छतमा थुपारिएका पुराना अस्पताल उपकरण : ट्रमा सेन्टरको लापरवाही, हजारौं पैदल यात्रु जोखिममा


काठमाडौं । राजधानीको मुटुमा रहेको, अत्यन्तै व्यस्त सडकको छेउमा रहेको राष्ट्रिय ट्रमा सेन्टर – जहाँ दिनहुँ हजारौं नागरिक उपचारका लागि मात्रै होइन, पैदल आवागमनकै लागि समेत गुज्रिन्छन्। तर, यही ट्रमा सेन्टरको एक भवनको छतमा वर्षौंदेखि थुपारिएका छन् पुराना अस्पताल बेड, व्हीलचेयर, स्ट्रेचर र अन्य भारी उपकरणहरू।

सार्वजनिक स्वास्थ्य सेवाका लागि बनेको यो केन्द्र आफैं नागरिक सुरक्षाका लागि खतरा बन्ने अवस्थाबाट गुज्रिरहेको छ। छतमा जथाभावी थन्क्याइएका ती सामग्रीहरू कुनैपनि बेला खस्न सक्छन्। छत मुनिको बाटोबाट दैनिक हजारौं मानिस पैदल गुज्रँदा त्यो जोखिम अझ भयावह देखिन्छ।

स्वास्थ्य संस्थान कि स्क्र्याप गोदाम ?
दृश्य हेर्दा लाग्छ – यो अस्पताल नभएर कुनै लिलामीको स्टोर हो। अस्पतालको नाममा सेवा दिने भनिएको ठाउँमा यति धेरै खतरनाक वस्तुहरू यसरी थुपारिएको हुनु, ट्रमा सेन्टर प्रशासनको गम्भीर लापरवाही हो। स्वास्थ्य सुरक्षा दिने जिम्मेवारी बोकेको संस्थाले नागरिकको नै ज्यान जोखिममा पार्नु अत्यन्तै निन्दनीय छ।

स्रोतको दुरुपयोग र व्यवस्थापनको चरम असक्षमता
नयाँ उपकरण किनेर सेवा प्रवाहको ढोंग देखाउने प्रशासन पुराना सामग्री व्यवस्थापन गर्न असक्षम देखिन्छ। न मर्मतको पहल, न पुनः प्रयोगको सोच। यस्तो दुरुपयोगले करोडौंको सार्वजनिक सम्पत्ति थन्किएर कुहिने अवस्थामा पुगेको छ।

कुनै दिन दुर्घटना भएपछि मात्र चेत्ने हो ?
अस्पताल प्रशासन र मन्त्रालयले अहिले नै सचेतता नअपनाउने हो भने, कुनै दिन यो छतबाट उपकरण खस्दा ठूलो दुर्घटना हुनसक्छ – जसको जिम्मेवारी को लिने ? पैदल यात्रु, सवारी चालक वा अस्पतालमा आएका सेवाग्राहीमाथि त्यो खतराको जिम्मा कसले बोक्ने ?

ट्रमा सेन्टरमा लापरवाही गर्नेलाई प्रशासनिक जवाफदेही बनाइयोस्। राष्ट्रिय ट्रमा सेन्टर — जुन आपतकालीन सेवाका लागि स्थापित छ — आफैं नागरिकका लागि त्रासदीको कारण नबनोस्। सम्बन्धित सबै निकाय तत्काल चेत जाओस्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ