वाइडबडी जहाज घोटाला अमेरिकाको छानबिनमा, दीपक मल्होत्रा पनि अनुसन्धानको दायरामा


काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको बहुचर्चित वाइडबडी जहाज खरिद घोटाला प्रकरणमा अमेरिकाको भ्रष्टाचार अनुसन्धान गर्ने निकायले छानबिन गरिरहेको छ। ठूल्ठूला घोटाला (स्काम)को अनुसन्धान गर्दै आएको अमेरिकाको युएस सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसन (U.S. Securities and Exchange commission)ले वाइडबडी घोटालामा छानबिन गरिरहेको हो । उक्त छानबिनको सुईरो अमेरिका हुँदै नेपालसम्म आइपुगेको छ ।

नेपालको अख्तियारभन्दा पनि शक्तिशाली र स्वतन्त्र संघीय सरकारको नियामक निकाय (युएस एसईसी)ले वाइडबडी खरिदमा अमेरिकी कानुन उल्लंघन भएको भन्दै अनुसन्धान गरिरहेको  पाइन्छ । नेपाल वायुसेवा निगमले एयरबसको दुई वटा वाइडबडी जहाज खरिद गर्ने भनेर २०७३ चैत २५ (April 7, 2017),मा जहाज आपूर्तिकर्ता कम्पनी अमेरिकाको एएआर कर्प इन्कसँग सम्झौता गरेको थियो । नेपालको वाइडबडी जहाज खरिद घोटालामा अमेरिकी कम्पनी एएआर कर्प इन्क जोडिएपछि युएस एसईसीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको खुलेको छ ।

वाइडबडी घोटालामा अमेरिकाले नेपाल सरकारसँग चासो राखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको रहस्य खुलेको हो । अख्तियारले निगमलाई ‘प्रत्यक्ष रूपमा हानि हुने र आफूहरूलाई गैरकानुनी रूपमा लाभ पुर्‍याउने’ उद्देश्यले कार्य गरेको भन्दै तत्कालीन विभागीय पर्यटनमन्त्री जीवनबहादुर शाही, सचिव शंकरप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, शिशिरकुमार ढुंगानासहित नेपाली र विदेशी गरी ३२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  वाइडबडी जहाज खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको अख्तियारको ठहर छ ।

एएआर इन्टरन्याश्नल इन्क अमेरिकाका अध्यक्ष तथा सीईओ जोन एम होल्मस र आपूर्तिकर्ता तथा प्रस्तावक कम्पनीमध्ये इन्टरन्याश्नल सप्लाई चेनका अध्यक्ष, एएआर कर्प इन्क अमेरिकाका प्रतिनिधि दीपक शर्मालाई समेत अख्तियारले वाइडबडी जहाज घोटालामा प्रतिवादी बनाएको छ । स्वास्थ्य लाइभको खोजीमा नेपाली मुलका बेलायती नागरिक दीपक शर्मा एएआर कर्प इन्कसँग सन् २०१५ देखि जोडिएको देखिन्छ ।

जहाज खरिद सेटिङमा ‘मास्टर माइन्ड’ एएआर कर्प इन्कका दीपक शर्मा कै योजनामा हाई फ्लाई एक्स आयरल्यान्ड नामक स्पेशल पर्पोज कम्पनी आयरल्यान्डमा दर्ता गरियो । उक्त कम्पनीमार्फत नै नेपाल वायुसेवा निगमलाई दुई वटा वाइडबडी जहाज उपलब्ध गराइएको हो । नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार र एएआर कर्प इन्कका शर्माको मिलेमतोमा हाई फ्लाई एक्स नामक नक्कली कम्पनी खडा गरेको आरोप लाग्दै आएको छ ।

अमेरिकी नियामक निकाय (ओभरसाइट एजेन्सी) एसईसीले भने अर्को बदमासी पत्ता लगाएको तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ । अमेरिकी सूत्रबाट स्वास्थ्य लाइभलाई प्राप्त संवेदनशील कागजात अनुसार नेपालमा भएको वाइडबडी खरिद घोटालामा हङकङमा अर्को कमिसन एजेन्ट कम्पनी खडा  गरेको पाइन्छ ।

युएस एसईसी

अमेरिकी एएआर कर्प इन्कका दीपक शर्मा, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार र नेपालका बहुचर्चित विवादास्पद व्यापारी दीपक मल्होत्राको मिलेमतोमा हङकङमा कम्पनी खोलेर वाइडबडीमा कमिसनको खेलोमेलो मिलाएको खुल्न आएको छ । मल्होत्रका ‘बिजनेस पार्टनर’ दुबई र हङकङमा बसेर विश्वका विभिन्न देशमा सामसुङका मोबइल, टेलिभिजन,  ट्याब्लेटलगायत उपकरण बेच्ने रमेशकुमार सावर्थिया र उनकी छोरी पूजा सावर्थियाको नाममा कम्पनी खडा गरेर वाइडबडी खरिदको कमिसन व्यवस्थापन गरिएको खुल्न आएको हो । रमेशका भाइ विमल सावर्थिया आईएमएसका डाइरेक्टर रहेका छन् ।

मल्होत्रका ‘बिजनेस पार्टनर’ सावर्थिया बुवा-छोरीको नाममा हङकङमा ड्याजल डिजाइन लिमिटेड नामक कम्पनी खडा गरी वाइडबडी खरिद प्रकरणमा आधा अर्ब बढी कमिसन कमिसन व्यवस्थापन गरिएको दाबी छ । नेपाललाई लक्षित गरेर हङकङमा खोलिएको कम्पनी नीति इन्टरनेसनल लिमिटेडका ‘म्यानेजर’ समेत रहेका रमेशकुमार सावर्थिया र उक्त कम्पनी व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेकी उनको छोरी पूजाको नाममा ड्याजल डिजाइन लिमिटेड खडा गरिएको खुल्न आएको हो । रमेश मल्होत्रामार्फत नै हङकङमा नेपाल चेम्बर अफ कमर्समा जोडिएको तथ्य समेत फेला परेको छ । ड्याजलमा जोडिएकी पूजाले दुबईस्थित अमेरिकन युनिभर्सिटीबाट बीबीए गरेकी हुन् ।

पूजा सावर्थिया

अमेरिकी ओभरसाइट एजेन्सी एसईसीले हङकङमा खडा भएको ड्याजल डिजाइन लिमिटेडमार्फत साढे ४२ लाख अमेरिकी डलर अर्थात् झन्डै ५६ करोड बढी नेपाल रुपैयाँ घूस (कमिसन) व्यवस्थापन गरेको दाबी गरेको छ । एएआरले दीपक शर्मामार्फत ड्याजल डिजाइन लिमिटेड र उक्त कम्पनीबाट दीपक मल्होत्राले पैसा लिएर नेपालका प्रभावशाली राजनीतिज्ञ र उच्च पदस्थ कर्मचारीलाई बाँडेको एसईसीको आशंका छ ।

वाइडबडी खरिदमा एएआरले एकपटक ४० लाख डलर र अर्कोपटक साढे २ लाख डलर ड्याजल डिजाइन लिमिटेड, हङकङलाई पठाएको अमेरिकी एसईसीको निष्कर्ष छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा मल्होत्राले बिचौलियाको रूपमा काम गरेको भनेर अमेरिकाको एसईसीले उनीमाथि समेत अनुसन्धान गरिरहेको पाइएको हो ।

अमेरिकामा दीपक शर्मा, हङकङमा रमेशकुमार सावर्थिया र नेपालमा सुगतरत्न कंसाकार तथा दीपक मल्होत्राले वाइडबडी जहाज खरिद कमिसनको जाँचोपाँचो मिलाएको अमेरिकी एजेन्सीको प्रारम्भिक निष्कर्ष छ । यो सुइरो निकै परसम्म पुगेर नेपालको राजनीतिक र प्रशासनिक तहमा पहिरो समेत जाने खतरा देखिन्छ ।

कतिपयले त कंसाकारले वाइडबडी घोटालाको पैसाबाट भक्तपुर नगरकोटमा तायो इको रिसोर्ट समेत खोलेको आरोप लगाउँदै आएका छन् । तर, त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । अमेरिकी संयन्त्रले त्यसको वास्तविकता पत्ता लगाउने विश्वास गर्न सकिन्छ ।

तायो इको रिसोर्ट

नेपालमा समेत कार्यक्षेत्र भएको संयुक्त अरब इमिरेट्स (UAE) को दुबईमा रहेको सावर्थिया ग्रुपका निर्देशक रमेश कृष्णा इन्टरनेसनलका प्रमुख समेत हुन् । कृष्णा इन्टरनेसनलले हङकङमा कृष्णा होल्डिङ्स नामको अर्को कम्पनी दर्ता गरेको छ । कृष्णा इन्टरनेसनल नेपालसहित मध्यपूर्व, अफ्रिका, एसिया र एसिया प्रशान्त क्षेत्रका २० भन्दा बढी देशमा विभिन्न कम्पनीका मोबाइल डिभाइस ट्याब्लेट्स, र अन्य उपकरणको मुख्य वितरक कम्पनी हो । सामसुङ, एप्पल, हुवावे जस्ता शक्तिशाली कम्पनीका सामान कृष्णाले विभिन्न देशमा पुऱ्याउने गरेको उसको वेबसाइटमा उल्लेख छ ।

सावर्थिया ग्रप तथा आईएमएसका डाइरेक्टर विमल र मल्होत्रा परिवार

नेपालको सौरभ ग्रप अन्तर्गतको सर्वोत्तम सिमेन्टमा लगानी गरेका कृष्णाका मालिक रमेश सावर्थियाले १८ वर्ष अगाडि ज्ञानेश्वरमा व्यवसायिक कम्प्लेक्स बनाउन  हङकङबाट ३० करोड लगानी भित्र्याएका थिए । यसबाट पनि उनको नेपाल राम्रै नेक्सस छ भन्ने देखाउँछ । सर्वोत्तम सिमेन्टमा पनि मल्होत्राका ‘बिजनेस पार्टनर’ विमल सावर्थिया बोर्ड डाइरेक्टरको भूमिकामा छन् । नेपालको बिजनेस व्यवस्थापनको काम रमेशका भाइ उनै विमलले गर्दै आएका छन् ।

कृष्णा इन्टरनेसनलका मालिक भने नेपालको वाइडबडी जहाज खरिदको कमिसन व्यवस्थापनमा लागेको अमेरिकी ओभरसाइट एजेन्सी कै दाबी छ । अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिक्स क्रिमिनल डिभिजनले नेपाल सरकारसँग पारस्परिक कानुनी सहायता (एमएलए)मार्फत मल्होत्रा विषयमा पत्रचार गरेको छ । तर, नेपाल सरकारले सहजीकरण नगरेको अमेरिकी दूतावासका अधिकारीको भनाइ छ । नेपाल वायुसेवा निगमका अधिकारीहरुले पनि अमेरिकाको एमएलए आएको पुष्टि गर्छन् ।

अख्तियारले नै वाइडबडीमा भ्रष्टाचार भएको आरोपमा मुद्दा दायर गरिसकेको छ । यस्तो अवस्थामा अमेरिकाको एसईसीको अनुसन्धान थप प्रभावकारी बन्ने देखिन्छ । १५ एसईसीको दफा ७१ अनुसार ५ वर्ष कैद सजाय हुने व्यवस्था अनुसार अमेरिकामा वाइडबडी घोटालाको छानबिन भइरहेको छ । उक्त अनुसन्धान निचोडमा पुगे वाइडबडी खरिद घोटाला कार्यका संलग्न व्यक्तिहरुलाई ५ वर्ष कैद सजाय हुनेछ ।

एसईसीले वाइडबडी खरिद घोटालामा दीपक शर्मादेखि दीपक मल्होत्रासम्मलाई अनुसन्धानको दायरामा ल्याएको देखिन्छ । अमेरिका नै एक्सनमा उत्रिएकाले कमिसनखोरहरुको निद हराम हुने अवस्था आएको छ ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #AAR Corp, #Dazzle Design Ltd, #Deepak Sharma, #Dipak Malhotra, #IMS Group, #Krishna International, #Nini International, #Ramesh And Bimal Sawarthiya, #Sawarthiya Group, #US S.E.C., #Widebody plane, #एएआर दीपक शर्मा, #कृष्णा इन्टरनेशनल, #ड्याजल डिजाइन लिमिटेड, #तायो इको रिसोर्ट, #दीपक मल्होत्रा, #नीति इन्टरनेसनल, #पूजा सावर्थिया, #रमेशकुमार सावर्थिका, #वाइडबडी जहाज खरिद घोटाला, #सुगतरत्न कंसाकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com