विकल र सुनिललाई जागिर दिने तथा कमिसन लुकाउने जोडी


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईटी माफिया भ्रष्टाचारी पौडेलबन्धु विकल र सुनिललाई गैरकानुनी सम्पत्ति आर्जनको छुट्टाछुट्टै मद्दा दायर गऱ्यो । उक्त मुद्दामा उनीहरूले सिंगापुरको ब्याङ्कोटेक कम्पनीमार्फत कमिसन लिने र उतै व्यवस्थापन गर्ने गरेको अख्तियारको दाबी छ । स्वास्थ्य लाइभले विकल र सुनिल ब्याङ्कोटेकको इन्टरनेसनल कन्सल्ट्यान्ट भएर काम गरेको खुलासा गरेको थियो । अख्तियारको अभियोगले समेत त्यो कुरालाई पुष्टि गरेको हो ।

कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद घोटालामा मुछिएर चर्चामा आएको ओम्नी ग्रुप कै भगिनी कम्पनी हो ब्याङ्कोटेक । जुन कम्पनी ओम्नीका मालिक तुलहरिकी श्रीमती सुमन सिंहको नाममा सिंगापुरमा दर्ता भएको पाइन्छ । उक्त कम्पनीमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक (एमडी) सुनिल पौडेल सिंगापुरस्थित ब्याङ्कोटेक कम्पनीमा अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा कार्यरत छन् । विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका विकल र सुनिल तुलहरि र सुमन सिंहका कर्मचारी हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले म्याक्स इन्टरनेसनल र ओम्नीबाट राष्ट्रिय सूचना प्रविधि, नेपाल टेलिकम, सुरक्षण मुद्रण केन्द्र जस्ता निकायमा सूचना प्रविधिका हार्डवेयर र सफ्टवेयर खरिद गर्ने र ब्याङ्कोटेक मार्फत उनीहरूले कमिसन बुझ्ने गरेको उल्लेख गरेको छ ।

तुलहरि र सुमन सिंहको नाममा नेपालमा ओम्नी र शास्त्र सोलुसन इन्क कम्पनी दर्ता छ । ओम्नी र शास्त्रले नेपालका अधिकांश आईटीका ठेक्का हत्याएका छन् । आईटी माफिया विकल र सुनिल नै उनीहरूको कर्मचारी भएपछि नहत्याउन पनि कसरी । ओम्नी र शास्त्रसँगै जोडिएको अर्को कम्पनी हो अकबर हुसेनको म्याक्स इन्टरनेसनल । उक्त कम्पनीले ओम्नी र शास्त्रसँग मिलेमतो गरेर आईटीका सरकारी ठेक्का हत्याउँछ । ओम्नी कै सिंगापुरस्थित कम्पनी ब्याङ्कोटेकमार्फत विकल, सुनिल र अन्य व्यक्तिलाई कमिसन बुझाउँछ । म्याक्सले ओम्नी र त्यसको भगिनी कम्पनी शास्त्रसँग कसरी ‘टेन्डर फिक्सिङ’ गर्छ भन्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गरेको ५ करोडको राउटर गतिलो उदाहरण हो ।

कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद घोटालामा संलग्न भएपनि ओम्नीका तुलहरिमाथि अख्तियारलगायत राज्यका कुनै निकायले छुन सकेको छैन । तुलहरिलाई जोगाउन दिनेश मानन्धर दिलोज्यानले लाग्ने गरेका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निकट मानन्धर कै संरक्षणका कारण तुलहरि जोगिएको र खेलोफड्को गरिरहेको चर्चा सुनिन्छ । उनी सुरक्षण मुद्रणको लोकल एजेन्ट बन्न तत्कालीन प्रधानमन्त्री ओलीसँगै फ्रान्स गएका थिए । ओली कै पालामा ओम्नी स्वास्थ्य मन्त्रालय छिरेको हो ।

दिनेश मानन्धर

तत्कालीन प्रधानमन्त्री ओलीको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खरिद गरेको भिडियो कन्फेरेन्सिङ सिस्टम शास्त्रसँग खरिद गरिएको हो । ओम्नी र शास्त्र मिलेर २५ करोडमा निर्वाचन आयोगलाई सेकेन्ड ह्यान्ड प्रिन्टर भिडाएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रदेखि महालेखा नियन्त्रक कार्यालयमा समेत ओम्नीले नै उपकरण आपूर्ति गरेको पाइन्छ । नेपाल दूरसञ्चार प्राधिकरणले ३ अर्ब बढीमा विद्यालयहरूमा जडान गरेको आईटी ल्याब ओम्नी म्याक्स जेभीले हत्याएको छ । त्यो ठेक्का आईटी क्षेत्रकै ठूलो घोटालाका रुपमा चर्चामा छ । तर, अहिलेसम्म अख्तियारको आँखा पर्न सकेको छैन । पछिल्लो समय आईटीका ठेक्कामा ओम्नीले म्याक्सलाई अगाडि सार्ने गरेको पाइन्छ । सुरक्षण मुद्रण केन्द्रले झन्डै ४१ करोडमा खरिद गरेको उपकरणमा अख्तियारले विकलसँगै म्याक्सका मालिक अकबर हुनेसनलाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ओम्नी र म्याक्ससँगै मिलेमतो गरेर आईटीका सरकारी ठेक्कामा सेटिङ गर्न वर्ल्ड डिस्ट्रिब्युसन नेटवर्क (डब्ल्यूडिएन) हो । कुनै जमानामा राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गर्ने ओराकलको ठेक्का एकलौटी हत्याउने डब्ल्यूडिएन पछिल्लो समय ओम्नी कै पिछलग्गु भएर काम गर्दै आएको छ । विकल र सुनिललाई सिंगापुर र दुबईमा कमिसन बुझाउनेमा डब्ल्यूडिएन पनि पर्छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गरेको इन्टरप्राइज इमेल खरिदमा नेक्स्ट जेन कम्पनी जोडिएको छ । उक्त कम्पनीले भने इन्ट्रासेफमार्फत विकल र सुनिललाई सिंगापुरमा कमिसन बुझाउने गरेको छ । त्यो कुरा अख्तियारको अनुसन्धानले पनि पुष्टि गरिसकेको छ । विकल र सुनिलसँग सबैभन्दा बढी लाभ लिने मुख्यसचिव डा. बैकुण्ठ अर्याल हुन् । उनीमाथि पनि आवश्यक छानबिन हुनुपर्ने देखिन्छ । ओम्नी, शास्त्र, म्याक्स, डब्ल्यूडिएन र नेक्स्ट जेनले हत्याएका आईटीका सम्पूर्ण ठेक्कामा अख्तियारले विस्तृत अनुसन्धान गनैपर्छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पनि ति कम्पनीमाथि एक नजर जान आवश्यक छ ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #ओम्नी, #म्याक्स इन्टरनेशनल, #म्याक्स र डब्ल्यूडीएन, #विकल पौडेल, #सिङ्गापुरियन कम्पनी ब्याङ्कोटेक प्रालि

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ