५ सचिव सरुवा : सामान्यमा निरौला, महिलामा भट्टराई


काठमाडौं । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसहित ५ सचिवलाई सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सामान्य सचिव विनोदप्रकाश सिंहलाई  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग आयोगमा सरुवा गरेको छ । सिंहको ठाउँ सामान्यमा उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौलालाई ल्याएको छ । वित्त आयोगका सचिव कृष्णबहादुर राउतको उद्योग मन्त्रालयमा सरुवा भएपछि उक्त ठाउँ खाली थियो ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश भट्टराईको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ । महिला मन्त्रालयका सचिव सुमनराज अर्यालको भने युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएकाे हाे । खेलकुद सचिव रविलाल पन्थको निर्वाचन आयोगमा सरुवा भएपछि उक्त ठाउँ खाली थियो । मुख्यसचिव बैकुण्ठ अर्यालले खेलकुदमा सरुवा भएका सामान्य सचिव सिंहलाई रोकेर अर्याललाई पठाएको चर्चा छ । भट्टराई र सिंह पूर्व गृहसचिव समेत हुन् ।

यता अर्थसचिवको दौडमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेललाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरिएको छ । अर्थ सचिव कृष्णहरि पोखरेललाई थमौती गर्न भूमिका खेलेका मुख्यसचिव अर्यालले पोखरेललाई तथ्याङ्क कार्यालय जान बाध्य बनाएका हुन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तोयम राया महालेखापरीक्षकमा सिफारिस भएपछि उक्त ठाउँ खाली थियो । मुख्यसचिव अर्यालको अस्वभाविक चलखेलले सचिव सरुवा अपारदर्शी बन्दै गएको आरोप लाग्न थालेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com