सिडिओको लतले सचिव हुन भुलेका सहसचिव वीरेन्द्रकुमार यादव

काठमाडौं। हरेक लत छुटाउन मुस्किल पर्ने गर्छ। लत बसेपछि बस्यो बस्यो त्योबाट निस्किन गाह्रो कुरा हो। नेपाल सरकारका एक जना वरिष्ठ सहसचिवलाई सिडिओको लतले त्यस्तै भएको छ। २०६६ असोजमा मधेशी कोटाबाट सहसचिव भएका वीरेन्द्रकुमार यादव प्रमुख जिल्ला अधिकारी (सिडिओ)को लतले सचिव हुन समेत भुलेका छन्। सहसचिवका ब्याचीहरू बैकुण्ठ अर्याल, यादवप्रसाद कोइराला, रामप्रसाद थपलियालगायत पूरा कार्यकाल सचिव र मुख्यसचिवमा समेत नाम दर्ज गरेर घर गइसक्दा वीरेन्द्र भने बल्ल सिडिओको लत छुटाउने प्रयासमा छन्।
संघीय निजामती कानुन आएपछि समस्या पर्ने सम्भावना देखेर मात्र उनी विशिष्ट श्रेणी (सचिव)मा बढुवा हुन आवश्यक पर्ने उच्चस्तरीय कार्यकारी विकास कार्यक्रम (एसईडीपी) तालीम लिन थालेका हुन्। यो सबै सिडिओको लतले काम गरेको बताइन्छ। वीरेन्द्र सिडिओ पाए जुन जिल्ला पनि जान तयार रहेको गृह मन्त्रालयका अधिकारी बताउने गर्छन्। अहिले भने उनी सिडिओको लत छुटाउन राष्ट्रिय योजना आयोगमा बसेका छन्।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को अधिकृतबाट २०६६ साल असोजमा मधेशी कोटाबाट सीधै प्रशासन सेवा तर्फको सहसचिवमा नियुक्त भएका वीरेन्द्र सहसचिव भएपछि सचिव बन्नै बिर्सिएर सिडिओ खानेमा पर्छन्। एक दर्जन बढी जिल्लाको सिडिओ चलाएका उनको सिडिओको लत तिलक सिंह पेलाले गाएको ‘के लत बस्यो मलाई’ बोलको गीतलाई पनि बिर्स्याउने खालको छ।
वीरेन्द्रले मोरङ, सप्तरी, उदययपुर, सिरहा, धनुषा, महोत्तरी, सुर्खेत, नुवाकोट, संखुवासभा, बारा, पाल्पा, डोटीलगायतका जिल्लाको सिडिओ चलाए। पछिल्लो समय उनीभन्दा बढी सिडिओ चलाउने सहसचिव छैनन्। ५० वर्ष अगाडि २०३१ असार १५ गते सर्लाहीमा जन्मिएका वीरेन्द्रले आफ्नै गृह जिल्लाको सिडिओ बनेर घर नगएर एउटा धर्म भने राखेकाे पाइन्छ। आफ्नै गृह जिल्लाको सिडिओ बनेर घर जानेलाई भने सदाबहार सिडिओ वीरेन्द्रले राम्रै सबक सिकाएका छन्।
वीरेन्द्र २०८० वैशाख १७ गतेदेखि पुस १ गतेसम्म मोरङको सिडिओ रहेका थिए। २०७९ असोज ३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म संखुवासभाको सिडिओ चलाएर उनी मोरङ आएका हुन्। त्यसभन्दा अघि वीरेन्द्र २०७८ असोज देखि २०७९ भदौं २६ सम्म उदयपुरको सिडियो थिए। उनले २०७६ वैशाख १२ गतेदेखि २०७६ भदौं ११ गतेसम्म पाल्पाको सिडिओ चलाए। वीरेन्द्र २०७५ साउन २८ गतेदेखि २०७६ वैशाख ४ गतेसम्म सुर्खेतको सिडिओ भए। २०७५ वैशाख २० गतेदेखि साउन २७ गतेसम्म उनी डोटीको सिडिओ भए। सदाबहार सिडिओ वीरेन्द्र २०७४ मंसिर ६ गतेदेखि २०७५ वैशाख १४ गतेसम्म नुवाकोटको सिडिओ भए।
वीरेन्द्र २०७१ जेठ २ देखि जेठ ११ सम्म ९ दिने सप्तरीको सिडिओ समेत बने। उनी २०६६ कार्तिक १८ गतेदेखि २०६७ पुस ८ गतेसम्म सिराहाको सिडिओ रहेका थिए। यी त केही उदाहरण मात्र हुन सिडिओको लत लागेका वीरेन्द्र दर्जन बढी जिल्लामा सिडिओ बने। जहाँको सिडिओ बन्न पनि तयार भएका उनी सचिव हुनै भुले। अहिले निजामती प्रशासन वृत्तमा भन्न वीरेन्द्रलाई जस्तो सिडिओको लत कसैलाई नलागोस् भन्न थालिएको छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकारट्याग : #मधेशी कोटाबाट पहिलो सहसचिव वीरेन्द्रकुमार यादव, #वीरेन्द्रकुमार यादव, #सहसचिव वीरेन्द्रकुमार यादव, #सिडिओ वीरेन्द्रकुमार यादव
तपाईको प्रतिक्रिया दिनुहोस