सम्पत्ति छानबिनमा परेका कर्मचारीलाई किताबखानाले दिन थाल्यो सहजै विवरण
काठमाडौं। राष्ट्रिय किताबखानले सम्पत्ति छानबिन आयोगको दायराभित्र परेका कर्मचारीलाई सहजै सेवा उपलब्ध गराउन थालेको छ। किताबखानाले ‘घरबाट काम, हत्केलामा सेवा’ डिजिटल प्रविधि मार्फत सेवा प्रदान गरेको हो।
श्रवणकुमार पोखरेलले नेतृत्व गरिरहेको राष्ट्रिय किताबखानाले सेवा प्रवाह र डिजीटल रूपान्तरणमा एकपछि अर्को छलाङ मार्न थालेको छ। किताबखानाले सेवा प्रवाहमा नयाँ नयाँ तरिकाको अभ्यास गर्न थालेको हो।
परम्परागत सेवा प्रवाहमा रुपान्तरण गर्न सफल निकायको पहिचान बनाएको राष्ट्रिय कितावखानाले सम्पत्ति छानबिन आयोग-२०८३ को सूचना अनुसार एक महिनाभित्र सम्पती बिवरण बुझाउनुपर्ने दायित्व भएका उपसचिवस्तर वा सो भन्दा माथिका बहाल वा निवृत्त कर्मचारी लक्षित गरी उक्त मोडलको सेवा प्रवाह गर्न सुरू गरेको छ।
आयोगमा सम्पत्ति बिवरण बुझाउनुपर्ने म्याद सीमित भएको र सार्वजनिक बिदाहरु पनि प्रसस्तै परेकाले देश बिदेश जहाँसुकै रहेका लक्षित सवै कर्मचारीले लाभ उठाउन सकुन भन्ने उद्देश्यले सेवा प्रवाहको यस्तो प्याकेज सार्वजनिक गरेको महानिर्देशक पोखरेलले जानकारी दिए। उक्त सूधार प्याकेज सरकारको १०० कार्यसुचीको दुई नम्बरमा उल्लेखित नतिजामा आधारित शासकीय प्रबन्ध (डेलिभरी बेस्ड गभर्नेन्स)को ‘स्पिरिट’ अनुसार भएको उनले बताए।
उक्त मोडलको सेवा तोकिएका कर्मचारीले बिदाका दिन समेत घरैमा बसेर ल्याटप र इन्टरनेटको प्रयोग गरि प्रविधिमा आधारित सेवा प्रवाहको व्यवस्थापन गर्ने छ्न् भने लक्षित सेवाग्राहीले पनि आफ्नै हत्केलामा (स्मार्ट मोबाइलमा) सेवा पाउने किताबखानाको जनाएको छ।
२०८३ जेठ १४ गतेबाट लगातार ४ दिन सार्वजनिक बिदा परेको समयमा यो सेवा सञ्चालन गरिएको राष्ट्रिय किताबखानाले जनाएको हो। घरैबाट इमेल, ह्वाट्सएप जस्ता विद्युतीय माध्यमको प्रयोग मार्फत ”तलवी आम्दानीको निस्सा” बहाल वा निवृत्त अनुरोधकर्ता कर्मचारीको हत्केला (स्मार्ट मोबाइल) मा पुऱ्याउने गरी ५ जना कर्मचारी उक्त ‘सर्भिस मोडल’मा स्वस्फुर्त सहभागी भएका छन्। यस अघिदेखि नै राष्ट्रिय कितबखानाले आफ्नो सम्पूर्ण सेवालाई अनुहारविहीन ‘फेसलेस’ बनाईसकेको छ। भौतिक उपस्थिति बिनै सेवा प्रदान गर्दै आएको किताबखानाले हत्केला (मोबाइल)मै सेवा दिन थालेको हो।


तपाईको प्रतिक्रिया दिनुहोस