स्वास्थ्यमन्त्री बस्नेत जस्तै अटेर मुख्यसचिव डा. अर्याल


काठमाडौं । टेरामक्स प्रविधि घोटालामा बहालवाला स्वास्थ्यमन्त्री र मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर हुन लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएर आएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्यालले राजीनामा नदिँदा यस्तो अवस्था आएको हो ।

सम्भवतः नेपालको इतिहासमै बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो । मुख्यसचिव डा. अर्याललाई अख्तियारमा बयान दिन गएको बेलै अख्तियारका उच्च अधिकारीले मार्ग प्रशस्त गर्दा राम्रो हुने सुझाव दिएका थिए । तर, उनी उल्टै अख्तियारका पदाधिकारीलाई सर्वोच्च अदालतको संवैधानिक इजलासबाट हटाउने चलखेलमा लागे । यद्यपि मुख्यसचिव डा. अर्यालको चलखेल सफल हुन सकेन ।

अख्तियार उच्च स्रोतका अनुसार विकल पौडेल र सुनिल पौडेल जस्तै मुख्यसचिव डा. अर्याललाई पनि हिरासतमा लिएर अनुसन्धान गर्नुपर्ने अवस्था छ । तर, मुख्यसचिव कै कुर्सीमा बसिरहेकाले अख्तियार ‘पर्ख र हेर’ स्थितिमा देखिन्छ । १ महिनादेखि मुख्यसचिव डा. अर्यालले अख्तियारको सुझाव लत्याएकाले अब भने एक्सन लिने अख्तियारको तयारी रहेको बुझिन्छ ।

‘टेरामक्समा आज/ भोलि नै भ्रष्टाचार मुद्दा जाने सम्भावना छ । अन्य मुद्दा पनि तयारी हालतमै छन् । उहाँले राजीनामा दिएर निजमती प्रशासनको साख र नूर गिर्न नदिँदा राम्रो हुन्छ ।’, अख्तियार स्रोतले स्वास्थ्य लाइभसँग भन्यो । नेसनल पेमेन्ट गेटवे सिस्टम र अकुत सम्पत्ति आर्जनमा पनि मुख्यसचिव अर्यालमाथि अनुसन्धान अन्तिम चरणमा पुगेको स्रोतको दाबी छ ।

नेपाल टेलिकमको बिलिङ सिस्टमदेखि नेपाल आयल निगमको बोनस वितरण घोटालासम्ममा मुख्यसचिव डा. अर्याल अख्तियारको छानबिनमा रहेका छन् । अहिलेको समग्र अवस्था हेर्दा र विष्लेषण गर्दा मुख्यसचिव डा. अर्यालले स्वास्थ्यमन्त्री बस्नेतले जस्तो अटेर नगरी तत्काल पदबाट राजीनामा दिए निजामती प्रशासनका लागि ठूलै योगदान हुने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #टेरामक्स, #टेरामक्स प्रविधि, #नेसनल पेमेन्ट गेटवे, #मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com