मेयरबाट राजिनामा दिएर देश दौडाहामा जुट्दै बालेन, AI विश्लेषणबाट निर्वाचन क्षेत्र छान्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अब राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा उभिएका छन्। केही दिनमै मेयर पदबाट राजीनामा दिएर उनले देशव्यापी राजनीतिक अभियानमा सक्रिय रूपमा जुट्ने तयारी सुरु गरेका छन्।
बालेन निकट स्रोतका अनुसार, स्थानीय तहको जिम्मेवारीमा रहँदा संघीय निर्वाचनको सक्रिय अभियानमा जान कानुनी र नैतिक चुनौती हुने भएकाले उनले पद त्याग्ने निर्णय गरेका हुन्। अब उनी ‘स्वतन्त्र’ पहिचानभन्दा माथि उठेर संगठित राजनीतिक शक्तिमार्फत मुलुकको कार्यकारी नेतृत्व सम्हाल्ने दिशामा केन्द्रित भएका छन्। यसका लागि प्रविधिको सुमुचित प्रयाेगगरी सूक्ष्म अध्ययन मार्फत तथ्यांक संकलनकाे काम देशभर भइरहेको छ ।
बालेनको लोकप्रियता भूगोल, जाति र भाषिक सीमाभन्दा माथि रहेको विश्लेषण गरिएको छ। हिमाल, पहाड, तराई र पूर्वदेखि पश्चिमसम्म बालबालिका, गृहणी, युवादेखि वृद्धसम्म उनका समर्थक छन्। नेपाली भाषा स्पष्ट बोल्न नसक्ने केही समुदाय र दुर्गम क्षेत्रका नागरिकहरूमा समेत उनको लोकप्रियता उल्लेखनीय देखिएको छ।
अबको संघीय निर्वाचनमा ‘प्रधानमन्त्रीको उम्मेदवार’ का रूपमा अघि बढ्ने तयारी गर्दै बालेनले निर्वाचन क्षेत्र छनोटलाई रणनीतिक प्राथमिकतामा राखेका छन्। कानुनी व्यवस्थाअनुसार एउटामात्र निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिनुपर्ने छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा, उनकाे पुर्ख्यौली घर रहेको महोत्तरी र काठमाडौँ मध्ये एक ठाउँमा उठ्न सल्लाहकारले सुझाव दिएका छन् ।
बालेन निकट स्रोतका अनुसार, उनी र उनको प्राविधिक टोलीले AI र सामाजिक सञ्जालको सूक्ष्म डेटा विश्लेषणमार्फत आफू कुन निर्वाचन क्षेत्रबाट सबैभन्दा सुरक्षित र प्रभावशाली हुन्छन् भन्नेबारे गहिरो अध्ययन गरिरहेका छन्।
चुनावी सन्देश जनतासम्म पुर्याउन बालेनले कला र प्रविधिको संयोजनलाई प्रयोग गर्दै आएका छन्। हालै सार्वजनिक गरिएको उनका र्याप गीत “आम नेपाली बुवा – झरी पछिको इन्द्रेणी” लाई राजनीतिक विश्लेषकहरूले भावी राजनीतिक रणनीतिको संकेतको रूपमा लिएका छन्।
यसपटकको अभियानमा बालेन परम्परागत भाषण र आमसभामा मात्र सीमित हुने छैनन्। सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र AI प्रविधिको प्रयोगमार्फत उनी प्रत्येक मतदातासम्म प्रत्यक्ष पुग्ने रणनीतिमा छन्। उनि नयाँ याेजना नबाड्ने महानगरमा गरेका काम सुनाउने र कुनै पनि राजनीतिक नेतालाइ गाली नगर्ने रणनीति लिएर देशभर सभामा हिड्नेछन् ।
देशको कार्यकारी नेतृत्व सम्हालेर मुलुकलाई नयाँ दिशामा लैजाने दृढ संकल्पका साथ बालेन शाह अब चुनावी मैदानको केन्द्रमा उभिएका छन्। उनको यो कदमले नेपालको संसदीय राजनीतिमा कस्तो मोड ल्याउँछ भन्ने विषय अहिले आम चासोको केन्द्र बनेको छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार


तपाईको प्रतिक्रिया दिनुहोस