राष्ट्रिय क्षयरोग केन्द्रमा १७ गाडीको दुरुपयोग: लेखा अधिकृतलाई ल्याण्ड क्रुजर टोयटा, कार्यालय सहयोगी सबैलाई मोटरसाइकल
काठमाडौं । राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीमा सवारी साधनको चरम दुरुपयोग भएको तथ्य सार्वजनिक भएको छ। कानुनले स्पष्ट रूपमा नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणी र राजपत्राङ्कित प्रथम श्रेणीका पदाधिकारीलाई मात्र सवारी साधन, चालक र इन्धन सुविधा दिने व्यवस्था गरेको भए पनि, स्वास्थ्य क्षेत्रमै उक्त प्रावधानलाई बेवास्ता गरेको सवारीसाधनको चरम दुरूपयोग गरेको पाइएको हो।
सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका, २०७२ अनुसार विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले मात्र सवारी सुविधा पाउने व्यवस्था छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय क्षयरोग केन्द्रमा भने नियमविपरीत सवारीसाधनको प्रयोग भइरहेको छ।

स्वास्थ्य लाइभले प्राप्त गरेको विवरणअनुसार केन्द्रमा ६ वटा लक्जरी गाडी, १९ वटा मोटरसाइकल र ५ वटा स्कुटर रहेका छन्। तीमध्ये सबै गाडी प्रयोगमा छन् भने ९ वटा मोटरसाइकल र ३ वटा स्कुटर बिग्रिएको अवस्थामा छन्। तर, सवारी साधनको उपयोगमा देखिएको अवस्था झन् गम्भीर छ। राजपत्राङ्कित पदबाहेक अधिकृत तहसम्मले लक्जरी गाडी प्रयोग गरिरहेका छन् भने चालकदेखि मालीसम्मले सरकारी मोटरसाइकल र इन्धनको सुविधा लिइरहेको खुलेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट करिब १२ किलोमिटर टाढा ठिमीमा अवस्थित केन्द्रमा अनुगमन र नियन्त्रणको अभावले बेथिति झन् मौलाएको देखिन्छ।
अझ गम्भीर पक्ष के छ भने, केन्द्रका चेस्ट फिजिसियन डा. नविन प्रकाश शाहले छातीरोग अस्पतालको सेवा बन्द गराएर केन्द्रमै केन्द्रित भई सुजुकी क्रस डबल क्याप (२०७३ मोडल, बा ८६५९) जस्तो लक्जरी गाडी प्रयोग गर्दै आएका छन्। नियमअनुसार गाडी सुविधा पाउने भए पनि अस्पताल सेवा प्रभावित पारेर व्यक्तिगत सुविधा लिने कार्यप्रति सम्बन्धित अधिकारीहरूले आपत्ति जनाएका छन्।
कानुनअनुसार सहसचिव र सचिवस्तरबाहेक अन्य कर्मचारीले सवारी सुविधा लिन नमिल्ने व्यवस्था भए पनि केन्द्रमा रहेका ६ वटा गाडीमध्ये ४ वटा दुरुपयोगमा रहेको पाइएको छ। तथ्याङ्क उपसचिव कपिलप्रसाद तिमल्सेनाले बा ७०३८ नम्बरको २०७२ मोडलको महिन्द्रा स्कार्पियो प्रयोग गर्दै आएका छन्।

त्यस्तै उपसचिव गणेश तामाङले बा ८६५८ नम्बरको २०७३ मोडलको सुजुकी क्रस डबल क्याप गाडी प्रयोग गरिरहेका छन्। शाखा अधिकृत भक्तबहादुर खड्काले २०६५ मोडलको बा १ स २५२३ नम्बरको महिन्द्रा बोलेरो प्रयोग गर्दै आएका छन् भने लेखा अधिकृत सुस्मिता शर्माले २०६० मोडलको बा ८६५७ नम्बरको टोयोटा ल्याण्ड क्रुजर प्रयोग गर्दै आएकी छन्।
यसैगरी कार्यालय सहयोगी, प्लम्बर, मालीलगायत कर्मचारीहरूले समेत मोटरसाइकल र स्कुटर प्रयोग गरिरहेका छन्। कानुनले बन्देज गरे पनि कर्मचारीहरूले खुलेआम इन्धनसहित सवारी सुविधा लिएर र जाइँ गरिरहेका छन्।
यस्तो स्पष्ट अनियमितता हुँदासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रजस्ता निकायहरू निष्क्रिय जस्तै देखिएका छन्। यसले सार्वजनिक निकायमा सुशासनको अवस्था कमजोर बन्दै गएको संकेत गर्छ।
सरकारले इन्धन बचत र सार्वजनिक खर्च नियन्त्रणका लागि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरिसकेको छ। तर यस्ता निर्णयको मर्मविपरीत स्वास्थ्य क्षेत्रकै सरकारी निकायमा सवारी साधन र इन्धनको दुरुपयोग भइरहनु गम्भीर विषय हो।
शाखा अधिकृतदेखि मालीसम्मले निर्देशिका, २०७२ ले नदिएको सुविधा लिँदै शान देखाउने प्रवृत्ति मौलाउँदै जानु सुशासनमाथिको ठाडो चुनौती हो। कानुनविपरीत सुविधा लिने र राज्यको स्रोतको दुरुपयोग गर्नेहरूमाथि स्वास्थ्य तथा जनसंख्यामन्त्री र सम्बन्धित निकायहरूले तत्काल कडा कदम चाल्नुपर्ने देखिन्छ । प्रधानमन्त्री कार्यालयबाटै गैरकानुनी सुविधा लिनेमाथि एक्सन हुन जरूरी छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार, सुशासनट्याग : ##राष्ट्रिय क्षयरोग केन्द्र, #गाडी दुरुपयोग


तपाईको प्रतिक्रिया दिनुहोस