एसपी बढुवामा नारायणकाजीसँग नझुकेका आईजी कुँवर रवि हुँदा चुके


काठमाडौं । नेपाल प्रहरीको ८ जना प्रहरी उपरीक्षक (एसपी) बढुवा लामो समयको रस्साकस्सीपछि अगाडि बढेको छ । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा वरिष्ठताका आधारमा १ नम्बरदेखि ८ नम्बरसम्मका प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई बढुवा गर्छु भन्ने अडान लिएका प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर १२ औं नम्बरसम्म जम्प हान्न पुगेका छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार तत्कालीन गृहमन्त्री नारायणकाजीले १८ औं नम्बरका दिपक श्रेष्ठ र १९ औं नम्बरका ठाकुरप्रसाद पोखरेललाई बढुवाका लागि आईजी कुँवरलाई दबाब दिएका थिए । तर, आईजी कुँवरले १ देखि ८ नम्बरमा रहेका डीएसपीलाई मात्र एसपीमा बढुवा गर्ने अडान कसेका थिए । तत्कालीन गृहमन्त्री नारायणकाजी र आईजी कुँवरबीच कुरा नमिलेपछि लामो समयसम्म एसपी बढुवा हुन सकेको थिएन । उनै आईजी कुँवर नेतृत्वको बढुवा समितिले ९ औं नम्बरका डीएसपी सन्तोष तामाङ र १२ औं नम्बरका विनोद घिमिरे एसपीमा बढुवा गरेको छ । तामाङ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पीएसओ हुन् ।

 

नारायणकाजीले श्रेष्ठ थरका कारण दिपक र गोरखाली भएका कारण पोखरेललाई काखी च्यापेको स्रोतको दाबी छ । नारायणकाजीसँग वरिष्ठतालाई मान्ने भन्दै नझुकेका आईजी कुँवर रवि लामिछाने गृहमन्त्री बनेपछि नराम्रोसँग चुकेका छन् ।आईजी कुँवरको अडान अनुसार एसपीमा बढुवा हुन्थ्यो भने प्रदिपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रंजितकार, निरञ्जन दत्त भट्ट र राजन लिम्बु सिफारिस हुने थिए । तर आईजी कुँवरले १ नम्बरमै रहेका प्रदिपबहादुर क्षेत्री र ६ नम्बरमा रहेका नारायण रञ्जितकारलाई ‘रिङ आउट’ गरेका छन् ।

आईजीपी कुँवर संयोजकत्वको बढुवा समितिले आफ्नै अडानविपरीत १ नम्बर र ६ नम्बरमा रहेका डीएसपीलाई फ्यालेर ९ र १२ औं नम्बरका डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको छ । उक्त बढुवा समितिमा गृह मन्त्रालयका प्रशासन महाशाखा हेर्ने सहसचिव रुप्रप्रसाद पण्डित सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई सदस्य सचिव रहेका छन् । बरिष्ठता नै मिचेपछि त्योभन्दा पछाडिका काबिल डीएसपीहरू अटाउन सकेको देखिँदैन ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com