अक्सिजन प्लान्टमा सेटिङ गर्ने पुरी ५ वर्षदेखि थाहाको प्रमुख प्रशासकीय अधिकृत रहेको खुलासा

काठमाडौं । अक्सिजन प्लान्ट खरिदमा सेटिङ मिलाएर १३ लाख बढीमा ठेक्का दिने हरिलाल पुरी ५ वर्षदेखि थाहाको प्रमुख प्रशासकीय अधिकृत रहेको खुलासा भएको छ।
सामान्यतः प्रमुख प्रशासकीय अधिकृतको दुई वर्षमा सरुवा हुने गरेको छ। अधिकांश स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको एक वर्षमै सरुवा हुने गरेको छ। तर मकवानपुरको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी पाँच वर्षदेखि उक्त नगरपालिकामा कार्यरत रहेको खुल्न आएको छ।
थाहा नगरपालिकाका प्रमुख(मेयर) विष्णुबहादुर विष्ट ‘आदर्श’ले प्रमुख प्रशासकीय अधिकृत पुरी विगत पाँच वर्षदेखि थाहा नगरपालिकामा कार्यरत रहेको स्पष्ट पारे । उनले स्वास्थ्य लाइभसँग कुरा गर्दै पुरीले थाहा नगरपालिकामा ५ वर्षदेखि राज गरिरहेको खुलाएका हुन्। थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले प्रमुख प्रशासकीय अधिकृत पुरी दुई पटक गरेर ७ वर्ष बढी थाहा नगरपालिकामा कार्यरत रहेको सुनाए ।
थाहा नगरपालिकाले आपूर्तिकर्तासँगको सेटिङमा १३ लाख बढी हालेर अक्सिजन प्लान्ट किनेको स्वास्थ्य लाइभले खुलासा गरेपछि प्रमुख प्रशासकीय अधिकृत पुरीको विषयमा खोजी सुरु भएको छ ।
भ्याटसहित ९७ लाख १८ हजार रुपैयाँ (सबभन्दा कम मूल्य) कबोल गर्ने मुनरक इन्टरनेसनलसँग अक्सिजन प्लान्ट खरिद नगरी सेटिङमा १ करोड १० लाख बढी कबोल्नेसँग सुभारम्भ सर्भिस ट्रेडर्स प्रालि ठेक्का सम्झौता गरेको स्वास्थ्य लाइभले फेला पारेको हो। उक्त ठेक्कामा सेटिङमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, बायोमेडिकल इन्जिनियर राजेश्वर कमाली र सुभारम्भका मालिक सोबिता प्रसाईको संलग्नता रहेको देखिन्छ।
स्वास्थ्य लाइभले अक्सिजन प्लान्ट खरिदमा मिलेमतो भएको खुलासा गरेपछि ‘व्याक डेट’को पत्र बनाएर मुनरकलाई इमेल पठाएपछि बदमासीको पर्दाफास भएको हो। अक्सिजन प्लान्ट खरिदको एउटा बदमासी ढाकछोप गर्न थाहा नगरपालिकाकाले अर्को बदमासी गरेको देखिन्छ।
थाहा नगरपालिकामापछि प्रमुख प्रशासकीय अधिकृत निरन्तर टिकिरहेको अर्को नगरपालिका सुनसरीको इनरुवा नगरपालिका हो। इनरुवा नगरपालिकाका तत्कालीन मेयर राजन मेहताको बदमासी र अनियमिततामा संलग्न नहुने कुनै प्रमुख प्रशासकीय अधिकृत टिक्न सकेनन्। तर शिक्षा सेवाका कर्मचारी डिल्लीराज निरौला नियमविपरीत इनरुवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टिकिरहेका छन्। मेयर मेहता र प्रमुख प्रशासकीय अधिकृत निरौलाको मिलेमतोमा इनरुवा नगरपालिकामा ठूल्ठूला घोटाला भएको आरोप लाग्दै आएको छ। तर नियमनकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान पुग्न सकेको देखिँदैन ।
क्याटेगोरी : समाचार
ट्याग : #इनरुवा नगरपालिका डिल्लीराज निरौला, #थाहा नगरपालिका - प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी- ओभर स्टे, #बदमासी- सेटिङ- ठेक्का- अक्सिजन प्लान्ट
तपाईको प्रतिक्रिया दिनुहोस