रोचक कुरा त  सामान्यतः मन्त्रीले सचिव लाने गर्छन् तर ज्ञानेन्द्रलाई सञ्चारमा लान तत्कालीन सचिव बैकुण्ठले भूमिका खेलेको समेत टिप्पणी हुने गरेको छ । कानुनमन्त्री ज्ञानेन्द्रसँग अर्थमा सँगै काम गरेकाे र सहज भएकाले सञ्चारमा ल्याउन उनी सक्रिय भएर लागेको र ल्याएरै छाडेको कुरा निजामती वृत्तमा सुन्ने गरिन्छ । अर्थमा हुँदा एमसीसीको हस्ताक्षर गर्न ज्ञानेन्द्र र बैकुण्ठ एकसाथ अमेरिका गएका थिए ।

बैरागीले अर्याललाई मुख्यसचिव सजिलै छोड्नुको कारण पनि एउटा सञ्चारको नियुक्ति जोडिन्छ । स्रोतका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हालमा कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेल बैरागीका सालीका छोरा हुन् । सुनिल र विकलले आईटी उपकरण खरिदमा कुस्त कमाएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा प्रदीपलाई लाने र विकल र सुनिललाई लाभ पुऱ्याउनमा बैरागी-अर्याल ग्याङको पुरै सेटिङ भएको सहजै अनुमान लगाउन सकिन्छ । अहिले मन्त्रिपरिषद्बाट निर्णय भएर खारेजीमा परेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित सबै कर्मचारीको म्याद असार मसान्तसम्म थपाउन मुख्यसचिव अर्यालले मुख्य भूमिका खेलेको देखिन्छ ।

अहिलेको बहुचर्चित टेरामक्स प्रविधि घोटालामा मुछिएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएपछि मुख्यसचिव अर्याल विवादमा परेका छन् । प्रशासन र सुशासनको नेतृत्व गर्नुपर्ने बहालवाला मुख्यसचिव नै अर्बौंको घोटालामा अख्तियार पुगेर बयान दिएपछि उनीमाथि गम्भीर नैतिक प्रश्न उठ्न थालेको छ । आफ्नो नेतृत्वमाथि नै गम्भीर प्रश्न उठ्दा समेत मुख्यसचिव अर्यालले राजीनामा दिएका छैनन् । उनी निर्लज्ज भएर मुख्यसचिव जस्तो गरिमामय पदमा बसिरहेका छन् । यसले सिंगो निजामती प्रशासनको नूर गिरेको पाइन्छ । स्वास्थ्यका चन्द्र घिमिरेलाई रोकेर मुख्यसचिव बनेका बैरागीले बैकुण्ठलाई बाटो छोड्दा यतिसम्म घटना हुन पुगेको देखिन्छ ।

त्यसो त बैरागी पनि स्वभाविक ढंगले मुख्यसचिव भएका हैनन् । स्वास्थ्य मन्त्रालयको सचिवको समेत जिम्मेवारी सम्हालेका चन्द्र घिमिरेलगायतलाई चित् खुवाएर उनी मुख्यसचिव बन्न सफल भएका हुन् । तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीले पूरा अवधि खाएको भए बैरागी मुख्यसचिव हुन पाउने थिएनन् । त्यसको स्वभाविक दावेदार घिमिरे हुन्थे तर कार्तिक १० गतेसम्म मुख्यसचिवमा बहाल रहनु पर्ने रेग्मी असोज १५ मै उक्त पद छोड्दा बैरागीले मुख्यसचिव फुत्काए ।  त्यसपछि बेलायतको राजदूत बनेर गएका रेग्मी अपमानजनक तरिकाले हटाइए । उनी जसरी आए त्यसरी नै गए ।

मुख्यसचिवको ‘सिस्टम’ भत्काउने मुख्य अपजस भने सोमलाल सुवेदीलाई जान्छ । उनी मुख्यसचिवको पद बीचैमा छाडेर एडिबीमा सहसचिव सरहको पदमा जागिर खान जाँदा निजामती प्रशासन र मुख्यसचिव हुने नियमित प्रक्रिया नै भताभुंग भयो । लोकदर्शनलाई मुख्यसचिव बनाउन उनी राजीनामा नै नदिई एडिबीको फिलिपिन्सको मनिलास्थित कार्यालयमा जागिर खान गए । किनकी सोमलालले राजीनामा दिँदा धनबहादुर तामाङ मुख्यसचिव बन्थे र लोकदर्शको बाटो बन्द हुन्थ्यो । सचिवबाट धनबहादुरले अवकाश पाएपछि मात्र उनले राजीनामा दिए अनि लोकदर्शनलाई मुख्यसचिव बन्न मिल्ने गरी तिथि मितिसहित हिसाब गरेर ‘जस्केला’बाट राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव बनाइयो ।

कहिले लोकदर्शन र शंकरदासको नाममा त कहिले बैकुण्ठको नाममा निजामती प्रशासनको सर्वोच्च पदलाई ‘भकुण्डो’ बनाउने काम जारी छ । यसले उक्त पद धेरै सस्ताे र समस्याग्रस्त बन्न थालेको टिप्पणी हुन थालेको हो । यसलाई बेलैमा ध्यान नदिने हो भने निजामती प्रशासन चरम बेेथितिको भुमरिमा फस्ने निश्चित छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #टेरामक्स, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल, #मुख्यसचिव नेपाल सरकार, #राजेन्द्रकिशोर क्षेत्री, #लोकदर्शन रेग्मी, #शंकरदास बैरागी खनाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ