पहिलो पाठेघरको मुखको क्यान्सर उन्मूलन दिवस
एक लाखमा १४ जनामा पाठेघरको क्यान्सर, मृत्यु ८ जनाको
काठमाडौं। नेपालमा पाठेघरको मुखको क्यान्सरका नयाँ बिरामी पत्ता लाग्ने दर बृद्धि भइरहेको छ। पछिल्लो समय, परिक्षणलाई सरकारले तिब्रता दिएसँगै बिरामी फेला पर्ने दर पनि त्यही अनुपातमा बढेको हो। प्रति एक लाखमा १४ जनामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ भने, मृत्यु ८ जनाको हुने गरेको सरकारी तथ्यांकले देखाउँछ।
सरकारले आज पहिलो पाठेघरको मुखको क्यान्सर उन्मूलन दिवस २०२५ मनाउँदैछ। यस अवसरमा, क्यान्सरको रोकथामका लागि कयौं उपायहरूको पनि खोजी भइरहेको छ। पाठेघरको मुखको क्यान्सर प्रारम्भिक अवस्थामै पत्ता लगाएर प्रभावकारी रूपमा उपचार गरिएमा पूर्ण रूपमा रोकथाम र उपचार हुने रोग हो। यसका लागि विश्व स्वास्थ्य संगठनले विभिन्न रणनीतिहरू अगाडि सारेको छ। उक्त रणनीतिको सही र उचित रूपमा कार्यान्वयन भएमा पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्यु सन २०३० सम्म ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ।
पाठेघरको मुखको क्यान्सर विश्वभर महिलाहरूमा देखिने चौथो क्यान्सर हो। सन २०२२ मा मात्र यो रोगका कारण करिब ३ लाख ५० हजार महिलाले ज्यान गुमाए। नेपालमा पनि महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख क्यान्सर हो। २०२२ को एक अध्ययन प्रतिवेदनले नेपालमा वार्षिक १९ सय ६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको देखाएको छ भने १३ सय ३३ जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको छ।
पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्नका लागि सबै देशहरूले प्रति १ लाख महिलामा ४ भन्दा कम नयाँ केस कायम राख्नुपर्ने हुन्छ। क्यान्सर निवारणका लागि सन २०३० सम्ममा नेपाल सरकारले किशोरीहरूलाई ९० प्रतिशत पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने, ३० वर्ष माथिका महिलामा ९० प्रतिशत स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सरको निदान भएका ९० प्रतिशत महिलाहरूको उपचार गर्ने रणनीतिक लक्ष्य तय गरेको छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस