‘सञ्चारका जुन बदमासीका फाइल खोज्यो त्यहाँ मुस डा. अर्याल भेटिन्छन्’


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत बदमासीका फाइलमा मुख्यसचिव (मुस) डा. बैकुण्ठप्रसाद अर्याल नजोडिएका सायदै केस होलान् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सञ्चार मन्त्रालयले गरेको आन्तरिक छानबिनमा पनि उनको संलग्नताबिना अनियमितता नभएको फाइल भेट्नै मुस्किल छ । अख्तियार स्रोतका अनुसार अनियमिततामा सञ्चार मन्त्रालयका जुन फाइल खोज्यो त्यहाँ मुख्यसचिव डा. अर्याल जोडिएकै हुन्छन् ।

अख्तियारको हिरासतमा रहेका आइटी क्षेत्रका माफिया विकल पौडेल र सुनिल पौडेलमाथि अनुसन्धान हुँदा मुस अर्यालको थप पोल खुलेको छ । उनीहरुले अर्याललाई धेरै केसमा पोलेको अख्तियार स्रोतको दाबी छ । कोरोना भाइरसभन्दा आइटीका खतरनाक भाइरसका रूपमा परिचित विकल, सुनिलबाट बरामद गरिएका विभिन्न ‘डिभाइस’बाट समेत आइटी घोटालामा अर्यालको संलग्नतामा थप खुलेको हो ।

विकलसँगको घूस लेनदेन र अन्य अवैध आर्थिक क्रियाकलापमा मुख्यसचिव डा. अर्याल जोडिएको अख्तियार स्रोतको भनाइ छ । मुख्यसचिव भएपछि ४/५ पटक अख्तियार पुगेर बयान दिएका उनलाई फेरि बयानका लागि बोलाउन तयारी भइरहेको अख्तियार स्रोतले बतायो । त्यस्ता बयान अझै ४/५ वटा हुने सम्भावना रहेको स्रोतको दाबी छ ।

मुख्यसचिव डा. अर्यालमाथि टेरामक्स प्रविधि घोटालालगायत अख्तियारमा दर्जन बढी उजुरी परेका छन् ।  ती उजुरीमा अख्तियारले एकसाथ छानबिन अगाडि बढाएको छ । ‘सञ्चारका जुन बदमासीका फाइल खोज्यो त्यहाँ मुस डा. अर्याल भेटिन्छन्’, अख्तियारका एक उच्च अधिकारीले स्वास्थ्य लाइभसँग भने, ‘वाणिज्य तथा आपूर्ति सचिवको भूमिकामा रहँदा पनि उनले धेरै बदमासी गरेको भेटिएको छ ।’, आयल निगमको बोनस काण्डदेखि वाणिज्य मन्त्रालयमा हुँदा धेरै काण्डमा अर्याल जोडिएको स्रोतको भनाइ छ ।

जहाँ सञ्चारका बदमासी त्यहाँ डा. अर्याल भनेजस्तै देखिएको अख्तियारका एक अधिकारीले सुनाए । सञ्चारका जुन फाइल हेरेपनि उनी भेटिने गरेको बताइन्छ । यसले मुलुकको प्रशासनिक नेतृत्वको सर्वोच्च पदमाथि नै भद्दा मजाक भएको टिप्पणी हुन थालेको छ ।

मुख्यसचिव अर्यालमाथि व्यक्तिगत रिसिइबी साध्ने गरेको आरोप समेत लाग्न थालेको छ । आफूलाई विस्थापित गर्ने सचिवहरुलाई उनले मिलाइमिलाई बदला लिने गरेको टिप्पणी हुन थालेको हो । सञ्चारबाट अर्याललाई बिस्थापित गर्ने सचिव कृष्णबहादुर राउत त्यसैको शिकार भएको चर्चा छ । राउतलाई बिमानस्थलबाट सीआईबीलाई समात्न लगाउन उनको भूमिका रहेको आरोप लाग्दै आएको छ ।

अर्यालविरुद्ध समाचार लेख्ने पत्रकारलाई समेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत बदला लिन थालेको चर्चा छ । उनकै दबाबमा विभागले समाचार लेख्ने पत्रकारमाथि केरकार गर्न थालेको खुल्न आएको हो । अख्तियारको केरकारमा परेका मुख्यसचिव अर्याल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगाएर पत्रकारलाई केरकार गराएर चित्त बुझाउने खेलमा लागेको बुझिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #टेरामक्स, #मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com