देवकुमारीसहित शिक्षाबाट आएका सचिव औसत मात्रै


काठमाडौं । शिक्षा सेवाबाट आएका सहसचिव सचिव भएपछि प्रशासनमै मिसिन्छन् । नेपाल शिक्षाबाट प्रशासनको सचिव हुने भएपछि नेपाल प्रशासनबाट आएका सहसचिव पछाडि पर्न थालेका छन् ।

स्वास्थ्य मन्त्रालयको प्रशासन तथा जनसंख्या हेर्ने सचिव देवकुमारी गुरागाईंले पाँच वर्षे सेवा अवधिका कारण हालै अवकाश पाएकी छिन् । नेपाल  शिक्षा विविध सेवा हुँदै प्रशासनको सचिवमा बढुवा भएपछि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जस्ता निकायमा सचिवको भूमिकामा काम गरिन् । तर, उनले नेपाल शिक्षाबाट सचिव बनेकाहरू औसत मात्र हुन्छन् भन्ने व्यवहारबाट देखाएकी छिन् ।

पहिलो महिला मुख्यसचिव हुने समेत सम्भावना बोकेकी देवकुमारीले स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई हायलकायल पारेकी छिन् । हाजिर मात्रै गर्ने र काम नगर्ने देवकुमारी प्रवृत्तिले शिक्षा सेवाबाट आएका सचिवहरू यस्तै हुन्छन् भन्ने भाष्य स्थापित गर्न सहज भएको छ । यसले शिक्षाबाट आउने अन्य सचिवमाथि समेत नराम्रो छाप बस्ने अवस्था आएको हो ।शिक्षाबाट आएकी सचिव देवकुमारीमा जागिर मात्र खाने काम नगर्ने मनोवृत्ति रहेको स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।

हुन त शिक्षाबाट आएका टेकनारायण पाण्डे अहिले नक्कली भुटानी शरणार्थी ‘केस’मा पुर्पक्षका लागि थुनामा छन् । भूमि व्यवस्थापन मन्त्रालयमा हुँदा गिरीबन्धु ‘टि-इस्टेट’को जग्गा सट्टाभर्ना दिने गरी कानुन फेर्न भूमिका खेलेका पाण्डे गृहमा पुगेपछि नेपालीलाई नक्कली भुटानी बनाउने खेलमा लागेको खुलेको थियो । उक्त घटनामा घुस लेनदेन भएको प्रमाण फेला परेपछि तत्कालीन गृहसचिव पाण्डे पक्राउ परे । अहिले उनी उक्त बदमासीका कारण थुनामा पुगेका हुन् । टेकनारायण पाण्डे झन् देवकुमारीभन्दा बदनाम भएर निस्किने अवस्थामा पुगेका छन् ।

शिक्षाबाट आएका सचिव सूर्यप्रसाद गौतम भने अलि फरक देखिए ।  शंकरदास बैरागी खनालले बैकुण्ठप्रसाद अर्यालका लागि बाटो नछाडेको भए मुख्यसचिव हुने लाइनमा रहेका गौतम हक्की र क्षमतावान व्यक्ति हुन् । सचिवबाट हालै अवकाश पाएका सचिव गौतमले भने शिक्षाबाट आएका औसतभन्दा माथिको सचिव भनेर छवि बनाएका छन् ।

देवकुमारीले अवकाश पाएपछि रिक्त रहेको सचिव पदमा बढुवाका लागि पनि नेपाल शिक्षा कै सहसचिव लाइनमा रहेको पाइन्छ । कर्णाली प्रदेशको कामु प्रमुख सचिव चूडामणि पौडेल देवकुमारीको रिक्त पदमा बढुवा हुने प्रमुख दाबेदार हुन् । त्यसपछि कर्णाली प्रदेशका कामु प्रमुख सचिव डा. हरि लम्साल सचिव बढुवाको लाइनमा उभिएका छन् ।

सचिव भएका देवकुमारी र टेकनारायणलाई हेर्दा शिक्षाबाट आएका भनेपछि नाक खुम्चाउनु पर्ने देखिन्छ । तर, सूर्यलाई हेर्दा आशाको दियो जल्ने गरेको प्रशासन वृत्तमा टिप्पणी हुँदै आएको छ । सचिव भएपछि महालेखा नियन्त्रक कार्यालय, भूमि व्यवस्थापन मन्त्रालय, सामान्य प्रशासन, श्रम, युवा तथा खेलकुद र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेर काम गरेका सूर्यको क्षमतामाथि प्रश्न उठाउने ठाउँ नै छैन । व्यवस्थापन र कार्यसम्पादनमा पनि उनी अब्बलै ठहरिए । तर, देवकुमारी र टेकनारायणको गतिविधिका कारण शिक्षालाई प्रशासनमा मिसाउँदाको दुष्परिणाम भनेर टिप्पणी हुने गरेको सुनिन्छ । उनीहरुकै कारण डा. हरि लम्साल जस्ता क्षमतावान व्यक्तिहरू पनि ‘शिक्षा’को ट्याग भिर्न बाध्य छन् ।

कतिसम्म भने टेकनारायणले गृहमा हुँदा सीडीओ सरुवालाई शिक्षक सरुवा जस्तो बनाएको भनेर आलोचना समेत हुँदै आएको छ । सीडीओ सरुवामा शिक्षक सरुवामा जस्तो आर्थिक लाभ खोज्न थालेपछि त्यसले गृह प्रशासन छवि र सुशासनको अभियान नै धुलिसाप भएको टिप्पणी हुँदै आएको छ । यो बदनामीको भागिदार टेकनारायण रहेको गृहका अधिकारीहरु बताउँछन् । पछिल्लो समयमा गृह प्रशासन कमजोर हुनु टेकनारायणको विशेष भूमिका रहेको गृहका अधिकारीहरु गुनासो गर्छन् ।

सूर्य, देवकुमारी र टेकनारायण मात्र होइन शिक्षाबाट चूडामणि र हरिहरु सचिवको लाइनमा उक्लिसकेका छन् । शिक्षा कै कमलप्रसाद पोखरेल चूडामणि र हरि पछाडि सचिवमा बढुवा हुने तरखरमा रहेको पाइन्छ । शिक्षा कै खगेन्द्रप्रसाद सुवेदी, बैकुण्ठप्रसाद अर्याल, इमानारायण श्रेष्ठहरु प्रशासनको सचिव हुने लाइनमा उभिएका छन् । यस्तो अवस्थामा देवकुमारी र टेकनारायण हुने कि सूर्यपथमा अगाडि बढ्ने भन्ने विषयमा शिक्षाबाट आएका र आउन खोजेकाहरूले गम्भीर समिक्षा गर्न जरूरी छ । शिक्षाबाट आएका सचिव औसत कि अब्बल हुन्छन् भन्ने कुराको पटाक्षेप गर्ने जिम्मा चूडामणि, हरि, कमलहरूको काँधमा आइपुगेको छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #टेकनारायण पाण्डे, #शिक्षा समूह, #सचिव देवकुमारी गुरागाईं, #सूर्यप्रसाद गौतम, #हरि लम्साल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com