किन अख्तियार धाइरहेका छन् मुख्यसचिव डा. अर्याल ?


काठमाडौं । मुख्यसचिव बैकुण्ठप्रसाद अर्याल अहिले लगातार जस्तो टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय धाइरहेका छन् । निवर्तमान स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँगै टेरामक्स काण्डमा मुछिएका उनी अहिले पानी पँधेरो जस्तो अख्तियार धाइरहेका हुन् ।

अख्तियार स्रोतका अनुसार मुख्यसचिव अर्याल केही दिनअघि मात्र बयान दिन टंगाल पुगेका छन् । उनी नेसनल पेमेन्ट गेटवे सिस्टम खरिदमा अख्तियार पुगेर बयान दिएका हुन् । अर्को आईटी माफिया विकल पौडेलसँग घुस लेनदेन भएको कुरामा पनि अख्तियारले सोधीखोजी गरेको बताइन्छ । स्रोतका अनुसार मुख्यसचिव अर्याल दुई दिन अगाडि ३ घण्टा बढी टंगालमा बसेका थिए । उनीमाथि करिब एक दर्जन अनियमितता उजुरी अख्तियारमा परेका छन् । ती उजुरीका सम्बन्धमा अर्याललाई अख्तियारले लगातार बयान लिइरहेको छ ।

मुख्यसचिव अर्यालमाथि टेरामक्स प्रविधि खरिदमा भएको घोटालामा भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको अन्तिम तयारी देखिन्छ । उनी जोडिएको नेसनल पेमेन्ट गेटवे सिष्टमको अर्को मुद्दा पनि अन्तिम अवस्थामा रहेको अख्तियार स्रोतको दाबी छ । त्यसो त अख्तियारले नेपाल टेलिकमका एमडी सुनिल पौडेललाई नेसनल पेमेन्ट गेटवेमा भ्रष्टाचार मुद्दा दायर गर्दा तत्कालीन सञ्चार सचिव अर्यालमाथि थप अनुसन्धान भइरहेको विषय विशेष अदालतमा जानकारी गराएको छ ।

अकुत सम्पत्ति आर्जन, नेपाल टेलिकमको बिलिङ सिस्टम म्याद थपलगायतमा पनि मुख्यसचिव अर्यालमाथि भ्रष्टाचार मुद्दा लाग्ने सम्भावना रहेको अख्तियार स्रोतले जनाएको छ ।देशको मुख्यसचिव नै अनियमिततामा बयान दिन लगातार अख्तियार धाइरहनुले सुशासनको अवस्थामाथि समेत गम्भीर प्रश्न खडा भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #आईटी माफिया, #टेरामक्स, #नेसनल पेमेन्ट गेटवे, #मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com