ओम्नीका कर्मचारी सुनिललाई ज्ञानेन्द्र-आरजुले नेपाल टेलिकम सुम्पिएको खुलासा


काठमाडौं । ओम्नी समूहका कर्मचारी सुनिल पौडेललाई तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाएको खुलासा भएको छ । ओम्नी समूह अन्तर्गत सिङ्गापुरियन कम्पनी ब्याङ्कोटेक प्रालिमा अन्तर्राष्ट्रिय परामर्शदाताको रूपमा कार्यरत सुनिललाई नेपाली कांग्रेसकी प्रभावशाली नेतृ आरजु राणाको दबाबमा नेपाल टेलिकम जस्तो महत्त्वपूर्ण निकाय सुम्पिएको खुलासा भएको हो ।

कोभिडको बेला स्वास्थ्य सामग्री खरिद बदमासीमा मुछिएको ओम्नीसँगै सम्बन्धित कम्पनी ब्याङ्कोटेकका कर्मचारी सुनिल नेपाल टेलिकमको प्रमुख बनेको स्वास्थ्य लाइभले फेला पारेको हो । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । टेरामक्स काण्डमा मुछिएका तत्कालीन सञ्चारमन्त्री कार्की अझै फुक्काफाल छन् ।

अख्तियारले भ्रष्टाचार मुद्दा लगाएर निलिम्बनमा  परेका टेलिकमका एमडी सुनिल ओम्नीका तुलहरिकी श्रीमती सुमन सिंहको नाममा सिंगापुरमा दर्ता भएको कम्पनी ब्याङ्कोटेमा सन् २०१७ देखि नै कार्यरत रहेको देखिन्छ । उक्त तथ्य स्वास्थ्य लाइभसँग सुरक्षित रहेको छ । सिङ्गापुरियन कम्पनी ब्याङ्कोटेक प्रालिमा अन्तर्राष्ट्रिय परामर्शदाताको रूपमा कार्यरत कर्मचारी सुनिललाई तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार सचिव डा. बैकुण्ठप्रसाद अर्याल र कांग्रेस नेतृ आरजु राणाले नेपाल टेलिकमको नेतृत्व सुम्पिएका हुन् ।

सुमन सिंह र तुलहरिका कर्मचारी सुनिल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक समेत भएका थिए । सुमन सिंहलगायत कै स्वामित्व रहेको शास्त्र सोलुसन इन्क प्रालीलाई प्रधानमन्त्री कार्यालयको वार रुपमा जडान हुने ‘भिडिओ कन्फेरेन्सिङ सिस्टम’ खरिदको ठेक्का जिम्मा पाएको थियो । सुनिल नेतृत्वको राष्ट्रिय सूचना प्रविधि केन्द्रले उक्त ठेक्का शास्त्रलाई दिने निर्णय गरेको थियो । तर, पछि विवाद भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै लगेर सेटिङमा शास्त्रलाई उक्त ठेक्का सुम्पिएको हो ।

गोकुल बाँस्कोटा सञ्चारमन्त्री र महेन्द्रमान गुरूङ सचिव भएको बेला राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक बनेका सुनिलको भूमिका शंकास्पद देखिन्छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले ओम्नी, शास्त्रलगायतसँग गरेका राउटरसहितका करोडौंका आईटी उपकरण खरिद प्रक्रिया शंकाको घेरामा परेका छन् । सुनिलले राष्ट्रिय सूचना प्रविधि केन्द्रमै कार्यरत रहेका बेला सूचना प्रविधिसँग सम्बन्धित सफ्टवेयर र हार्डवेयर सामग्रीहरूको आपूर्तिकर्ता सिङ्गापुरको ब्याङ्कोटेक प्रालि नामको कम्पनीको अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा नियुक्ति लिएका हुन् ।

आईटी माफिया पौडेल बन्धु सुनिल पौडेलसँगै विकल पौडेल ओम्नी, शास्त्रकी समेत मालिक्नी ब्याङ्कोटेककी सुमन सिंहका कर्मचारी भएको खल्न आएको छ । योसँगै विकल र सुनिल कार्यरत रहेको सुरक्षण मुद्रण केन्द्र र राष्ट्रिय सूचना प्रविधि केन्द्र तथा नेपाल टेलिकमले ती कम्पनीलाई दिएको ठेक्कामा थप छानबिन गर्न आवश्यक देखिन्छ ।

ब्याङ्कोटेककी मालिक सुमन सिंह र उनका पति तुलहरि (ओम्नी ग्रुप)

कानुन नै फेरेर नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाइएका सुनिलले टेलिकममा पुगेर पनि ओम्नीलाई लाभ पुऱ्याएको खुल्न आउँछ । नेपालको विद्यमान राष्ट्रिय निजामती सेवा ऐन, २०४९ को दफा ४९ (क) को उपदफा (१) मा निजामती कर्मचारीले अन्यन्त्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियत प्रदान गर्ने कार्य गर्नु हुँदैन भन्ने व्यवस्था रहेको छ । सार्वजनिक पदमा नियुक्त हुनेको हकमा पनि उक्त व्यवस्था लागू हुन्छ । तर, विकल र सुनिलको हकमा उक्त व्यवस्था लागू नभएको प्रस्ट हुन्छ ।

तत्कालीन सञ्चारमन्त्री कार्की कै प्रस्तावमा विकललाई सुरक्षण मुद्रण केन्द्रमा दोहोऱ्याउने र सुनिललाई टेलिकमको एमडी बनाउने खेल भएको हो । सुरक्षण मुद्रण केन्द्रको खरिद र राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गरेको नेसनल पेमेन्ट गेटवे सिस्टममा भ्रष्टाचार मुद्दा लाग्दा विकल र सुनिल निलम्बनमा परेका छन् । विदेशस्थित कम्पनीमा कार्यरत रहेको प्रमाण फेला परेकाले उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्र होइन सरकारले पनि सेवाबाट हटाउन तत्काल कदम चाल्नु पर्ने आधार तय भएको छ ।

अकुत सम्पत्ति छानबिनमा परेर अख्तियारको हिरासतमा रहेका विकल र सुनिलले नेपालले खरिद गर्ने सूचना प्रविधिसम्बन्धी सामग्रीहरूको स्पेसिफिकेसन तयार गर्ने काममा संलग्न भइ यस किसिमका सामग्री आपूर्ति गर्ने विदेशी कम्पनीसँग साँठगाँठ गरी गैरकानुनी कमिसन लिइ रकम बुझ्ने गरेको र त्यो रकम विदेशी मुलुकमा बैंक खाता खोली राख्ने गरेको घाम जत्तिकै छर्लङ्ग थियो । यो घटनाले त्यो कुरालाई थप पुष्टि गरेको छ ।

ओम्नी र म्याक्स मिलेर आईटीका ठूल्ठूला ठेक्का हत्याएका छन् । कतै जेभीमा त कतै मिलेमतोमा ओम्नीका तुलहरि र म्याक्सका अकबर हुसेनले आईटीका ठेक्का हत्याउने गरेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले विद्यालयहरुमा स्थापना गरेको ३ अर्ब बढीको आईटी ल्याब पनि ओम्नी-म्याक्स जेभीले नै पाएको हो । उक्त ठेक्काको स्पेसिफिकेसन बनाउनेदेखि सेटिङ गर्नेसम्म सबै काम विकल सुनिलले गरेका थिए । उनीहरुकै मिलेमतोमा आईटीका ठेक्कामा ओम्नीले साम्राज्य खडा गरेको छ । म्याक्सका अकबर हुसेनले कमलादीको मुख्य सडकमा काठमाडौं महानगरपालिकाको कार्यालयसँगै भव्य आईटी टावर खडा गरेका छन् । बालेनलाई नै चुनौती दिने गरी छोटो अवधिमै खडा भएको उक्त आईटी टावर र तिनका मालिकको सम्पत्ति छानबिन हुन सकेको छैन । न त आईटी टावरका मालिकले सेटिङमा हत्याएको ठेक्का नै छानबिन हुन सकेको छ ।

यता कोभिडमा स्वास्थ्य सामग्री खरिद घोटालामा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मुछिएका ओम्नीका तुलहरिसहित कसैमाथि थप छानबिन अगाडि बढेको छैन । संसदको सार्वजनिक लेखा समितिले उक्त खरिदमा मिलेमतो र अनियमितता भएको निष्कर्ष निकाले पनि अख्तियारले थप छानबिन गरेको पाइँदैन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि तुलहरिहरूको सम्पत्ति छानबिन गर्ने आँट गर्न सकेको छैन । यसले पनि नेपालमा कुशासन, भ्रष्टाचार  र आर्थिक अपराधले बढवा पाइरहेको देखिन्छ ।

कुनै समय नेपालको आईटी क्षेत्रमा विकल र सुनिलले एकछत्र राज गरेका थिए । सुनिललाई नेपाल टेलिकमको एमडी बनाएपछि विकल नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्ने दाउमा थिए । तर, अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी चुके । विशेष अदालतबाट सफाइ लिएरै भएपनि विकल उक्त पदमा नियुक्त लिने कसरतमा अझै रहेको सुनिन्छ । अहिले भने उनी अकुत सम्पत्ति आर्जनको अनुसन्धानमा उनी अख्तियारको हिरासतमा पुगेका छन् । उनीहरुमाथि भ्रष्टाचारको अर्को मुद्दा लाग्ने निश्चित जस्तै छ ।

ओम्नीका कर्मचारी विकल र सुनिललाई नियुक्ति सार्वजनिक नियुक्ति दिने तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरुलाई समेत छानबिन तथा कारबाहीको दायरामा ल्याउन जरूरी छ । तत्कालीन सञ्चारमन्त्री र सचिव उक्त नियुक्तिमा बढी जिम्मेवार देखिन्छन् । यतातिर पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान पुग्न आवश्यक छ ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #अकबर हुसेन, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #ओम्नी, #ज्ञानेन्द्र बहादुर कार्की, #निलम्बित नेपाल टेलिकमका एमडी सुनिल पौडेल, #विकल पौडेल, #सिङ्गापुरियन कम्पनी ब्याङ्कोटेक प्रालि, #सुमन सिंह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com