सहकारीको बेथितिमा डिभिज सहकारी काठमाडौंको प्रमुख भएका सहसचिवहरू अनुसन्धानको ‘राडार’मा
काठमाडौं। सहकारीको बेथितिमा काठमाडौं डिभिजका प्रमुख हुँदै सहसचिव बनेकाहरू अनुसन्धानको ‘राडार’मा परेका छन्। डिभिजन सहकारी कार्यालय काठमाडौंको प्रमुख बनेर सहसचिव भएका बलराम निरौला, नारायणप्रसाद अर्याल र आनन्द सारू अनुसन्धानको ‘राडार’मा पर्ने सम्भावना देखिन्छ।
उच्च अदालतका पूर्वन्यायाधीश विनोद शर्माको नेतृत्वमा बनेको सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ ले डिभिजन सहकारी कार्यालयका तत्कालीन प्रमुखहरूमाथि पनि अनुसन्धान हुनुपर्ने औंल्याएको छ। डिभिजन सहकारी कार्यालय, काठमाडौंको प्रमुख भइसकेका बलराम निरौला, नारायणप्रसाद अर्याल र आनन्द सारू सहसचिव भइसकेका छन्। प्रतिवेदन अनुसार उनीहरू पनि छानबिनको दायरामा आउने सम्भावना उच्च छ।
उपसचिव हुँदा डिभिजन सहकारी कार्यालय, काठमाडौंको प्रमुख रहेका निरौला हालै कम्पनी रजिष्ट्रारको कार्यालय प्रमुख हुँदै गृह मन्त्रालय भित्रिएका छन्। उनी सिडिओ खान गृह मन्त्रालय भित्रिएका हुन्। निरौला काठमाडौं र ललितपुर दुबै डिभिजन सहकारी हाँक्ने कर्मचारीमा पर्छन्।
सहसचिव भएपछि सिंहदरबार चारेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बन्न पुगेका नारायणप्रसाद अर्याल पनि काठमाडौं डिभिजन सहकारीमा लामो समय बसेको देखिन्छ। अर्याल लामो समय सहकारीमा बस्ने कर्मचारीमा पर्छन्। बद्रीप्रसाद तिवारी र नारायणप्रसाद अर्याल सहकारीमा लामो समय बस्ने कर्मचारी हुन्।
दैलेखको प्रमुख जिल्ला अधिकारी (सिडिओ) आनन्द सारू उपसचिव हुँदा डिभिजन सहकारी कार्यालय, काठमाडौंमा बसेको पाइन्छ। सहसचिव भइसकेका निरौला, अर्याल र सारू सहकारी बेथिति अनुसन्धानको ‘राडार’मा परेका छन्।
शर्मा नेतृत्वको सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन लैजान निर्णय भएसँगै उनीहरू अनुसन्धानको दायरमा पर्न सक्ने सम्भावना देखन्छ। उनीहरूमाथि कसरी अनुसन्धान हुन्छ त्यो भने हेर्न बाँकी छ।
क्याटेगोरी : समाचार
ट्याग : #आनन्द सारू, #नारायणप्रसाद अर्याल, #बलराम निरौला


तपाईको प्रतिक्रिया दिनुहोस