उपेन्द्रलाई हटाउन मधेश प्रदेशको सरकारबाट खेल सुरु


काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई संघीय सरकारबाट खेल सुरु भएको छ । मधेश प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी बाहिरिएर मुख्यमन्त्री र स्वास्थ्यमन्त्री उपेन्द्रलाई राजीनामा दिन बाध्य पार्ने रणनीतिमा लागेका छन् । एमाले र एमाओवादी मधेश सरकारबाट बाहिरिने निश्चित जस्तै भएको छ ।

संघीय सरकारमा उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालबाट फुटेर बनेको जनता समाजवादी पार्टीले स्वास्थ्य मन्त्रालय लिने भद्र सहमति भइसकेको छ । त्यहीँ अनुसार उपेन्द्रलाई हटाउने तयारी भइरहेको स्रोतको दाबी छ । संघ र मधेश सरकारमा उपेन्द्रलाई हटाए जनमतको पनि समर्थन रहने एमाले, माओवादी नेताहरुको बुझाइ छ । त्यसै अनुसार जतिसक्दो चाँडो उनलाई सरकारबाट बिदाइ गर्ने खेल सुरु भएको हो ।

उपेन्द्रबाट छुट्टिएर नयाँ बनेको दल जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादव स्वास्थ्यमन्त्री बन्ने लबिइङमा छन् । उपेन्द्रलाई जसरी पनि हटाउन जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई नै लागेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपेन्द्रलाई हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि तीव्र दबाब रहेको बुझिन्छ । यसको सुरुवात मधेश प्रदेशबाट सुरु हुने देखिन्छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनता समाजवादी पार्टीका उपाध्यक्ष नवलकिशोर साह सुडीसँग बसेरा बुटिक होटलमा गोप्य वार्ता गरेका छन् । तर, उक्त वार्ताले पनि उनको पद जोगिने अवस्था देखिँदैन । वनमन्त्री समेत रहेका सुडीले उक्त भेटघाटमा के भयो भन्ने कुरा खुलाउन चाहेनन् । जसपा, नेपाल फुटाएको औचित्य पुष्टि गर्न पनि उपेन्द्रलाई सरकारबाट हटाउन अशोक राई नेतृत्वको पार्टीले प्रधानमन्त्री दाहालसमक्ष ‘धर्ना’ दिइरहेको छ । उपेन्द्र पछिल्लो समय मन्त्रिपरिषद्को नियमित बैठकमा समेत जान छाडेका छन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ मन्त्री खान खुट्टा उचालेर बसेकी छिन् । उपेन्द्र हटे जनमतले पनि सरकारमा सामेल हुन सकिने संकेत दिएको छ । उपेन्द्र नेतृत्वको जसपा, नेपाल र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई जसरी पनि हटाउनु पर्ने ओलीको जोडबल रहेको स्रोतको दाबी छ । यसले प्रदेशदेखि संघसम्मको सरकारमा उथलपुथल आउने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com