शिविरबाट शिफारिस भएका महिलाहरुको क्यान्सर पहिचान गर्न सिभिल अस्पतालमा प्रयोगशाला जाँच हुने


काठमाडौं । काठमाडौं महानगरपालिका र निजामती कर्मचारी अस्पतालबिच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्नका समझदारी पत्रमा हस्ताक्षर भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रा. डा. विधाननिधि पौडेलबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीमा सञ्चालन हुने कार्यक्रम स्वास्थ्य र सामाजिक विकास विभागअन्तर्गतका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत परियारकाअनुसार सार्वजनिक-सार्वजनिक साझेदारीको अवधारणा अनुरूप आपसी समन्वय र सहकार्यका माध्यमबाट महानगरवासीलाई स्वास्थ्य परीक्षण सेवा तथा आकस्मिक स्वास्थ्य सेवाबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हक उपलब्ध गराउन आपसी क्षमता आदान प्रदान गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रम चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न हुनेछन् । कार्यक्रम चालु आर्थिक बर्षको असार मसान्तभित्र सम्पन्न हुनेछन् ।

समझदादारी बमोजिम महानगरपालिकाले सिफारिश गरेका ७५ बर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, जनप्रतिनिधि कर्मचारीको पूर्ण स्वास्थ्य जाँच परीक्षणसहितका काममा सहकार्य हुनेछ ।ज्येष्ठ नागरिक उपचारका लागि अस्पतालमा छुट्टै परीक्षण कक्ष स्थापना गरेर इसीजी, ब्लड सुगर, सीबीसी, एक्स रेसहित १० प्रकारका प्रयोगशाला परीक्षण हुनेछ ।

महिलाहरूमा देखा पर्न सक्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानका लागि महानगरपालिकाले प्रजनन उमेरका महिलाहरुका लागि सञ्चालन गर्ने शिविरबाट पठाइएका महिलाहरुको एचपीभी डीएनए परीक्षण, बायोप्सी, लिप परीक्षण (लुप इलेक्ट्रो सर्जिकल एक्सिसन प्रोसिड्युर) र मेमोग्राम परीक्षण हुनेछ । यस्तै परिचय पत्र वा शिफारिसका आधारमा कर्मचारी र जनप्रतिनिधिका लागि विहान ७ बजेदेखि बजेदेखि साढे ८ बजेसम्म पूर्ण शारीरिक परीक्षण सेवा उपलब्ध हुनेछ । यसमा युएसजी, इसीजी, युरिन, युरिक एसिड, ब्लड सुगर, लिपिड प्रोफाइलसहित विभिन्न १६ प्रकारका प्रयोगशाला परीक्षण हुनेछ ।

समझदारी पत्रमा हस्ताक्षर गरिसकेपछि अस्पतालका प्रमुख कार्यकारी निर्देशक पौडेलले, सम्भावित महामारी तथा आकस्मिक रूपमा देखा पर्न सक्ने रोगहरूको न्यूनीकरण, रोकथाम र उपचार, स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा सहजीकरण, स्वास्थ्य प्रणालीमा सुधार, स्रोत साधन तथा उपकरणको व्यवस्थापन, भौतिक संरचना निर्माण तथा मर्मत सम्भार, पार्किङ व्यवस्थापन लगायत संस्थागत क्षमता अभिवृद्धि र अस्पतालजन्य फोहरमैलाको व्यवस्थापनमा समन्वय र सहजीकरणका लागि आपसी काम हुने बताए  ।

महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट पठाइएका विरामीहरुको छुट्टै कक्षबाट उपचार गरिनेछ । महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रबाट गरिएका जाँच तथा स्वास्थ्य परीक्षण प्रतिवेदनलाई अस्पतालले मान्यता दिनेछ । यसअन्तर्गत हुने कार्यक्रमलाई महानगरपालिकाको स्वास्थ्य विभाग र अस्पताल प्रशासन शाखाले गर्नेछ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com