मोहन बस्नेतलाई डा. मिश्रले सिकाएको नैतिकताको पाठ


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीको हैसियतमा मोहनबहादुर बस्नेतले प्रा.डा. परशुराम मिश्रलाई रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष नियुक्त गरे । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति(गठन) आदेश २०८० मा ६५ वर्ष ननाघेको मात्र उक्त पदमा नियुक्तिका लागि योग्य हुने व्यवस्था थियो । तर, निर्वतमान स्वास्थ्यमन्त्री बस्नेतले ६७ वर्षीय डा. मिश्रलाई अध्यक्ष नियुक्त गरेको फेला पऱ्यो । ऐनविपरीत उमेरहद नाघेका व्यक्तिलाई रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष नियुक्ति दिएको विषय स्वास्थ्य लाइभले खुलासा गरेपछि डा. मिश्रले राजीनामा दिएर टाप ठोकेका छन् ।

टेरामक्स प्रविधि घोटालामा मुछिएर मन्त्रीको झण्डा हल्लाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका बस्नेतलाई उनैले नियुक्त गरेका डा. मिश्रले नैतिकताको राम्रो पाठ पढाएका छन् । स्वास्थ्य लाइभले कानुनविपरीत नियुक्ति गरेको तथ्य सार्वजनिक गरेसँगै उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसमक्ष राजीनामा दिएर हिँडेका हुन् । विवादमा आएपछि बस्नेतले नियुक्त गरेका डा. मिश्र पदमा टाँसिरहन चाहेनन् । बर्खास्त हुनु अगाडि नै उनले राजीनामाको बाटो रोजे ।

डा. मिश्रलाई रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष नियुक्त गर्ने बस्नेत भने चर्को विवाद हुँदा पनि पद छाड्न तयार भएनन् । सञ्चारमाध्यम, सडकदेखि सदनसम्म टेरामक्स प्रविधि खरिद घोटालामा मुछिएर अख्तियारमा बयान दिन पुगेका तत्कालीन स्वास्थ्यमन्त्री बस्नेतमाथि नैतिकताको प्रश्न उठ्यो । तर, उनले नैतिकता देखाउन सकेनन् । अख्तियार पुगेर बयान दिनु परेपछि बस्नेतले मन्त्री पदबाट राजीनामा दिएको भए उनको उचाई बढ्ने नै थियो । तर, बस्नेत निर्लज्ज भएर मन्त्रीको कुर्सीमा टाँसिरहे । उनैले नियुक्ति गरेका डा. मिश्रले भने बस्नेतलाई पाठ सिकाउने गरी राजीनामा दिएका छन् ।

बस्नेतले स्वास्थ्यमन्त्री हुँदाखेरि कति विवादित निर्णय गरेका थिए भन्ने रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष नियुक्तिले देखाउँछ । बस्नेतका पालामा भएका निर्णय र नियुक्तिलाई केलाएर अध्ययन गर्न अहिलेका स्वास्थ्यमन्त्री यादवमाथि चुनौती थपिएको छ । यादवले स्वास्थ्यमा बेथितिको चाङ बनाएर हिँडेका स्वास्थ्यमन्त्री बस्नेतले गरेका हर निर्णयलाई अध्ययन गर्न जरूरी देखिन्छ ।

शरदसिंह भण्डारीले गरेका विवादास्पद निर्णयलाई श्रममन्त्री डीपी अर्यालले भटाभट उल्टाउने काम गरिरहेका छन् । मन्त्रालयभित्र समिति नै बनाएर त्यस्ता निर्णय अध्ययन गर्न थालेका छन् । स्वास्थ्यमा पनि बस्नेतको पालामा भएका विवादित निर्णय उल्ट्याउन समिति नै बनाएर अध्ययन गर्न यादवले हिम्मत देखाउनु पर्छ । बस्नेतको डिजाइनमा स्वास्थ्य उपकरण खरिदमा घोटाला भएका तथ्यहरू सार्वजनिक भएकाले त्यसमा स्वास्थ्यमन्त्री यादवले छानबिन गरेर एक्सन लिन सक्नुपर्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, #टेरामक्स, #प्रा.डा. परशुराम मिश्र, #रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com