डा. लेख्ने २ पूर्वराजदूतलाई ओलीले गरे ‘व्यवस्थापन’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नामको अगाडि डा. लेख्ने २ पूर्वराजदूतलाई ‘व्यवस्थापन’ गरेका छन् । ओलीको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलका लागि पूर्वराजदूत डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच शाक्यलाई राष्ट्रपतिबाट मनोनित गर्ने कोटामा मन्त्रिपरिषद्बाट सिफारिस गर्ने सहमति बमोजिम मन्त्रिपरिषद्ले निर्णय गरेको हो । यस अगाडि एमाले कै डा. विमला पौडेल, राई उक्त कोटाबाट राष्ट्रिय सभामा मनोनित भएकी थिइन् । डा. विमलाको ठाउँमा डा. अन्जानलाई पठाउने निर्णय भएको छ ।

त्यस्तै केपी ओली कै प्रस्तावमा अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस समितिमा पठाइएको छ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सर्वोच्चका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेलसहित डा. कार्की र स्टेला तामाङलाई दुई आयोगका पदाधिकारी सिफारिस गर्ने जिम्मेवारी दिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । उक्त सिफारस समितिमा राष्ट्रिय मानवअधिकार आयोगबाट समेत प्रतिनिधित्व हुने छ ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई प्रयोग गरेर नामको अगाडि डा. लेख्ने २ संखुवासभाली पूर्वराजदूतलाई ‘व्यवस्थापन’ गरेको पाइन्छ । राष्ट्रिय सभामा लगेर डा. अन्जनलाई मन्त्री समेत बनाउने ओलीको तयारी रहेको बुझ्न सकिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. अन्जन शाक्य, #डा. अर्जुनकुमार कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com