७ वर्ष थाहा नगरपालिकामा बसेर अथाहा गतिविधि गरेका हरिलाल पुरी, भारतीलाई समेत चक्मा


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई भ्रष्टाचार मुद्दा दायर गऱ्यो। अख्तियारले अक्सिजन जेनेरेटर प्लान्ट खरिदमा भ्रष्टाचार गरेको भन्दै पुरीसहित ६ जना र कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भ्रष्टाचार मुद्दा दायर भएसँगै सिराहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पुरी निलम्बनमा परेका छन्। उनले स्थानीय तहका बादशाह भनेर चिनिने वीरेन्द्रदेव भारतीलाई समेत चक्मा खुवाएको टिप्पणी हुन थालेको छ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आउनुभन्दा अगाडि २ वर्ष थाहाको कार्यकारी अधिकृत भएर काम गरेका थिए। स्थानीय तहमा जनप्रतिनिधि आएपछि पनि उनी फेरि थाहामै फर्किए। दोस्रो पटक थाहा पुगेका पुरी ५ बर्ष बिताएर बाहिरिएका हुन्। थाहा नगरपालिकामा पहिलोपटक निर्वाचित भएका जनप्रतिनिधिलाई बिदा गरेर पुरीले दोस्रो कार्याकाल पनि पुरै भ्याउने तयारीमा रहेका थिए। तर, पुरीको कर्तुत स्वास्थ्य लाइभले खुलासा गरेपछि संघीय मामिला तथा सामान्य प्रशासनले सरुवा गरियो। सरूवा गर्दा उल्टै पुरस्कृत गर्दै पुरीलाई निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठायो। उनी निजगढमा हाजिर हुन जाँदा प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की ‘लफडा’ समेत परेको थियो। निजगढबाट पुरी रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर गए। त्यसपछि जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर गए। संयोग पनि कस्तो भने विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका भारत पनि पछि उक्त जितपुर सिमरा कै प्रमुख प्रशासकीय अधिकृत भएर गएका थिए। तर, उनले हाजिर गर्न नपाएपछि बागमती प्रदेशको यातायात सचिव भएर गएका छन्।

चन्द्रपुरबाट जितपुर सिमरा उपमहानगरपालिका पुगेका पुरी पनि ५ महिनापछि फेरि चन्द्रपुर नै फर्किए। दोहोऱ्याएर थाहा नगरपालिकाका पुगेका उनी चन्द्रपुरमा पनि फर्किएर गएका थिए। पुरी सर्लाहीको बागमती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा हुँदा खरिद विज्ञ समेत हुन खोजे। तर, उनले सार्वजनिक खरिद कानुन नजान्दा अक्सिजन जेनेरेटर प्लान्ट खरिद भ्रष्टाचारमा डामिएका छन्।

त्यसो त पुरी डोल्पाको स्थानीय विकास अधिकारी हुँदाको किस्सा चर्चित छ। असार मसान्तभित्र हिसाब मिलान गर्नुपर्ने भएकाले पैसाको बिटको बोरामा हालेर राख्ने गरेको विषय अहिले पनि चर्चामा छ। उनले महालेखाको अडिटर आउँदा कागजात बाँधेको कपडाको ‘पोकोमा बाहिर नै सही गर्दिउँ’ भनेर भनेको किस्सा अहिले पनि सेलाएको छैन। सबै कुरा मिलाएर कागजात नै नहेरी ‘पोको बाहिर नै सही गर्दिउँ’ भन्ने अवस्थामा महालेखा कै प्रतिनिधिलाई पुऱ्याउने पुरी थाहामा भने भ्रष्टाचार मुद्दामा डामिएका छन्।

स्थानीय तहमा रमाइरहेका पुरी थाहामा हुँदा अक्सिजन जेनेरेटर प्लान्ट खरिद घोटालामा जाकिए। थाहामा अघिल्लो पटक २ वर्ष र पछिल्लो पटक ५ वर्ष गरी ७ वर्ष बसेर अथाहा गतिविधि गरेका पुरीको सबै गतिविधि केलाउने हो भने भ्रष्टाचार मुद्दा पनि अथाहा नै लाग्ने सम्भावना देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, #वीरेन्द्रदेव भारती सहसचिव, #हरिलाल पुरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ