मुख्यसचिवलाई बिदामा बस्न निर्देशन दिएका प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीको हकमा के गर्लान् ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याललाई बिदामा बस्न निर्देशन दिएको चर्चा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उनले विवादित मुख्यसचिव डा. अर्याललाई बिदामा बस्न निर्देशन दिएका हुन् । डा. अर्यालको ठाउँमा कसलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिने भन्ने कुरा भने टुंगिनसकेको स्रोतको भनाइ छ ।

टेरामक्स काण्डदेखि आईटी माफिया विकल पौडेलसँग आर्थिक लेनदेनसम्मका विषयमा विवादित बनेका मुख्यसचिव डा. अर्याललाई प्रधानमन्त्री प्रचण्डले बिदामा बस्न निर्देशन दिएको बताइन्छ । प्रधानमन्त्रीको इच्छा मुख्यसचिव डा. अर्यालले राजीनामा दिउन् भन्ने हो तर उनले राजीनामा नदिएपछि बिदामा बस्न निर्देशन दिइएको हुनसक्छ ।’, प्रधानमन्त्री दाहाल निकट स्रोतले स्वास्थ्य लाइभसँग भने । अनियमितता नै अनियमितताले घेरिएका मुख्यसचिव डा. अर्यालसँग काम गर्न असहज भएर प्रधानमन्त्री प्रचण्डले उनलाई बिदामा बस्न निर्देशन दिएको स्रोतको दाबी छ । त्यसो त मुख्यसचिव डा. अर्यालले राजीनामा दिने पनि सिंहदरबारभित्र चर्चा चल्न थालेको छ ।

एउटै काण्डमा मुछिएका मुख्यसचिव डा. अर्याललाई बिदामा बस्न निर्देशन दिएका प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको हकमा के गर्छन् भन्ने चौतर्फी चासोको विषय बनिरहेको छ । उनी निकट स्रोतका अनुसार प्रचण्डले मुख्यसचिव डा. अर्याललाई बिदामा बस्न निर्देशक दिएजस्तै स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न खोजेका छन् । उनले आज/भोलिमै स्वास्थ्यमन्त्री बस्नेतको विषयमा विशेष निर्णय लिने प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले स्वास्थ्य लाइभसँग दाबी गऱ्यो ।

कांग्रेसबाट अर्थमन्त्री बनेका प्रकाशशरण महतलाई पनि हटाउने तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । मन्त्रिमण्डल समेत व्यापक हेरफेर गर्ने प्रधानमन्त्री प्रचण्डले गृहकार्य सुरु गरेका छन् । यसका लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आईतबार छलफल गरेका छन् । उनीहरु सकारात्मक रहेको स्रोतको भनाइ छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #टेरामक्स, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com