पशुपतिको लिच्छविकालीन भण्डारखाल क्षेत्रमा डोजर चलाएपछि पुरातत्त्वको ‘एक्सन’
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर ८ ले लिच्छविकालीन भण्डारखाल क्षेत्रमा डोजर चलाएपछि पुरातत्त्व विभागले ‘एक्सन’ लिएको छ। ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्रमा प्राचिन स्मारक संरक्षण ऐन, २०१३ विपरीत डोजर लगाएपछि विभागले ‘एक्सन’ लिएको हो। पुरातत्त्व विभागले उक्त क्षेत्रमा काम रोक्न निर्देशन दिएको छ। पुरातात्त्विक सम्पदा र विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा डोजर चलाएपछि पुरातत्त्व विभागले गम्भीर ध्यानाकर्षण गराएको हो।
पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीसँगको मिलेमतोमा वडा कार्यालयले भण्डारखाल क्षेत्रमा डोजर लगाएको थियो। वडाले पार्क बनाउनका लागि बजेट छुट्याउने र डोजर लगाउने समयमा कोषको नेतृत्व जोशीले सम्हालेका थिए। सदस्यसचिव बन्ने दौडधुपमा रहेका जोशीले वडा कार्यालयलाई भण्डारखालको पार्किङ चलाउन स्वीकृति समेत दिएका थिए। उक्त वडाले नै ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र पार्क र बाटो बनाउनका लागि डोजर चलाएको हो। त्यो ठाउँमा वडाले सिमेन्टको इट्टा बिछ्याउन सामग्री समेत झारिसकेको छ।
पुरातात्त्विक अभियान्ताहरूले भण्डारखाल क्षेत्रमा डोजर चलाएपछि पुरातत्त्व विभागमा उजुरी गरेका थिए। पुरातत्त्व अधिकृत मञ्जरी प्रधानको टोलीले स्थलगत अनुगमन समेत गरेको थियो। अनुगमनपछि विभागले भण्डारखालमा ‘एक्सन’ लिएको हो।
गौशालाको पशुपतिस्थित भण्डारखाल लिच्छविकालीन अस्तित्त्वमा रहेको ऐतिहासिक र पुरातात्त्विक बगैँचा हो। दरबार क्षेत्रमा रहेको उक्त बगैँचामा गाडधन समेत रहेको स्थानका रूपमा लिइन्छ। बिक्रम सम्वत् १८२४ मा पृथ्वीनारायण शाहले उपत्यकामा आक्रमण गर्दा राजा जयप्रकाश मल्लले उक्त क्षेत्रको गाडधन प्रयोग गरेर दरबार जोगाउन खोजेको ऐतिहासिक दस्तावेजहरुमा उल्लेख छ। उक्त गाडधन रहेको क्षेत्रमा वडा कार्यालयले डोजर चलाएको हो।
वडाले डोजर चलाए पुरातात्त्विक महत्त्वका ईट्टाहरू समेत फुटाएको देखिन्छ। योजनाबद्ध तरिकारले भण्डारखाल क्षेत्रको फोहोरमा आगो लगाएर निभाउने बहानामा आगो लगाएर वारपार डोजर लगाइएको छ। उक्त ठाउँमा पार्क र बाटो बनाउनका लागि दुई करोड बढी बजेट छुट्याएर डोजर लगाएको खुल्न आएको छ। उक्त ठाउँमा डोजर लगाउँदा कोषको पनि मिलेमतो रहेको अनुमान लगाउन सकिन्छ। भण्डारखालमा डोजर लगाएर काम तमाम गरेपछि मात्र कोषले थाहा पाए जस्तो गरेको हो।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस